नेपालमा छिट्टै महिला प्रधानमन्त्री भएको हेर्ने इच्छा छः प्रधानमन्त्री प्रचण्ड (भिडियो)

काभ्रे । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा छिट्टै महिला प्रधानमन्त्री भएको हेर्ने आफ्नो इच्छा रहेको बताएका छन । पाँचखालमा देशकै पहिलो महिला उद्यमी हरित औद्योगिक पार्क शिलान्याश कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएपछि राष्ट्रपति, सभामुख र प्रधानन्यायाधिश महिला भएर राम्रो कामको सुरुवात गरेको बताए । अब महिला प्रधानमन्त्री बन्न बाँकी रहेको उनले बताए ।

भ्रष्टाचारको केस लाग्ने मध्ये ९९ प्रतिशत पुरुष रहेको समेत उनले बताएका छन । घर परिवारभित्र सबैलाई मिलाएर राम्रो संयोजन गर्ने भूमिकामा ९९ प्रतिशत महिला रहेको उनको भनाई थियो । त्यसकारण सुशासनको पक्षमा, सामाजिक न्याय र अर्थतन्त्रको क्षेत्रमा सुधार ल्याउनको लागि पनि महिला उद्यमीहरु अगाडी आउँदा जति प्रभावकारी परिणाम आउन सक्छ, पुरुषको भन्दा राम्रो आउन सक्छ भन्ने आफ्नो विश्वास रहेको उनको धारणा थियो ।
महिलाहरुले गर्ने कुनै पनि पहललाई सहयोग गर्नु आफ्नो कर्तव्य र जिम्मेवारीको रुपमा लिने गरेको उनले बताएका छन । संघीय संसदमा ३३ प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत महिलाको प्रतिनिधित्व हुनु खुसीको कुरा भएको उनले बताए ।

भिडियो