धुलिखेल र पाँचखालमा हुने कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड सहभागि हुँदै

काभ्रेपलाञ्चोक जिल्लामा हुने दुई कार्यक्रममा आज प्रधानमन्त्री प्रचण्ड सहभागि हुँदैछन् । काठमाडौं विश्वविद्यालयको २९ औं दीक्षान्त समारोह (पहिलो चरण) आज २०८० मङ्सिर २७ गते काठमाडौं विश्वविद्यालयको केन्द्रीय परिसर धुलिखेलमा तथा पाँचखाल नगरपालिका होक्से स्थित शिखरपुरमा आयोजना हुने दक्षिण एशियाली महिला विकास मञ्च र पाँचखाल नगरपालिकाद्वारा आयोजित प्रथम महिला उद्यमी हरित औधोगिक पार्कको शिल्यान्यासका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागि हुँदैछन् ।
विश्वविद्यालयमा हुने दीक्षान्त कार्यक्रममा प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षता, शताब्दी पुरुष वरिष्ठ चिकित्सक डा. गौरीशंकरलाल दासको प्रमुख आतिथ्य र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति अशोक कुमार राई र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीको सहभागिता रहेको छ । काठमाडौं विश्वविद्यालयबाट स्कुल अफ आर्ट्स, एजुकेसन, इन्जिनियरिङ, ल, म्यानेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स विधाका पीएचडी, डिएम र एमसिएच तहका १८ जना, एमफिल तहका ३८ जना, स्नातकोत्तर तहका ३१४ जना, पिजिडी तहका ५२ जना, र स्नातक तहका १ हजार ४ सय १६ जना सहित १ हजार ८ सय ३८ जना विद्यार्थी दीक्षित हुनेछन् । तीमध्ये आर्टस्का २०९ जना, एजुकेसनका २२५ जना, इन्जिनियरिङका ३९ जना, लका ३९ जना, मेनेजमेन्टका ४४८ जना, मेडिकल साइन्सेजका ७७७ जना र साइन्सका १०१ जना रहनेछन् । दीक्षित हुने विद्यार्थीहरूमध्ये पुरुषको प्रतिशत ४६.०३ (६ सय ४६ जना) तथा महिलाको प्रतिशत ५३.९७ (९ सय ९२ जना) रहनेछ । दीक्षित हुनेमध्ये विदेशी विद्यार्थीहरू ६.१५ प्रतिशत रहेका र तीमध्ये भारत, श्रीलङ्का र माल्दिभ्स गरी ३ देशका ११३ जना विदेशी विद्यार्थी रहनेछन् ।
काठमाडौं विश्वविद्यालयको इतिहासमा पहिलोपटक स्कुल अफ इन्जिनियरिङ अन्तर्गत मास्र्टस अफ टेक्नोलोजी ईन आर्टिफिसियल इन्टेलिजेन्स १ जनालाई, स्कुल अफ मेडिकल साइन्सेज अन्तर्गत मास्टर अफ साईन्स ईन मिडवाईफेरी नर्सिङ्गमा ८ जनालाई र स्कुल अफ एजुकेसन अन्तर्गत मास्टर ईन हाईएर एजुकेसनमा ९ जनालाई उपाधि प्रदान गर्नेछ । उनन्तीसौं दीक्षान्त समारोहको पहिलो चरणको कार्यक्रमसम्ममा गरी काठमाडौं विश्वविद्यालयबाट ४३ हजार १ सय २३ जना उत्तीर्ण भएको विश्वविद्यालयका प्रवक्ता तथा स्कुल अफ आर्टसकी सह प्राध्यापक, एक्कुमाया पुनले जानकारी दिईन् । समारोहमा यो वर्ष भाईस चान्सलर स्वर्ण पदक विराट मेडिकल कलेज, विराटनगरका सनम ढकालले प्राप्त गर्ने भएका छन् । त्यस्तै जुद्धबहादुर श्रेष्ठ स्वर्ण पदक स्कुल अफ मेनेजमेन्टका विनायक घिमिरेले प्राप्त गरेका छन् भने रणबहादुर शाख स्वर्ण पदक अंकित सुवेदीले पाउने भएका छन् । न्हुछेरत्न तुलाधार स्वर्ण पदक संस्कृति श्री ढकालले प्राप्त गरेका छन् भने प्रेमराज पन्त स्वर्ण पदक सौगात बास्तोलाले पाउने भएका छन् ।
पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले पाँचखालमा हुने उक्त कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड लगायत अर्थमन्त्री डा. प्रकाशरण महत र उद्योग बाणिज्य तथा आपुर्तिमन्त्री रमेश रिजाल सहभागि हुने बताए । पाँचखालमा सेज निर्माण अन्तिम चरणमा पुगेको छ । तर अझै संचालनमा भने आएको छैन ।