तेमालमा स्वास्थ्य सामाग्री भण्डारण गरिएको अस्थाई भवनमा आगलागी

काभ्रे । तेमाल गाउँपालिका वडा नम्बर ५ पोखरीनारायणस्थान स्थित स्वास्थ्य सामाग्री भण्डारण स्थलमा आगलागी भएको छ । वडा कार्यालयसँगै स्वास्थ्य सामाग्री राखिएको अस्थाई भवनमा आगलागी भएको तेमाल गाउँपालिकाका उपाध्यक्ष दलमान थोकरले जानकारी दिए । जस्ताले छाएको कच्ची भवन भएकाले आगो छिटो फैलिदा बढी क्षति भएको उनले जानकारी दिए । उनका अनुसार पालिकाअन्तर्गतका स्वास्थ्य संस्थाका लागि आवश्यक औषधी तथा स्वास्थ्य सामाग्री यही भवनमा भण्डारण गरेर राख्ने गरिएको थियो । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । स्थानीय, प्रहरी, जनप्रतिनिधिको सहयोगमा आगलागी नियन्त्रणमा आएको छ । क्षतिको विवरण संकलन भइरहेको गाउँपालिकाले जानकारी दिएको छ ।