मधेश प्रदेश सरकारका माग पुरा गर्न मुख्यमन्त्रीले खोजे ओलीको साथ
मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेश सरकारका माग पुरा गर्न ओलीको साथ खोजेका छन् । मुख्यमन्त्री यादवसहित सबै दलका संसदीय दलका नेताको उपस्थितिमा काभ्रेको धुलिखेलमा एमालेका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रदेश सरकारले पारित गरेको संकल्प प्रस्ताव हस्तान्तरण गरिएको हो ।
मुख्यमन्त्री यादवले संविधानले दिएको अधिकार कार्यान्वयनमा केन्द्र सरकारले चासो नदिएको गुनासो गरेका छन । उनले संघीय लोकतान्त्रिक व्यवस्थालाई मजबुत बनाउन सहयोग गर्न समेत आग्रह गरेका छन् । मुख्यमन्त्री यादवले एक महिना अगाडी मधेश प्रदेशका सबै दलका नेताहरुले प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र वुझाएका थिए । यद्यपी संघीयता आएको ८ वर्ष र प्रदेश सरकार गठन भएको ६ वर्ष भइसक्दा पनि संविधानले दिएको अधिकार समेत कार्यान्वयन हुन नसकेको यादवको गुनासो छ ।जसका कारण काम गर्न अप्ठेरो भएको उनले बताए । यसअघि प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउँदा एमालेबाट निर्वाचित सांसद प्राविधिक कारण उपस्थित हुन नसकेको बताउँदै यादवले प्रधानमन्त्रीले नेकपा एमालेको धारणा के छ भनेर पटक–पटक सोधेको बताए ।
नेकपा एमाले सहित सबे दलको समर्थनमा संकल्प प्रस्ताव पारित गरेर उक्त प्रस्ताव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत सबै दलका प्रमुखलाई संकल्प प्रस्ताव हस्तान्तरण गरेको उनले बताएा छन ।
मधेश प्रदेश सरकारले प्रहरी समायोजन र सिडिओ प्रदेश मातहत हुनुपर्ने, प्रदेशलाई मुद्दा अभियोजनसम्बन्धी अधिकार दिनुपर्ने, प्रदेशबाटै सचिव र प्रशासकीय अधिकृतको खटनपटन हुनुपर्ने, सरकारी तथा सार्वजनिक जग्गाको उपभोग र प्रयोगमा प्रदेश सरकारको अधिकार हुनुपर्ने, गुठी जग्गा व्यवस्थापन प्रदेश सरकारबाटै र अन्तर सरकारी बित्त व्यवस्थापनमा संशोधन लगायतका माग राख्दै प्रधानमन्त्री दाहाललाई ३० दिनको समय दिएको थियो । तर, प्रधानमन्त्री दाहालले थप समय मागेपछि मधेश प्रदेश सरकार अलमलमा परेको छ ।
आन्दोलन थाल्ने कि प्रधानमन्त्रीलाई समय थप्ने विषयमा निर्क्यौल नहुँदा मधेश प्रदेशका मुख्यमन्त्री यादवसहित सबै दलका संसदीय दलका नेता काठमाडौंमै रोकिएका छन् ।