नक्कली भुटानी शरणार्थी प्रकरणः पूर्वगृहमन्त्री खाणको मुद्दाको टुंगो आज लाग्ने

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणको निवेदन आज उच्च अदालत पाटनमा तेस्रो न्यायाधीशको इजलासमा सुनुवाइ हुँदै छ।

यसअघि दुई न्यायाधीशबीच रायबाझी भएको फाइल आज न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा परेको छ। गत मंसिर १५ गते उच्च अदालतका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलबीच खाँणलाई पुर्पक्षका लागि थुनामै राख्ने कि धरौटीमा छाड्ने भन्ने विषयमा राय बाझिएको थियो।

पाण्डेले ३० लाख रुपैयाँ धरौटी राखे छाडिदिन सकिने राय दिएका थिए भने खरेलले जिल्ला अदालतको आदेश सदर गरी थुनामै बस्नुपर्ने राय प्रस्तुत गरेका थिए।

अब न्यायाधीश कोइरालाको इजलासले यसअघिका दुईमध्ये जुन न्यायाधीशको राय समर्थन गर्छ, त्यही आदेश कार्यान्वयन हुन्छ । तेस्रो राय दिएमा भने निवेदन सुनुवाइका लागि सर्वोच्च अदालतको एकल इजलासमा पुग्नेछ ।