असफल प्रधानमन्त्रीका सफल कार्यकर्ता

✍ उषाकिरण
नेपाली राजनीतिको सत्तासमीकरणको लाजलाग्दो जोड घटाउ हेर्दै आएका नागरिकहरू फिल्म झै मान्छ्न । सत्ता प्राप्तिका खातिर अकल्पनीय गठबन्धन गर्न समेत नेपालका प्रभावशाली नेताहरू तछाड मछाड गरिरहेकै छन् । जसरी नि चुनाव जित्नुपर्ने र सरकारको भाग खोजी हाल्ने सानादेखी ठूला दलहरूको कसरत पनि फिल्मी शैलीभन्दा भिन्न हुन सकेको छैन ।
ज्यान फालेर आफ्ना पार्टीका लागि काँध थापेका मुठ्ठीभरका कार्यकर्ताको स्वार्थजडित हर्कतको त बयान गरि साध्य छैन। मौसम अनुसार अवसर आएपछि बेहुली भित्रिए झैँ बाजागाजा सहित पार्टी प्रवेश कार्यक्रममा दमदार भाषणले मन्त्रमुग्ध बनाउने चरित्रका पात्रहरू त कति हो कति! विभिन्न मुद्दा खेपेर बच्नकै लागी पार्टीको छहारी चाहारिरहेकै छन् ।खैर दुःख सुख यताउती औपचारिक सिन्का भाँचेर भए नि देश त चलाएकै छन् ।
प्रधानमन्त्रीको कुर्सीको दौडधुपको आन्तरिक रहस्य हामी भूईमान्छेलाई थाहा नभए नि सामान्य अड्कल गरेका हुन्छन् नागरिकहरूले । देशकै प्रमुख कार्यकारी पद भएकाले सबैको आँखा जानू नौलो भएन । २०६३ यता बनेका सरकारको प्रमुख नेतृत्व अग्रपंक्तिमा आन्दोलन छेडेकाहरू नै छन् । उनीहरू दोश्रो उत्तराधिकारीहरूलाई सहजै सत्ता हस्तान्तरण गर्ने अवस्थामा छैनन् । थामथुम पार्दै पदीयवण्डाको रणनीतिक अस्त्र चलाएरै भएपनी आफ्नो बलियो हैसियत कायम राखेकै छन् ।
तीन व्यक्तिको पोल्टामा घुमेको वर्तमान राजनीतिको मियो सही ट्र्याकमा आउन सकेको छैन भन्नेहरू थुप्रै छन् ।कहिले केन्द्रको त कहिले प्रदेशको संवैधानिक संकट र मध्यावधि चुनाव टारिरहेकै छन् । पक्का तर केही कच्चा खेलाडी देखिएका नेतृत्वमाथि सयौं प्रश्नहरू अनुत्तरित छन् । एक समयमा पार्टी एकता गरेर बलियो सरकार बनाएका पुष्पकमल दाहाल र केपी शर्मा ओलीको आन्तरिक पार्टी विवादले छिन्न भिन्न भएको कम्युनिष्ट पार्टीको फाइदा उठाएका कांग्रेस ठूला २ कम्युनिष्टलाई विपरीत ध्रुब बनाउँदै सत्ताको बाटो पछ्याइरहेको छ। पछिल्ला समयमा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनको परिणाममा एकाएक स्थापित भएको ६ महिनामै चम्केको राष्ट्रिय स्वतन्त्र पार्टीको गरिमामय उपस्थितिले झस्केका ३ खेलाडीहरूले प्रयोग गरेरै छाडे । मिडिया लाइनबाट स्टन्टबाजीको उपाधी पाएका रबी लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्रीको बागडोर सम्हालेको महिना बितेपछी बहिर्गमणको बाटो रोज्न पर्यो। राश्वपाको विजययात्राबाट आत्तिए जस्ता देखिएका शीर्ष नेताहरूले कहिले कता कहिले कता फ्याक्दा फ्याक्दै फितलो बनाईसकेको छ।अन्य पार्टी जस्तै आलोचनामा उत्रेर संसदीय अभ्यास गरिसकेको छ। अन्य भन्दा आफूलाई फरक देखाउने प्रयासरतमा चाहिँ छन् । तर दुधले नुहाएका भने छैनन् ।
संविधान सभाको पहिलो निर्वाचनमा लोकप्रिय मत हासिल गरेका प्रचण्ड अहिले तेस्रो भएका छन् । गठबन्धन विना चुनाव लड्न नसक्ने अवस्थामा देखिएको छ। एक्लै निर्वाचनमा होमिएर लोकपृय मत हासिल गरेको एमाले सरकार बाहिर छन् ।काग्रेस माओवादीलाई काखी च्यापेर एमालेको सत्ता आगमनको बाटो अबरोध गर्दै सरकार सम्हालिरहेको छ। उता माओवादी कांग्रेसको बैशाखी टेकेर गठबन्धन सरकारलाई हुइक्याइरहेको छ।सत्ता गठबन्धनका नेताहरू आफू प्रधानमन्त्री बन्ने पालो कुरेर बसेका छन् । राजनैतिक नेतृत्वले गाउँसमको विकृती पखाल्न सकेको छैन। संघीयताको कार्यान्वयनका खातिर प्रदेश र स्थानीय तहका लागि आवश्यक पर्ने ऐन बनाउन सकेको छैन । जनताको समस्यालाई नजिकबाट नियाल्ने उनीहरूलाई फुर्सद छैन। प्रधानमन्त्रीको लिस्टमा नाम थप्न लागिपरेकै छन् ।
आफ्नो पार्टीको नेतृत्वकालमा अवसरलाई नजिकबाट नियालेका पहुँचवाला कार्यकर्ता भने वैध,अवैध काम गर्दै पुस्तौ पुस्तालाई पुग्ने धन सम्पती जोडेका छन् । सुन तस्करदेखी मानव तस्करसम्म,एन सेल शेयर विक्रीदेखी वालुटार जग्गाकाण्ड जस्ता अनेकौ कण्डमा मुछिएको सुनिएको छ। आफ्ना कार्यकर्ता विवादमा तानिदासमेत छुताउन लागिपरेकै छन् । भ्रष्टाचार काण्ड त कति कति। दुधले नुहाएका प्रधानमन्त्री कोही छैनन् भन्ने पुष्टि हुन्छ।
बलियो कार्यकर्ताको कमजोर प्रधानमन्त्रीमात्र होइन,आफ्नै परिवारको सदस्य विवादमा तानिदा सम्म चुइक सम्म बोलेका छैनन् । यति नीरिह र कमजोर नेतृत्व नेपालले पाएको छ।कार्यकर्ताहरू आरोपको पुष्टिका आधार खोज्नुको साटो भिड्नलाई चुनौती दिई रहेका छन् । आलोचना सहन सक्ने सद्बुद्धी पलाएको छैन।गलत कुराको भण्डाफोर गर्न असक्षम भएको छ।अवसरको पछि कुदेकै छन् । नेतृत्वको गलत कुकृत्य बाहिरिनबाट रोक्न अनेक उपाय लगाइरहेकै छन् । एक कप चियामा जनवादी विवाह गरेका सन्तानहरूको लावालस्करसहित जन्ती र पार्टी प्यालेसमा सर्वहारा वर्गको सुनले सज्जित बेहुली भित्रिएकै छन् ।कम्युनिष्ट चरित्र लजाएर हसिया हथौडाको ब्यानरमा समाजवादको नारा परिवारवादले संक्रमण गरिरहेको छ।
महत्वपूर्ण सरकारी नेतृत्व सम्हालेका व्यक्तिहरू र उनका सन्ततिहरूलाई उम्क्याउने र झन बलियो बनाउने कामलाई हतोत्साहितको साटो प्रोत्साहित गराएका छन् । चुनावमा सघाएकाहरूको रक्षाको लागि कानुन मिचेर काम गरेकै छन् । सुशासनको नारा दिएर भ्रष्टाचार गरेकै छन् । संसदमा दर्ता गर्न लागेको विद्यालय शिक्षा विधेयक केरमेट गर्नेलाई कारबाही छैन,सिसीटीभी फुटेजहरू डिलेट गराएकै छन् । विभिन्न दिवसमा अपराधी छुटाउने र अदालतले उल्टाउदा समेत नैतिक जिम्मेवारी लिने प्रधानमन्त्री हामीले कहिल्यै पाएनौ। एकल बहुमतको प्रधानमन्त्री बनाउन सकेनौं । रसिला नारालाई मात्र भोट बैंक कलेक्सनको आधार मान्यौँ। ईमन्दार कार्यकर्ताको भलो कहिले भएन। गणतन्त्रको ब्यानर भित्र जनविरोधी निर्णयहरूले स्थान पाए। अपराध बढ्दै गयो। सस्तो लोकप्रियताको लागि प्रचारबाजी र सामाजिक सञ्जालको दुरुपयोग गर्न थालियो। कुनै राजनीतिक पार्टी यसबाट अछुतो रहेन।
सत्ताले मात्तिएका स्थानीय नेताहरू समेत राम्रालाई होइन हाम्रालाई प्राथमिकता दिदै आएका छन् । बिकाउमा छन् । थोरै समयमा परिणाम निस्कने निर्णय गराउन सकेका छैनन् । आफ्नालाई भेला पारी राज्य सम्पती दोहन गरिरहेका छन् । मिलेर पचाइरहेकै छन् । सामन्य कामदार तथा कर्मचारीलाई नियम पल्टाएर सेकेन्ड सेकेन्डको अनुशासनको हिसाब गरेकै छन् । सानालाई ऐन ठुलालाई चैन भएकै छ। उपभोक्ता समिती बनाएर हिसाब फर्सयौट गराएकै छन् । खानेपानी,विद्यालय,विश्वविद्यालय जस्ता अनेक सार्वजनिक संस्थानहरूमा कार्यकर्ताको भर्ती गराएकै छन् । पहुँचवाला कार्यकर्ता मोटाएकै छन् । जनता शाहु सामन्तबाट ऋणले पीडित बनेकै छन् । पहुँचवाला कार्यकर्ता मोटाएकै छन् । गाउँमा जस्ताको छाना लगाए पेनाल्टी लगाउने थ र सामन्तको आरोप खेप्नु पर्ने युद्धकालिन अवस्थाबाट गुजृएको पुस्ता आज नि ज्युदै छन् । विल्डिङ ठड्याएर महँगो पोशाकमा सजिएर हिड्ने उनै कार्यकर्ता छन् ।हात्तीछाप चप्प्ल पड्काएर गाउँले जनजीवनको हितैषी मित्रहरू आज पजेरोमा कुदेका छन् । बहुविवाह गरे खाल्डो खनेर पुरिनु पर्ने आज आफै वहुविबाहको पञ्जाबाट उम्कन सकेको छैन । राज्यको ढुकुटीबाट मोज मस्ती गरेकै छन् । यसरी सरसर्ती हेर्दा धरमरिएको प्रधानमन्त्री भए पनि बैशाखी होस चाहे गठबन्धनको भए पनि फरक फरक आस्था र विचारको मिश्रित सरकारको नेतृत्वको हैसियतले असर नपर्ने भाषण वाचन गर्दै हिड्नु बाध्यता बनेको छ। स्मरणीय प्रधानमन्त्री नेपालले कहिले पाउलान त्यो भविष्यले बताउला । तै पनि मुठ्ठीभरका व्यक्तिले मोज गरेकै छन् ।