रास्वपाको वडा अधिवेशन सुरु, सभापतिसहित ११ सदस्यीय वडा समिति गठन गरिने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वडा अधिवेशन आजदेखि सुरु भएको छ । रास्वपाले पार्टी स्थापनापछि पहिलो पटक वडा अधिवेशन गर्न लागेको पार्टीको संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । ‘सात प्रदेशको सात वडामा वडा अधिवेशन आजै सक्ने उनले बतए। अब निरन्तररुपमा वडा अधिवेशन, पालिका अधिवेशन र प्रदेश अधिवेशन गरेर क्रमशः राष्ट्रिय महाधिवेशनको बाटो खुलाएको उनको भनाई छ । सातै प्रदेशका ती वडामा रास्वपाका केन्द्रीय प्रतिनिधि सहभागी हुँदैछन् ।
सङ्गठन विभागका सचिव शङ्कर श्रेष्ठले प्रत्येक वडामा एक सभापतिसहित ११ सदस्यीय वडा समिति गठन गरिने बताए । उनका अनुसार ‘११ जनामध्ये कम्तीमा चार महिला सदस्य अनिवार्य गरिएको छ । चार जनामध्ये पनि एक जना अनिवार्यरुपमा दलित महिलाको व्यवस्था गरिएको छ । छ जना ४५ वर्षमुनिका युवा हुनै पर्ने पनि श्रेष्ठले बताएका छन ।