दुरुपयोग बढेपछि विद्यार्थीलाई मोबाइल फोन प्रतिबन्ध

दार्चुलाको जिल्ला सदरमुकाम खलङ्गा महाकाली नगरपालिका–४ मा रहेको महेन्द्र नमुना माध्यमिक विद्यालयले विद्यार्थीलाई मोबाइल फोन प्रयोग गर्न प्रतिबन्ध गरेको छ । हिजो बुधवारदेखि लागू हुनेगरी मोबाइल फोन प्रतिबन्ध गरेको विद्यालयले जनाएको छ ।

विद्यार्थीले मोबाइल फोनको दुरुपयोग गर्न थालेपछि विद्यालयमा मोबाइल फोन प्रतिबन्ध गरेको प्रधानाध्यापक रामदत्त जोशीले जानकारी दिए । विद्यार्थीले पढाइमा ध्यान कम दिने गरेको र कक्षाकोठामा समेत मोबाइल फोन चलाउन थालेपछि प्रतिबन्ध लगाएको उनले बताएका छन । विद्यार्थीले मोबाइल फोनलाई खाली फोटो खिच्ने र सामाजिक सञ्जाल फेसबुक चलाउन प्रयोग गर्ने गरेको पाएपछि प्रतिबन्ध गरेको उनको भनाई छ ।

विद्यालयले यसअघि पनि मोबाइल फोन प्रतिबन्ध गरेको थियो । बीचमा कोभिड–१९ महामारीका कारण खुला गरिएको प्रतिबन्धलाई विद्यालयले अहिले फेरि शुरु गरेको हो ।

विद्यालयले मोबाइल फोन प्रतिबन्ध गरिएकोबारे जिल्ला प्रशासनसहित जिल्ला प्रहरी कार्यालयलाई पनि जानकारी दिएको छ ।

महेन्द्र नमुना माविमा शिशुदेखि कक्षा १२ सम्मको पढाइ हुने गरेको छ । साथै विद्यालयमा प्राविधिक विषयको पनि पढाइ हुँदै आएको छ । विद्यालयमा झन्डै २८ सय जना विद्यार्थी रहेका प्रधानाध्यापक जोशीले जानकारी दिएका छन ।