खानिखोलामा नक्कली नोटको बिगबिगी

जात्रामा भेटियो २५ हजार भन्दा धेरै नोट
खानिखोला । जिल्लाको विकट पालिका खानिखोला वडा नम्वर ७ स्थित महांकालमा बालाचर्तुदशीका दिन लाग्ने पशुपति जात्रामा नक्कली नोटको विगविगी गरिएको छ । स्थानीय प्रहरीलाई त्यसका बारेमा जानकारी गराउँदा चासो नदिएको स्थानीयले बताए ।
खानिखोला ७ का वडा अध्यक्ष रामबहादुर मोक्तानले जात्राको अवसरमा लाग्ने बजारमा स्थानीय तथा अन्य ब्यवसायीहरुलाई ठग्ने उदेश्यले केहि ब्यक्तिहरुले नक्कली नोटको कारोवार गराएको बताए । ‘पशुपति जात्रामा हुने भिडभाडको मौका छोपेर केहि ब्यक्तिहरुले नक्कली नोटको कारोवार गरेको भेटियो’–अध्यक्ष मोक्तानले भने–‘हामीले सम्वन्धित निकायलाई तत्काल अनुसन्धान गरी कारवाहीका लागि अनुरोध गरेका छौं ।’ महांकालमा पशुपति जात्रा लाग्दै आएको छ । उक्त जात्रामा सहभागिहरु ब्यवसायमा संलग्न मध्ये अधिकांश ब्यवसायीहरुलाई नक्कली नोट भिडाईएको छ । जात्रामा मात्रै २५ हजार भन्दा धेरै रकम कारोवार भएको हुन सक्ने स्थानीयले बताएका छन् ।
राति नै नक्कली नोट ल्याउने ब्यक्ति स्थानीय सन्तलाल सिंतान सहितको समुहलाई युवाहरुले नियन्त्रणमा लिएका थिए । तर उनिहरु केहि क्षणमा नै फरार भएका थिए । खानिखोलाका विभिन्न वडाका युवाहरुको एउटा समुहले उक्त नोट ल्याएर विक्री गरेको स्थानीयहरुले जानकारी दिएका छन् । सोहि वडामा केहि समय देखि चोरीका मोटरसाईकल अत्याधिक रुपमा प्रयोग हुन थालेका छन् ।