‘थुनुवा–कैदी’लाई कारागारमा रोजगार

मोतीराम तिमल्सिना
धुलिखेल
जिल्ला कारागार कार्यालय काभ्रेपलाञ्चोक भित्र डेड सय भन्दा धेरै कैदी बन्दी रोजगारमा संलग्न छन् । जिल्ला कारागार कार्यालय काभ्रेपलाञ्चोकले गलैचा, मुढा, पर्स, पोते बुन्ने र थान्का लेखनको कार्यमा कैदीबन्दी संलग्न छन् । आफ्ना लागि कपडा सिलाउने, कपाल तथा दारी काट्ने लगायतका काममा थुनुवा कैदीहरु रोजगारमा छन् ।
‘जेल भित्र बसिरहँदा ब्यक्तिको दिमागमा गलत सोच नआओस भन्ने उदेश्यले कारागार भित्र रहेको खाली स्थानको सदुपयोग गर्दै विभिन्न सिपमुलक उद्योग संचालन भएका छन्’–जिल्ला कारागार कार्यालय काभ्रेका प्रमुख परशुराम थापाले भन्नुभयो–‘भक्तपुरका नवराज केसीले अघिल्लो दुई वर्षको अवधीमा १९ वटा थान गलैचा बुन्ने मेशिन जडान गर्नु भएको छ । सोहि उद्योगमा ३८ जनाले प्रत्यक्ष रोजगार प्राप्त गरेका छन् ।’ गलैचा उद्योगमा प्रयोग हुने कच्चा पदार्थ र त्यसको विक्री समेत केसीले नै गर्ने भए पछि उत्पादन भएका सामाग्रीको बजार अभाव हुँदैन ।
नमोबुद्ध ११ का रणबहादुर तामाङले गलैचा बुन्ने उद्योगको रेखदेख गरिरहनु भएको छ । चार वर्ष देखि ज्यान मुद्दा अभियोगमा कैद जीवन भुक्तान गरिरहेका रणबहादुरले जेल भित्रै मासिक १० हजार भन्दा धेरै आम्दानी गरिरहनु भएको छ । दैनिक उद्योगमा कार्यरतहरुको हाजिरी गर्ने र सोहि अनुसार भुक्तानी गर्ने गरिएको उहाँले बताउनु भयो । जेल भित्र बुनेको गलैचा १.७१ स्क्वायर मिटरको हुनेछ । प्रति स्क्वायर मिटर २२ हजार रुपैयामा कारोवार गरिरहेका कारागार प्रमुख परशुराम थापाले बताउनु भयो । ‘उत्पादित गलैंचालाई अझै फिनिसिङ्ग पछि चाईना निर्यात हुनेछ’– कारागार कार्यालय काभ्रेका प्रमुख परशुराम थापाले भन्नुभयो–‘तयारी सामान विक्री नहोला र रोजगार गुम्ला भन्ने चिन्ता गलैचा उद्योगमा छैन । नवराज केसीले नेपालका विभिन्न कारागारमा गलैचा उद्योग संचालन गर्नु भएको छ । डिल्लीबजार, चितवन, केन्द्रिय कारागार, भिमफेदी र पोखरा लगायतका स्थानमा उद्योग संचालन भईरहेको छ ।’

गलैचा पछि धेरैले रोजगार प्राप्त गरेको उद्योग हो मुढा बुन्ने । पछिल्ला केहि दिन कच्चा पदार्थ डोरीको अभावका कारण नियमित हुन सकेको छैन । तर दैनिक ४५ भन्दा धेरैले मुढा बुनिरहेका छन् । यसबाट पनि मासिक ८÷१० हजार आम्दानी हुने गरेको छ । पोते बुन्ने उद्योगमा ३५ भन्दा धेरै सहभागि छन् । विहान बेलुकाको दैनिकी पछि उनिहरु उद्योगमा रमाउन थालेका छन् । उद्योगमा सहभागि भई ब्यस्त हुँदा जेल बाहिर नै भए जस्तो महसुस हुने गरेको कैदीबन्दीले बताएका छन् । कारागार भित्र थान्का लेखन पनि शुरु भएको छ । थान्का लेखनमा दुई जना सहभागि छन् । कारागार भित्र शुरुमा तालिम दिने र रोजगार दिने गरिएको छ । इच्छुकहरुले तालिमका लागि नाम टिपाए पछि तालिम उपलब्ध गराउँदै रोजगार दिने गरिएको हो । पर्स बुन्ने कैदीबन्दीको सख्यामा भने कमि आएको छ । यसको बजार राम्रो छैन । बजारमा विक्री हुन छाडेपछि कैदीबन्दीहरुले यसतर्फ रुची देखाएका छै्रनन । ‘खाली दिमागमा गलत सोच नआओस र जेल भित्र बस्दा पनि आयआर्जन होस भन्ने उदेश्यले उद्यमका कार्यक्रम संचालन गरिएका हुन्’–कारागार प्रमुख परशुराम थापाले भन्नुभयो–‘स्थान अभावका कारण अरु धेरै उद्योग संचालन गर्न सकिएको छैन । उद्योगसँगै पुस्तकालय, कम्प्युटर सिक्ने लगायतका कार्यहरुका लागि ब्यस्थापन गरिरहेका छौं ।’ रोटरी क्लव काभ्रे भ्यालीले कारागार भित्र कैदीबन्दीहरुका लागि ५ थान कम्प्युटर उपलब्ध गराएको छ । कम्प्युटर सम्वन्धी शिक्षा प्राप्तीका लागि कैदीबन्दीले जेलभित्रै अवसरप्राप्त गर्ने थापाले बताउनु भयो । दैनिक कपाल काट्ने प्रयोजनमा पनि रोजगार उपलब्ध भएको छ । कपाल काटेको २० रुपैया र दाह्री काटेको १५ रुपैया पर्दछ । कपडा सिलाउनेहरुका लागि पनि अलग्गै रोजगार छ । केहिले बाहिरबाटै मगाएका कपडा लगाउने गरेका छन् भने केहिले त्यहि भित्र सिलाउने गरेका छन् ।
८५ क्षमता, २८९ कैदीबन्दी
जिल्ला कारागार कार्यालय काभ्रेको क्षमता ८५ जनाको हो । आईतबारको तथ्याङ्क अनुसार २ सय ८९ जना कैदीबन्दी छन् । दैनिक थपघट हुने भए पनि २ सय ८० भन्दा धेरै नियमित छन् । सबैभन्दा धेरै जर्बजस्तिकरणीमा सजाँय भोगिरहेका १ सय ८ जना छन् भने जर्बजस्तिकरणी उद्योगका ७ जना छन् । कर्तब्य ज्यानमा ४१ जना छन् । मानसिक रोगी ७ जना छन् । १ सय ८१ जना थुनुवा र १ सय ४ जना कैदी छन् । विदेशी ३ र थुनुवा १ गरी ४ जना छन् । ६५ वर्ष कटेका स्वदेशी २ कैदी र विदेशी १ कैदी छन् ।