धुलिखेलमा प्याराग्लाईडिङ्गको थपियो मज्जा

विकास तिमल्सिना
धुलिखेल
धुलिखेल नगरपालिका देविस्थान डाँडाबाट ब्यवसायीक रुपमा प्याराग्लाईडिङ्ग शुरु गरिएको छ । पूर्व मन्त्री एवं प्रतिनिधि सभा क्षेत्र नम्बर २ का सांसद गोकुल बास्कोटाले २०८० असार महिनामा ब्यवसायीक रुपमा शुरु गरेको प्याराग्लाईडिङ्गले तीन साता देखि ब्यवसायीक उडान गरिरहेको छ । काभ्रेपलाञ्चोक जिल्लामा ब्यवसायीक रुपमा प्याराग्लाईडिङ्ग दुई स्थानबाट हुन थालेको छ । पनौती नगरपालिकाको कुशादेवीमा पनि ब्यवसायीक उडान शुरु गरिएको छ ।

‘धुलिखेल नगरपालिका वडा नम्बर ९ स्थित देविस्थानबाट धुलिखेल ८ बडाल गाउँसम्म पुग्ने गरी १ हजार ७ सय मिटर उचाईमा उडानका लागि अनुमति प्राप्त गरेका छौँ’– विश्वबजार प्याराग्लाईडिङ्ग प्रालीका अध्यक्ष किरण कार्कीले भने –‘ब्यवसायीक उडानका लागि प्राप्त अनुमतिका आधारमा आवश्यक मापदण्ड पूरा गरेर ब्यवसायीक उडान शुरु गरेका हौँ ।’ साहसिक पर्यटकीय मनोरञ्जन प्राप्त हुने प्याराग्लाईडिङ्गको ब्यवसायीक उडाले उपत्यकासँग जोडिएको काभ्रेपलाञ्चोकको विकास र समृद्धिमा थप योगदान पुग्ने धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले बताए ।

देविस्थानबाट गरिएको प्याराग्लाईडिङ्गको उडानबाट नेपालका ३३ वटा हिमालहरु प्रत्यक्ष देख्न सकिन्छ । ‘सगरमाथा देखि कन्चनजंगा, माछापुछ्रे हिमाल सहजै देख्न सकिन्छ’–पाईलट महेन्द्रबहादुर भट्टराईले भने–‘टेक अफ, फ्लाईङ र ल्याण्डिङ्ग सहित सुरक्षित उडानका लागि धुलिखेल सहज र सरल छ ।’ करिव आधा घण्टामा विभिन्न दृश्य सहित काभ्रेपलाञ्चोक जिल्लाका धार्मिक स्थल नमोबुद्ध देखि पलाञ्चोकसम्म, पाँचखाल, नमोबुद्ध, धुलिखेल, बनेपा लगायतका क्षेत्रको सहज अवलोकन गर्न सकिनेछ ।’ प्याराग्लाईडिङ्गका लागि दैनिक ५ जना पाईलटहरुले उडान भर्ने गरेका छन् । रामकृष्ण अधिकारी, विकास अधिकारी, सुमन थापा, विष्णु तिमल्सिनाले पोखरामा नियमित ब्यवसायीक उडान गरिरहेका थिए । अहिले भट्टराई सहित पाँच जना पाईलटहरुले नियमित उडान गरिरहेका छन् ।

संचालकहरु किरण कार्की, दावा लामा, गुरुप्रसाद दिपक चौलागाई, उद्धव कार्की, निलकमल ब्याञ्जु लगायतले १ करोड भन्दा धेरै लगानी गरी पोखरामा सञ्चालन भएका प्याराग्लाईडिङ्ग कम्पनीहरुको सहकार्यमा धुलिखेलमा ब्यवसायीक उडान सुरु गरेका हुन् । दावा लामाका अनुसार एकै पटकमा ६ वटा उडान भर्न सकिने छ । उडान भर्ने यात्रुले ३० मिनेट अवधिको ७ हजार रुपैयाँ तिर्नु पर्नेछ । ७ हजार रुपैयामा ३७ लाख रुपैयाको दुर्घटना विमा हुनेछ । धुलिखेल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आर्कषक बन्दै गएको छ । धुलिखेलमा निर्माण भएका देविस्थान पार्क, बलभद्र कुँवर स्मारक, हजार सिँढी तथा अन्य पार्कहरुले धुलिखेलमा घुम्न आउने र बनभोजका लागि आउने आन्तरिक पर्यटकहरुको घुँईचो लाग्न थालेको छ ।
धुलिखेलमा आउने पर्यटकहरुको बसाई लम्ब्याउन प्याराग्लाईडिङ्ग महत्त्वपूर्ण इभेन्ट भएको क्षेत्रीय होटल संघकी महासचिव ज्योत्सना सैंजुले बताईन् ‘पर्यटकहरुलाई फरक खालको मनोरञ्जन दिन र पर्यटन व्यवसायलाई प्रवर्द्धन गर्न प्याराग्लाईडिङ्गको ब्यवसायीक उडानले सहयोग पुग्नेछ’–क्षेत्रीय होटल संघकी महासचिव ज्योत्सना सैंजुले भनिन् ।
