शिर मेमोरियल अस्पताल बनेपाको क्यान्सर सेन्टरमा सहयोगीहरु थपिदै
बनेपा/शिर मेमोरियल अस्पताल बनेपामा शुरु भएको क्यान्सर सेन्टरका लागि सहयोग आउने क्रम शुरु भएको छ । धुलिखेल निवासी भरत खोजु श्रेष्ठले ओपिडीका लागि आवश्यक फर्निचर उपलब्ध गराएका छन् । ओपिडीका लागि प्राप्त फर्निचरका सामानको मुल्य ५० हजार भन्दा धेरै छ ।
त्यस्तै भक्तपुर २ निवासी आरिभ खर्वुजाको तर्फबाट ५० हजार रुपैया बराबरका ब्लाङ्गकेट लगायतका सामाग्रीहरु प्राप्त भएका छन् । त्यस्तै काभ्रेपलाञ्चोक जिल्ला तेमाल गाउँपालिका ८ निवासी गंगालक्ष्मी कँडेलको तर्फबाट नगद सहित अन्य सामानहरु गरी ५० हजार बराबरको सहयोग प्राप्त भएको छ । अस्पताल क्यान्सर केयरका नर्सिङ्ग इन्चार्ज गंगा दाहालले सहयोगीहरुलाई धन्यवाद दिदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरिन् ।
नेपाल अबुद्र्ध रोग निवारण संस्था काभ्रेका अध्यक्ष नेपाल सुधार भैलले शिर मेमोरियल अस्पताल र अबुद्र्ध रोग निवारण संस्थाले क्यान्सर रोगका विरामीहरुका लागि सहज र सरल ढंगबाट उपचार सेवा प्रदान गर्न पहल भएको बतए । साथै अध्यक्ष भैलले क्यान्सर रोगिहरुको उपचारका लागि क्यान्सर केयर वार्डमा भएका बेडहरुमा आवश्यक पर्ने अक्सिजन पाईपका लागि सहयोग गर्ने बताए ।
शिर मेमोरियल अस्पतालका मेडिकल डाईरेक्टर डा.एन्जिला बस्नेतले अस्पतालले लिएको उदेश्य प्राप्तिका लागि विभिन्न क्षेत्रको साथ र सहयोगले विरामीहरुको उपचारमा हौसला मिलेको बताईन् । क्यान्सर केयरका विभागिय प्रमुख डा. पुण्य खर्बुजा र कोअर्डिनेटर डा. ध्रुव कडेलले अस्पतालको क्यान्सर केयर विभागलाई सहयोग गर्ने विभिन्न ब्यक्ति तथा संस्थालाई धन्यवाद दिदै क्यान्सर रोगका विरामीहरुको गुणस्तरीय उपचार सेवामा ध्यान दिने बताए । यस्ता सहयोग र हौसलाले क्यान्सर रोगका विरामीहरुको उपचारमा थप सहजता प्रदान हुने उनिहरुले बताए । शिर मेमोरियल अस्पताल बनेपामा शुरु भएको क्यान्सर रोगका उपचारबाट क्यान्सर रोगिहरु लाभान्वित हुन थालेका छन् ।