अन्तराष्ट्रिय मानवअधिकार दिवसः बनेपामा मानव अधिकार संगठनको अन्तरक्रिया

‘सबैका लागि न्याय, स्वतन्त्रता र समानता’ भन्ने नाराका साथ मङ्सिर २४ गते बनेपामा नेपाल मानव अधिकार संगठनको आयोजनामा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइएको छ । बनेपा नगरपालिकाको प्राङ्गणमा अन्तरक्रिया कार्यक्रम आयोजना गरि मानव अधिकार दिवस मनाइएको हो ।

नेपाल रेडक्रस सोसाइटी काभ्रेका सभापति रघुनाथ हुमागाईको अध्यक्षतामा सम्मपन्न अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले मानवीय मूल्यमाथि आक्रमण हुँदा सबै जना जोखिममा पर्ने भएकाले आफ्नो र अरुको लागि पनि आवाज उठाउन आग्रह गरेका छन ।

नगर प्रमुख शाक्यले काभ्रेमा मानव अधिकारमा काम गर्न कठिनाइ भएको जानकारी दिदै मानव अधिकारमा बुलन्द आवाज घरघरमा पुर्याउन लागिपर्ने मानव अधिकारकर्मीहरुको साथमा पालिका सधैं रहने प्रतिबद्धता पनि जनाएका छन ।

नेपाल मानव अधिकार संगठनका सभापति राजु सिग्देलले मानव अधिकारको संरक्षण, सम्वर्धन र विकास गर्न, लोकतन्त्र र सामाजिक न्यायलाई संस्थागत गर्दे विधिको शासन स्थापीत गर्न तथा राज्यलाई नागरिक प्रति जवाफदेही र उत्तरदायी बनाउनु यस अन्तरक्रिया कार्यक्रमको उद्देश्य रहेको बताउनुभयो ।

सन् १९४८ डिसेम्बर महिनाको १० तारिखका दिन विश्वव्यापी मानव अधिकारको घोषणा भएको संस्मरण गर्दै प्रत्येक वर्ष यो दिवस मनाइने गरिन्छ । मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिन सन् १९४८ डिसेम्बर १० लाई आधार मानेर दिवस मनाउने गरिन्छ ।