नेपाल पत्रकार महासंघ काभ्रे शाखामा ५७ दिनदेखी तालाबन्दी

 

बनेपा । नागरिकहरुका हक अधिकार तथा आवाज विहिनहरुको आवाज बुलन्द गर्नु पर्ने पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ काभ्रे शाखा आफै तालावन्दीमा परेको ५७ दिन भएको छ ।
नेपाल पत्रकार महासंघ काभ्रे शाखाको मुल गेटमा लगाएको ताला झण्डै दुई महिना पुग्न लाग्दा समेत खुल्न सकेको छैन । प्रेस चौतारी नेपाल काभ्रेले पत्रकार महासंघले सदस्यता नविकरणमा पक्षपात पुर्ण निर्णय गरेको भन्दै असोज २९ गते बनेपा बुडोलस्थित महासंघको कार्यालमा ताला लगाएको थियो । तालाबन्दी भएको दुई महिना हुन लाग्दा समेत महासंघ र चौतारीबीच एकपटक पनि छलफल भएको छैन ।

सदस्यता नविकरणमा भएको विभेदकारी निर्णय सच्याउन महासंघलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाई नभएपछि तालाबन्दी गर्न बाध्य भएको प्रेस चौतारी काभ्रेका अध्यक्ष भुवन रायमाझीले बताए । दाबी विरोधमा पनि आफुहरुको कुरा सुनुवाई नभएपछि आफुहरुको मागलाई सम्बोधन गर्न माग गर्दै नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिप्रसाद तिमल्सिनालाई २४ घण्टाको अल्टिमेटम सहितको ज्ञापनपत्र वुझाइएको उनले बताए ।

कृयाशिल पत्रकारहरुको सदस्यता हटाउने, चौतारीनिकट पत्रकारहरुको सदस्यता नविकरण नगर्ने जस्ता पक्षपातपुर्ण निर्णय नसच्चिएपछि चरणवद्ध आन्दोलनका कार्यक्रम अन्तर्गत कार्यालयमा तालाबन्दी गरिएको अध्यक्ष रायमाझीले बताएका छन । केन्द्र र प्रदेश समितिले तोकेको समयावधी भित्र वितरण नगरिएको नयाँ सदस्यता पुनः तत्काल वितरण गर्न, नविकरणमा गरिएको भेदभाव, असहिष्णु र विभेदकारी निर्णय तत्काल खारेज गर्न, कृयाशिल सदस्यहरु सबैको सदस्यता नविकरण गर्न तथा गैह्रकृयाशिल र मापदण्ड विपरितका सदस्यहरुको नविकरण रोक्न प्रेस चौतारीको माग छ । यस्तै एक व्यक्ति विशेषका हकमा मात्रै गरिएको स्थानान्तरण रोक्न, स्थानान्तरण गर्न चाहनेहरुको हकमा खुल्ला रुपमा आह्वान गर्न पनि चौतारिले माग गरेको छ ।
महासंघले साझा चरित्र र उदेश्य देखाउन नसकेको समेत चौतारीको आरोप छ । महासंघले दल र व्यक्ति विशेषका आधारमा गरेको विभेदकारी गतिविधी तत्काल बन्द गर्न पनि चौतारीले माग गरेको छ । माग सम्बोधन नभएसम्म तालाबन्दी जारी रहने प्रेस चौतारी काभ्रेका अध्यक्ष भुवन रायमाझीले जानकारी दिएका छन ।