काठमाडौ विश्वविद्यालयमा दीक्षान्त समारोह सुरु

=.
काठमाडौं विश्वविद्यालयको २९ औं दीक्षान्त समारोह शुरु भएको छ ।
दीक्षान्त कार्यक्रममा प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षता, शताब्दी पुरुष वरिष्ठ चिकित्सक डा. गौरीशंकरलाल दासको प्रमुख आतिथ्यता र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति अशोक कुमार राई र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीको सहभागितामा शुरु भएको हो ।
आज काठमाडौं विश्वविद्यालयबाट स्कुल अफ आर्ट्स, एजुकेसन, इन्जिनियरिङ, ल, म्यानेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स विधाका पीएचडी, डिएम र एमसिएच तहका १८ जना, एमफिल तहका ३८ जना, स्नातकोत्तर तहका ३१४ जना, पिजिडी तहका ५२ जना, र स्नातक तहका १ हजार ४ सय १६ जना सहित १ हजार ८ सय ३८ जना विद्यार्थी दीक्षित हुनेछन् । तीमध्ये आर्टस्का २०९ जना, एजुकेसनका २२५ जना, इन्जिनियरिङका ३९ जना, लका ३९ जना, मेनेजमेन्टका ४४८ जना, मेडिकल साइन्सेजका ७७७ जना र साइन्सका १०१ जना रहनेछन् । दीक्षित हुने विद्यार्थीहरूमध्ये पुरुषको प्रतिशत ४६.०३ (६ सय ४६ जना) तथा महिलाको प्रतिशत ५३.९७ (९ सय ९२ जना) रहनेछ । दीक्षित हुनेमध्ये विदेशी विद्यार्थीहरू ६।१५ प्रतिशत रहेका र तीमध्ये भारत, श्रीलङ्का र माल्दिभ्स गरी ३ देशका ११३ जना विदेशी विद्यार्थी रहनेछन् ।
काठमाडौं विश्वविद्यालयको इतिहासमा पहिलोपटक स्कुल अफ इन्जिनियरिङ अन्तर्गत मास्र्टस अफ टेक्नोलोजी ईन आर्टिफिसियल इन्टेलिजेन्स १ जनालाई, स्कुल अफ मेडिकल साइन्सेज अन्तर्गत मास्टर अफ साईन्स ईन मिडवाईफेरी नर्सिङ्गमा ८ जनालाई र स्कुल अफ एजुकेसन अन्तर्गत मास्टर ईन हाईएर एजुकेसनमा ९ जनालाई उपाधि प्रदान गर्नेछ । उनन्तीसौं दीक्षान्त समारोहको पहिलो चरणको कार्यक्रमसम्ममा गरी काठमाडौं विश्वविद्यालयबाट ४३ हजार १ सय २३ जना उत्तीर्ण भएको विश्वविद्यालयका प्रवक्ता तथा स्कुल अफ आर्टसकी सह प्राध्यापक, एक्कुमाया पुनले जानकारी दिईन् । समारोहमा यो वर्ष भाईस चान्सलर स्वर्ण पदक विराट मेडिकल कलेज, विराटनगरका सनम ढकालले प्राप्त गर्ने भएका छन् । त्यस्तै जुद्धबहादुर श्रेष्ठ स्वर्ण पदक स्कुल अफ मेनेजमेन्टका विनायक घिमिरेले प्राप्त गरेका छन् भने रणबहादुर शाख स्वर्ण पदक अंकित सुवेदीले पाउने भएका छन् । न्हुछेरत्न तुलाधार स्वर्ण पदक संस्कृति श्री ढकालले प्राप्त गरेका छन् भने प्रेमराज पन्त स्वर्ण पदक सौगात बास्तोलाले पाउने भएका छन् ।
