नेपालमै पहिलोपटक पाँचखालमा निर्माण हुन लागेको महिला उद्यमी हरित पार्क के हो ?
प्रथम महिला उद्यमी हरित औद्योगिक पार्कको शिलान्यास गरिएको छ ।नेपालमा पहिलो पटक पाँचखाल नगरपालिका वडा नम्वर ७ मा निर्माण हुन लागेको ‘प्रथम महिला उद्यमी हरित औधोगिक पार्क’को शिल्यान्स प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका हुन ।
१ सय रोपनी जमिन २५ वर्षसम्म भाडामा लिएर स्थानीय सरकार पाँचखालले दक्षिण एशियाली महिला विकास मञ्चसँगको सहकार्यमा ‘प्रथम महिला उद्यमी हरित औधोगिक पार्क’ निर्माण गर्न लागेको हो । मञ्चकी अध्यक्ष प्रमिला आचार्यले २०७८ सालमा शुरु भएको उद्योग खोल्ने सपना पुरा गर्ने अभियानमा दुई तहका सरकारले खेलेको भूमिकाको प्रशंशा गर्दै नेपालमा कार्यविधी शंशोधन र कार्यान्वनमा फास्ट ट्रयाक आवश्यक रहेको बताईन् । ‘कृषि पर्यटक पार्कको रुपमा प्रर्वद्धन गर्न पाँचखाल नगरपालिकासँगको सम्झौता अनुसार ५० वटा लघु तथा साना र मझौला उद्योग संचालनका लागि गुरु योजना, विस्तृत योजना र वातावरणीय प्रभाव मुल्यांकन सकिएको छ’–अध्यक्ष आचार्यले भनिन–‘दक्षिण एशियाका सबै मुलुक भित्र हुने उद्योगका सिप, प्रविधि र अनुभव साटासाट गर्दै उत्पादित बस्तुहरु निर्यात गरिनेछ । महिलाहरुको आर्थिक शशक्तिकरणमा उक्त पार्क नेपालमै नमुना हुनेछ ।’ सरकारले आवश्यक ठानेमा अन्य ६ वटा प्रदेशमा पनि यस्तै उद्योगहरु संचालन गर्न सक्ने बताउँदै अध्यक्ष आचार्यले पार्क भित्र प्रविधि, सिप, स्थानीय बस्तुहरुको प्रयोगसँगै हरित क्रान्तिको अभियानलाई सफल बनाउन आवश्यक पूर्वाधारहरु तयार गरिने बताईन् ।
‘प्रथम महिला उद्यमी हरित औधोगिक पार्क’ की अध्यक्ष शारदा रिजालले पार्कमा उत्पादित सामानहरुको प्याकेजिङ्ग, ग्रेडिङ तथा प्रशोधनका लागि सिप र प्रविधिको उच्चतम प्रयोग गर्दै उत्पादित सामानहरु निर्यातसँगै चोक चोकमा हरेक हप्ताको एक पटक हाटबजारका रुपमा विक्री गरिने बताईन् । स्थानीय स्तरमै प्राप्त हुने कच्चा पर्दाथ तितेपाती, रातोमाटो, सिस्नु, अमला, मह, कोदो, आलु लगायतका विभिन्न खालका तरकारी तथा अन्य सामाग्रीहरुको प्रयोग हुने उनले बताईन् । मुलुकमा भएका औधोगिक ग्राम, विशेष आर्थिक क्षेत्र भन्दा विल्कुल फरक महिला उद्यमी हरित औधोगिक पार्कलाई फरक ढंगबाट संचालन गर्ने उनले बताईन् । प्रधानमन्त्री, अर्थमन्त्री, सांसद, जनप्रतिनिधिहरु तथा स्थानीयहरुले उक्त पार्क निर्माण र संचालनका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
‘महिला प्रधानमन्त्री भएको हेर्ने चाहना छ’ – प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा छिट्टै महिला प्रधानमन्त्री भएको हेर्ने चाहना भएको बताएका छन् । महिला राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश जस्ता महत्वपूर्ण पदमा नियुक्ति भए पनि प्रधानमन्त्री अझै नभएकाले महिला प्रधानमन्त्री भएको देख्न चाहेको प्रधानमन्त्री दाहालले बताए ।
नेपालमा पहिलो पटक पाँचखाल नगरपालिका वडा नम्वर ७ मा स्थापना गरिएको ‘प्रथम महिला उद्यमी हरित औधोगिक पार्क’को शिल्यान्स कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले आफु महिलामैत्री भएकाले महिलाका हक अधिकारका लागि सधै लडिरहेको बताए । ‘संविधानले ब्यवस्था गरेको संघीय संसदमा ३३ प्रतिशत तथा स्थानीय तहमा ४० प्रतिशत महिला सहभागिता अनिवार्य भए पनि राजनीतिक सहभागिताले मात्रै आर्थिक शशक्तिकरण सम्भव छैन’–प्रधानमन्त्री प्रचण्डले भने–‘महिलाहरु भ्रष्टाचारमा समेत संलग्न छैनन । महिलाहरुले उद्योग संचालन गरे भने मुलुकको समृद्धी र अर्थतन्त्रका लागि हरित औधोगिक पार्क महत्वपूर्ण बन्नेछ ।’
‘अब हाईड्रोजन गाडी चढ्छु’– प्रचण्ड
आफु हरित क्रान्तिको पक्षमा रहेको बताउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौ विश्वविद्यालयले तयार गरेको हाईड्रोजन गाडी चढ्ने बताए । ‘अब म पहिलो पटक हाईड्रोजन गाडी चढ्दै छु’–प्रधानमन्त्री प्रचण्डले भने–‘नेपालमा हाईड्रोजनबाट चल्ने गाडी संचालनमा आउँदा क्लिन र ग्रिन इर्नजी उत्पादनलाई प्रोत्साहन हुनेछ ।’ अब हरित क्रान्तिको युग शुरु भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने– ‘महिला उद्यमी हरित औधोगिक पार्क त्यसको जग हो ।’
‘पाँचखाल सरकारलाई धन्यवाद’– प्रचण्ड
पाँचखाल नगरपालिका र नगर प्रमुख महेश खरेललाई धन्यवाद दिदै प्रधानमन्त्री प्रचण्डले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने, महिला उद्यमीहरुका विषयमा संवेदेनशिल बन्ने अभियानलाई निरन्तरता दिन अनुरोध गरे । सरकारले अर्थतन्त्रको दबाब हटाउन, अन्तराष्ट्रिय छवि बढाउन, लगानी आर्कषण गर्न र शुसासन कायम गर्न निरन्तर कार्य गरिरहेको प्रधानमन्त्री प्रचण्डले बताए ।
‘बजेट अभाव हुन दिन्नौ’ –अर्थमन्त्री
कार्यक्रममा बोल्दै अर्थमन्त्री डा.प्रकाशरण महतले महिलाहरुको राजनीतिक शशक्तिकरणसँगै आर्थिक शशक्तिकरण जरुरी रहेको बताए । ‘राजनीतिमा मात्रै नभई आर्थिक रुपमा पनि महिलाको शशक्त र सार्थक सहभागिता आवश्यक छ’–अर्थमन्त्री महतले भने–‘विशिष्ट प्रकारका उत्पादन गर्दा मात्रै बजार सहज हुने भएकाले उत्पादनलाई अर्गानिक तथा आर्कषक बनाउनु जरुरी छ ।’ विषादी मुक्त अभियानमा पाँचखालले खेलेको भूमिका प्रशंशा गर्दै अर्थमन्त्री महतले स्थानीय वस्तुहरुको उत्पादनमा जोड दिदै पार्कको संचालन पछि उत्पादन हुने आर्गानिक उत्पादनले बजार सहज हुने बताए । अर्थमन्त्री महतले उद्योग संचालनमा बजेट तथा आवश्यक नीति र कानूनहरुको ब्यवस्थापनमा सहयोग गर्ने बताए ।
‘कृषि शहर, पाँचखाल नगर नारा सार्थक भयो’ –नगर प्रमुख
पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले देशभर रहेका अन्य उद्योग भन्दा ‘प्रथम महिला उद्यमी हरित औधोगिक पार्क’ फरक रहेकाले यहाँको उत्पादन अन्तराष्ट्रिय बजारमा सहज रुपमा निर्यात हुने बताए । स्थानीय बस्तुहरुको प्रयोग गरेर उत्पादन हुने सामाग्रीहरु मध्ये १२ प्रकारका बस्तुहरु भारतमा निर्यातका लागि सम्झौता भईसकेको बताउँदै नगर प्रमुख खरेलले पार्क संचालनमा आए लगत्तै प्रत्यक्ष रुपमा एक हजार भन्दा धेरैले रोजगार पाउने बताए । ‘कृषि शहर, पाँचखाल नगर’ भन्ने नारालाई सार्थक बनाउन कृषि उपजहरुलाई उत्पादनसँग जोड्दै उद्योगका रुपमा स्थापित गर्न ‘प्रथम महिला उद्यमी हरित औधोगिक पार्क’ महत्वपूर्ण हुने खरेलले बताए । बार्षिक एक खर्ब निर्यात गर्ने लक्ष्य लिएको उक्त पार्कमा ५० वटा उद्योग संचालन हुनेछन् । महिलाहरुले मात्रै संचालन गर्ने उद्योगमा स्थानीय उत्पादनहरु प्रयोग गरिनेछ । उक्त पार्कलाई बहुबर्षिय योजनामा समाबेश गरी बजेट अभाव हुन नदिन र कृषकहरुले उत्पादन गरेका सामाग्री कम मुल्यमा विक्री गर्नु पर्ने अवस्थाको अन्त्य गर्न नगर प्रमुख खरेलले सरकारका प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराए ।