बालसंगठनका दुई विद्यार्थीलाई हरेक वर्ष काठमाडौं विश्वविद्यालयले छात्रवृत्ति दिने

धुलिखेल । काठमाडौं विश्वविद्यालय र नेपाल बाल सङ्गठनबीच बाल सङ्गठनमा आश्रित बालबालिकालाई छात्रवृत्ति दिने सहमती भएको छ । नेपाल बाल सङ्गठनद्धारा सञ्चालित बाल गृहहरुमा संरक्षित कक्षा १२ उत्तिर्ण गरेका बालबालिका मध्ये कम्तिमा दुई जनालाई हरेक वर्ष काठमाडौं विश्वविद्यालयका शैक्षिक कार्यक्रममा अध्ययनको लागि पूर्ण छात्रवृत्ति दिने भएको हो ।

काठमाडौं विश्वविद्यालयको केन्द्रिय परिसर धुलिखेलमा विश्वविद्यालयका तर्फबाट स्कुल अफ इन्जिनियरिङका डीन मनिष पोखरेल तथा नेपाल बाल सङ्गठनका तर्फबाट अध्यक्ष विद्या उपाध्याय न्यौपानेले सम्झौतामा हस्ताक्षर गरेका थिए । बाल सङ्गठनको उत्थान र प्रगतिका लागि विश्वविद्यालयले सहकार्यको वातावरण निर्माण गर्नेछ । यसका लागि विश्वविद्यालयले बाल सङ्गठनको पाँचखाल, काभ्रेमा रहेको जमीन भाडामा लिएर त्यहाँ इन्जिनियरिङ अध्ययन तथा अध्यापनका सम्भावना खोज्ने, पुरानो भवनको जिर्णोद्धार गर्ने तथा नयाँ संरचना निमाण गर्ने सहमति भएको छ । सोहि कार्यक्रममा बोल्दै काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाले छात्रवृत्ति मार्फत बालबालिकाको भविष्यसँग जोडिन पाउँदा विश्वविद्यालयलाई गर्व लागेको बताए । बाल सङ्गठनका अध्यक्ष विद्या उपाध्याय न्यौपानेले काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा सङ्गठनमा आश्रित बालबालिकालाई उज्यालो भविष्य दिलाउन पाएकोमा खुशी व्यक्त गरिन् । दश वर्षमा नवीकरण हुने गरी दुई पक्षवीच सम्झौता भएको हो । नेपालका ७७ वटै जिल्लामा शाखा भएको बाल सङ्गठनमा हाल ३ सय ६० भन्दा बढी बालबालिका संरक्षित छन् ।