काभ्रेपलाञ्चोक जिल्लाको वर्तमान स्वास्थ्य सूचकको अवस्था
Cदिपेन्द्र श्रेष्ठ
आम नागरिकको स्वास्थ्य र देशको समग्र विकासबीच अन्योन्याश्रित सम्बन्ध हुन्छ । स्वास्थ्य क्षेत्रमा भएका प्रगतिहरुलाई विकासका प्रमुख सूचकांकहरुको रुपमा लिईन्छ । विगतका दशकमा गरिबी, द्वन्द्व, महामारी र प्राृकतिक प्रकोपका बाबजूद पनि नेपालले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको छ । नेपालको संविधान २०७२ ले स्वास्थ्यलाई जनताको मौलिक हकको रुपमा स्थापित गरिसकेको छ । नेपालको पहिलो स्वास्थ्य नीति २०४८ पछि राष्ट्रिय स्वास्थ्य नीति २०७१ हुँदै देश संघीय शासन प्रणालीमा गइसकेपछि संघीय संरचनाको वस्तुगत धरातलमा आधारित रहि “राष्ट्रिय स्वास्थ्य नीति २०७६” तर्जुमा गरी जारी समेत गरि लागू गरिएको छ ।
सन् १९७८ मा आल्मा आटामा सम्पन्न विश्व सम्मेलनबाट थालिएको प्राथमिक स्वास्थ्य सेवाको विश्वव्यापी अभियान, सहस्राब्दी विकास लक्ष्य र स्वास्थ्यमा सर्वव्यापी पहुँच हासिल गर्ने उद्देश्य सहितको दिगो विकास लक्ष्य लगायतका अन्तर्राष्ट्रिय प्रतिबद्धताहरुले नेपालको स्वास्थ्य प्रणालीको विकास र विस्तारमा थप योगदान पु¥याएको छ । त्यसैगरी सन् २०१८ अक्टोबरमा काजकास्तानको अस्तानामा सम्पन्न सम्मेलनले सन् १९७८ को आल्मा आटा सम्मेलनका उपलब्धिहरुको पुनरावलोकन गर्दै गुणस्तरीय प्राथमिक स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने विश्वव्यापी अभियानलाई थप निरन्तरता दिन नेपालले पनि प्रतिबद्धता जाहेर गरेको छ ।
नेपालमा करिब ३०० वर्ष पूर्व स्थापित सिंहदरबार वैद्यखाना र सन् १९४७ मा बीर अस्पतालको स्थापना भए पश्चात आयुर्वेद तथा आधुनिक चिकित्सा पद्दति मार्फत सुरु भएको स्वास्थ्य प्रणाली वि.सं. २०१३ देखि आवधिक योजनाहरु मार्फत स्वास्थ्य क्षेत्रको पनि योजनाबद्ध विकासक्रम सुरु भएको देखिन्छ । विगतमा भएका स्वास्थ्य कार्यक्रमहरुमा विफर उन्मूलन, औंलो नियन्त्रण, क्षयरोग नियन्त्रण, पोलियो उन्मुलन, हात्तीपाईले रोग निवारण, कुष्ठरोग निवारण, अन्धोपन निवारण लगायत बालबालिकालाई नियमित रुपले भिटामिन ‘ए’ खुवाउने जस्ता महत्वपूर्ण कार्यक्रममा आम नागरिकहरुको सक्रिय तथा उल्लेखनीय सहभागीता रहँदै आएको छ ।
पछिल्ला दिनहरुमा सुरक्षित मातृत्व तथा बाल स्वास्थ्यका क्षेत्रहरुमा नेपालले उल्लेखनीय प्रगति हासिल गर्दै न्यून मृत्युदर हासिल गर्न ठूलो प्रयासरत रहेको छ । विगत दशकहरुमा मुलुकको मुख्य समस्याको रुपमा रहि आएको औंलो, क्षयरोग, झाडापखाला, श्वासप्रश्वास, टाईफाईड, दादुरा, लहरेखोकी, भ्यागुते रोग, धनुषटंकार, हात्तीपाइले, कालाजार, ट्रकोमा, एचआईभी जस्ता संक्रामक रोगहरु नियन्त्रणमा छन् भने रोगको भार घट्दो क्रममा छ । नेपालबाट विफर उन्मुलन र पोलियो शुन्य अवस्थामा आइसकेको छ ।
बढ्दो शहर केन्द्रित उपचारमा पहुँच बढेसँगै स्वास्थ्यमा निजी क्षेत्रको सहभागिता र योगदान पनि उत्तिकै रहेको छ । उच्च र मध्यमस्तरको आवश्यक जनशक्ति उत्पादन गर्न राष्ट्र सक्षम हुँदै गएको अवस्था छ । नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ को प्रतिवेदन अनुसार हाल नेपालमा नवजात शिशु मृत्युदर २१ प्रतिहजार, शिशु मृत्युदर २८ प्रतिहजार र बाल मृत्युदर ३३ प्रतिहजार रहेको छ । जुन अवस्था आजभन्दा २६ वर्ष अघिको तथ्यांक हेर्ने हो भने नेपाल पारिवारीक स्वास्थ्य सर्वेक्षण १९९६ ले क्रमशः ५०, ७८ र ११८ प्रतिहजार रहेको देखाएको थियो ।
त्यसैगरी “राष्ट्रिय जनसंख्या तथा घरधुरी सर्वेक्षण २०७८” को प्रतिवेदन अनुसार नेपालमा हाल मातृमृत्यु भएका आमाहरु १५१ जना प्रतिलाख प्रतिवर्ष रहेको छ । वि.सं. २०४८ अगाडि यो दर ८५० जना प्रतिलाख रहेको थियो । यसरी विभिन्न सूचकहरु हेर्ने हो भने योजनाबद्ध रुपमा आएका विकासका क्षेत्रमा स्वास्थ्य क्षेत्रलाई पनि समेटिएपछि स्वास्थ्य क्षेत्रको क्रमिक सुधार भएको देखिन्छ । यसका लागि स्पष्ट स्वास्थ्य नीति, बजेट व्यवस्थापन र परिचालनले क्रमिक रुपमा स्वास्थ्यका सूचकहरु सुधारउन्मुखतर्फ अघि बढ्न ठूलो भूमिका खेलेको छ ।
देश संघीय संरचनामा गइसकेपछि गठित तीनै तहका सरकारहरुको प्राथमिकता समेत स्वास्थ्य क्षेत्र रोजाईको विषय रहेको देखिन्छ । समुदायमा विद्यमान संक्रामक रोगलाई एक हदसम्म नियन्त्रणमा ल्याउन सकिएपनि बढ्दो क्रममा रहेको नसर्ने रोगको भार, मानसिक स्वास्थ्य समस्या, प्राकृतिक प्रकोप, महामारीजन्य रोगलाई नियन्त्रणको लागि स्थानीय तहका सरकारहरुले ठूलो आर्थिक तथा प्राविधिक लगानी समेत गर्दै आइरहेको छ, जुन असाध्यै सराहनीय रुपमा रहेको छ । संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको सहकार्य तथा समन्वयमा प्रतिकारात्मक, प्रबद्र्धृनात्मक एवं उपचारात्मक सेवा मार्फत नागरिकको गुणस्तरीय स्वास्थ्य पहुँचमा समेत ग्यारेन्टी गरिएको छ ।
स्थानीय तह मार्फत उपलब्ध गराईने निःशुल्क आधारभूत स्वास्थ्य सेवा, प्रदेश तहबाट उपलब्ध गराइने विशेषज्ञ सेवा र संघीय तहबाट उपलब्ध गराइने विशिष्टिकृत सेवालाई व्यवस्थित र मर्यादित बनाउने सोचका साथ सेवामा निरन्तरता दिइएको छ । यसै सन्दर्भमा काभ्रेपलाञ्चोक जिल्लामा रहेको १३ वटा स्थानीय तहहरुले पनि आफ्नो क्षेत्राधिकार भित्र रहेका स्वास्थ्य संरचनाहरु मार्फत गुणस्तरीय सेवा प्रवाहमा समेत विशेष ध्यान दिएको देखिन्छ ।
तीनवटै स्वास्थ्य सेवाहरु प्रतिकारात्मक, प्रबद्र्धनात्मक र उपचारात्मक सेवाका अलावा सामाजिक दायित्वसँग सम्बन्धित क्रियाकलापहरुलाई पनि प्राथमिकतामा राखी सेवा प्रवाह भइरहेको छ । स्थानीय तहका स्वास्थ्य शाखा मार्फत सेवाको व्यवस्थापन, अनुगमन, आपूर्ति, अभिलेख, प्रतिवेदन, आवधिक मूल्यांकन, योजना निर्माण, समन्वय आदि गतिविधिका साथ स्वास्थ्य कार्यक्रम अघि बढिरहेको छ । संघ र प्रदेश मार्फत प्राप्त अनुदान सहितको निर्देशित कार्यक्रम बाहेक स्थानीय आवश्यकता र प्राथमिकताका आधारमा अस्पताल संचालन, नसर्ने रोगको नियन्त्रण लक्षित कार्यक्रम, जनावरको टोकाई नियन्त्रण र व्यवस्थापन, मानसिक स्वास्थ्य सेवा, विशेषज्ञ ,स्वास्थ्य शिविर, पुनस्र्थापना सेवा, घरदैलो ज्येष्ठ नागरीक स्वास्थ्य सेवा, निःशुल्क औषधि आपूर्ति आदि लगायतका कार्यहरु निरन्तर रुपमा गर्दै आइरहेको छ । स्वास्थ्य कार्यालयको समन्वय, सहकार्य र प्राविधिक सहयोगमा लक्षित कार्यक्रम समेत सम्पन्न भइरहेका छन् ।
समग्र काभ्रेपलाञ्चोकको स्वास्थ्य सेवा प्रवाह गर्ने संरचना एकदम बलियो रहेको छ । जिल्ला भित्र अवस्थित दुई निजी अस्पताल धुलिखेल अस्पताल र शिर मेमोरियल अस्पतालले पनि काभ्रेपलाञ्चोकको स्वास्थ्य सेवा क्षेत्रलाई महत्वपूर्ण योगदान दिएका छन् । जिल्ला अस्पतालको रुपमा रहेको मेथिनकोट अस्पतालबाट समेत उल्लेखनीय सेवा प्रदान भइरहेको छ । यहाँबाट समेत प्रतिकारात्मक, प्रबद्र्धनात्मक र उपचारात्मक सेवा प्रदान भइरहेका छन् । विशेषज्ञ सेवा अन्तर्गत हाडजोर्नी, मानसिक स्वास्थय, बाल स्वास्थ्य, स्त्री तथा प्रसूती रोग, जनरल शल्यक्रिया, दन्तरोगउपचार , डायलाइसिस सेवा लगायतका सेवाहरुनिरन्तर रुपमा प्रवाह भइरहेका छन् ।
हालजिल्ला भित्र संचालित स्वास्थ्य सेवाहरु प्रदानगर्ने स्वास्थ्य सँस्थाहरुमा सरकारी, निजी, सामुदायिक अस्पताल, पोलिक्लिनिक, डेन्टल क्लिनिक, संघ संस्थाबाट संचालित स्वास्थ्य संस्थाहरु मध्ये स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा आबद्ध भई नियमित स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाहरुमा अस्पताल १८ वटा प्रा.स्वा.के. ४ वटा, हे.पो.८८ वटा, आधारभूतस्वास्थ्य सेवा केन्द्र ३२ वटा, सामुदायिक स्वास्थ्य ईकाई २२ वटा ,शहरी स्वास्थ्य केन्द्र १६ वटा रहेका छन् । जसअन्तर्गत गाउँघर क्लिनिक ३२१ वटा, खोप क्लिनिक, ३४८ वटा, शल्यक्रियाद्वारा प्रसूति गराउने, ३ वटा अस्पताल, बर्थिङ्ग सेन्टर ४६ वटा संचालनमा रहेका छन् ।त्यस्तै कुपोषित बच्चाहरुको उपचारको लागि बहिरङ्ग उपचार केन्द्र ३३ वटा, पोषण मैत्री स्वास्थ्य संस्था ४ वटा, पोषण कर्नर स्थापना भएका स्वास्थ्य संस्था १५९ रहेका छन् ।
त्यसैगरी हाल जिल्लामा कूल ९४३ जना महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका मार्फत पनि सेवा प्रदान भइरहेका छन् । जिल्लामा संचालनमा रहेका कूल ३३ वटा प्रयोगशाला मध्ये A वर्ग १ वटा,C वर्ग १ वटा र E वर्गको प्रयोगशाला ३१ वटा रहेको देखिन्छ । पछिल्लो तथ्यांक आ.व.०७९।०८० अनुसार जिल्लाका स्थानीय तहका स्वास्थ्य संस्थाहरुमा कार्यरत जनशक्तिहरु मध्ये चिकित्सक १३ जना, पारामेडिक्स २३३ जना, नर्सिङ्ग स्टाफ २६१ जना, ल्याब/रेडियोग्राफी १९ जना र विद्यालय नर्स ४२ जना रहेको छ ।
आ.व.२०७९।०८० मा काभ्रेपलाञ्चोकको स्वास्थ्य सूचकहरुको अवस्था :
आ.ब. २०७९।०८० को बागमती प्रदेशस्तरीय स्वास्थ्य कार्यक्रमको वार्षिक प्रगति समीक्षामा भएको मूल्यांकनको आधारमा कूल ८२.७५ प्रतिशत अंकका साथ काभ्रेपलाञ्चोक स्वास्थ्य कार्यालयले लगातार दोश्रो पटक प्रथम स्थान हासिल गरेकोमा सम्मान समेत पाएको छ । गत आ.व. २०७८।७९ मा समेत सम्पादित कार्यक्रमको सूचकको आधारमा कूल ७९.५ प्रतिशत अंकका साथ प्रथम स्थान नै हासिल गरेको थियो । सर्वप्रथम यो स्थान दिलाउन स्वास्थ्य सेवा प्रवाहमा अहोरात्र खटिनुहुने सबै महिला स्वास्थ्य स्वयं सेविका,, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत , स्वास्थ्य शाखाका प्रमुख, पत्रकार, संघ संस्थाका प्रतिनिधि, स्वास्थ्य कार्यालयका सम्पूर्ण टिम लगायत सबै सरोकारवालाहरुमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौं । यस स्थान सम्म आइपुग्न सबैको उत्तिकै महत्वपूर्ण योगदान रहेको छ ।
स्वास्थ्य संस्थाहरुमार्फत प्रवाह भइरहेको विभिन्न कार्यक्रमहरु मार्फत निर्धारित लक्ष्य अनुसार प्रगति विश्लेषणका आधारमा मूल्यांकन गरिन्छ । फेरि पनि यस जिल्लाले एकपटक आफूलाई अब्बल सावित गरेको छ । यति हुँदाहुँदै पनि सुधार गर्ने पाटो र स्वास्थ्य क्षेत्रमा समस्याका चाङ पनि उत्तिकै रहेको छ । जुन समस्याहरुलाई सम्बोधन गर्दै अघि बढ्न तिनवटै तहबाट आगामी दिनमा योजनावद्घ रुपमा अझ सशक्त ढंगले स्वास्थ्य क्षेत्रमा थप लगानीका साथ अघि बढ्नु पर्ने देखिन्छ ।
आ.व.२०७९।०८० को प्रगतिलाई विश्लेषण गर्दा २०७९।०८० को लागि यस जिल्लालाई प्राप्त वार्षिक कूल जनसंख्याको लक्ष्य३७२९५५ जना मध्ये मुख्यतया अनुमानित जीवित जन्म संख्या ५५७६ जना, ०–६ महिनाको २८३० जना, ६ महिनादेखि ५९ महिनासम्म २५३७४ जना रहेको थियो भने अनुमानित गर्भवती सँख्या ६७९३ जना र अनुमानित १५–४९ वर्षको महिला संख्या ११०२३७ रहेको थियो ।
तथ्यांक अनुसार गत आ.व.मा प्रति गाउँघर क्लिनिक १८ जना, प्रतिखोप क्लिनिक १३ जना र प्रति म.स्वा.से.प्रतिमहिना २५ जनालाई औषतमा सेवा प्रदान गरेको देखिन्छ । जुन गत आ.व.को तुलनामा केही बढोत्तरी भएको देखिन्छ । त्यसैगरी खोप सेवा प्रवाहमा वि.सी.जी.१४४.३%, डिपीटी ,हे.व,हिब.पहिलो मात्रा १११.५%, तेश्रोमात्रा १०७.५% , दादुरा पहिलो १०६.६%, र दादुरा दोश्रो मात्रा १०६.२% रहेको छ ।त्यसैगरी टि.डी. खोप लगाउने गर्भवती महिलाहरु ७६.३% रहेको छ, जुन आ.व.०७८।७९ को तुलनामा केहि घटेको देखिन्छ ।समग्रमा खोप प्रगतिलाई मूल्यांकन गर्दा आ.व.२०७९।०८० मा उच्च कभरेज र कम ड्रप आउटको आधारमा क्याटेगोरी पहिलो आउन सफल भएको छ ।
नवजात शिशु तथा बालरोगको एकीकृत व्यवस्थापन कार्यक्रम अन्तर्गत २०७९।०८० मा नाभी मलम लगाइएका शिशु ९९.३%, गम्भीर संक्रमण भएका शिशुमध्ये १६% ले जेन्टामाइसिनको पूर्ण डोज पाएको र शतप्रतिशत निमोनियाका बच्चाहरुको एन्टिबायोटिकबाट उपचार पाएको देखिन्छ ।
पोषण कार्यक्रम अन्तर्गत २ वर्ष मुनिका बालबालिकाहरुको नियमित वृद्धि तौल अनुगमनमा १०२.६% ले सेवा लिएका थिए भने करिब ५.४ पटक औषत तौल वृद्धि अनुगमन गरेको पाइयो । त्यसैगरी पूर्णतया स्तनपान (६ महिना सम्म) गर्ने शिशुको प्रतिशत ५९ रहेको छ । जुन सूचकमा विगत वर्षहरुको तुलनामा उल्लेख्य वृद्धि भएको छ । गर्भवती अवस्थामा १८० चक्की आइरन पाउने ९३ प्रतिशत रहेको छ भने सुत्केरी पछिको भिटामिन ‘ए’ पाउनेको प्रतिशत ७४ रहेको छ ।
आ.व.२०७९।०८० मा सुरक्षित मातृत्व कार्यक्रम अन्तर्गत प्रोटोकल अनुसार आठ पटक गर्भजाँच गराउनेको प्रतिशत ७८.३ रहेको छ भने करिब १०७ प्रतिशतले संस्थागत सुत्केरी गराएका थिए । विगत वर्ष भन्दा यस सूचकमा पनि बढोत्तरी भएको छ । यसैगरी कूल सुत्केरी मध्ये शल्यक्रियाबाट सुत्केरी गराउने प्रतिशत आ.व. ०७७।०७८ मा २३.७%, ०७८।०७९ मा ३०.५% र ०७९।०८० मा ३६.४% रहेको पाइयो । यस सवालमा शल्यक्रियाबाट सुत्केरी गराउने महिलाहरुको संख्या दिनानुदिन बढ्दै गएको देखिन्छ ।
त्यस्तै सुरक्षित गर्भपतन सेवा अन्तर्गत आ.व. ०७८।०७९ को तुलनामा ०७९।०८० मा केहि संख्या समेत घटेको पाइएको छ । आ.व. २०७९।८० मा कुल १३१७ जना मध्ये ११३७ जनाले औषधिद्धारा गर्भपतन गराएका थिए भने शल्यक्रियाद्धारा जम्मा १८० जनाले गर्भपतन गराएका थिए । त्यस्तै, स्वास्थ्य सूचना प्रणालीमा प्रतिवेदन भएका मध्ये जिल्लाभित्र गत आ.व.०७९।०८० मामातृमृत्यु १ जना र नवजात शिशु मृत्यु जम्मा ३० जना भएको थियो । जसमध्ये १८ जना नवजात शिशको मृत्यु अन्यत्र जिल्ला बसोबास भई धुलिखेल अस्पतालमा उपचारको क्रममा भएको तथ्यांकले देखाउँछ ।
परिवार योजना सेवाको हकमा आधुनिक परिवार नियोजनका साधन नयाँ प्रयोगकर्ता १२.४ प्रतिशत रहेको छ भने लगातार प्रयोगकर्ता करिब ३१ प्रतिशत रहेको छ ।
क्षयरोग कार्यक्रमका हकमा कूल १६७ वटा डट्स केन्द्र रहेको यस जिल्लामा माइक्रोस्पिक केन्द्र २२ वटा, जिन एक्सपर्ट साइट १ वटा र बहुऔषधि प्रतिरोध उपचार केन्द्र १ रहेको छ । जसमा वार्षिक क्षयरोग नोटिफिकेशन दर करिब ९९ प्रतिशत छ भने उपचार सफलतापूर्वक पूरा गर्नेको प्रतिशत करिब ९३% रहेको छ ।
औंलो कार्यक्रम अन्तर्गत कूल २२ वटा माइक्रोस्कोपिक केन्द्रहरुबाट कूल १३७१ वटा नमूना परिक्षण गरिएकोमा खबैको नतिजा नेगेटिभ रहेको पाइयो ।
जनावरबाट हुने टोकाईको उपचार मध्ये कुकुरको टोकाईबाट आ.व.०७९।०८० मा ३२५१ जनाले उपचार लिन स्वास्थ्य संस्था आएका थिए भने अन्य जनावरको टोकाईबाट १८७ जनाले उपचार लिएका थिए । विगत ३ वर्षको तुलनामा यो संख्या धेरै नै रहेको तथ्यांकले देखाएको छ ।
नसर्ने रोग मध्ये आ.व. ०७९।०८० मा सबै भन्दा बढी उच्च रक्तचाप रहेको देखिन्छ । दोश्रोमा मधुमेह, तेश्रोमा दमखोकी र चौथोमा मानसिक स्वास्थ्य समस्या रहेको छ । त्यसका अलावा घाउ चोटपटक र सडक दुर्घटना समेत उल्लेख्य संख्यामा रहेको देखिन्छ । कुष्ठरोग कार्यक्रम अन्तर्गत जिल्लाभित्र उपचारमा रहेका विरामीको संख्या ३ रहेको छ । यद्यपि जिल्ला बाहिरबाट पनि केहि व्यक्तिले उपचार लिइरहेको सूचना आइरहेका छन् ।
मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम अन्तर्गत स्थानीय स्वास्थ्य संस्थाबाट आ.व. ०७९।०८० मा करिब ७२०० जनाको रोगको स्क्रिनिङ गरिएको थियो । जसबाट उच्च रक्तचाप २१४ जना, मधुमेह १४५ जना, र पाठेघरको मुखको परीक्षण असमान्य भएका ३५ जनालाई उपचारको दायरा ल्याईएको छ ।
एक विद्यालय एक नर्स कार्यक्रम अन्तर्गत यस जिल्लाको १५४ माध्यमिक तहमध्ये कार्यक्रम लागू भएका ५२ विद्यालयमा कार्यरत विद्यालय नर्सहरु मार्फत दैनिक रुपमा कुल १४५३४ विद्यार्थीहरु लगायत विद्यायालयका शिक्षक शिक्षिका तथा अभिभावकहरुलाई समेत स्वास्थ्य सेवा प्रदान गर्नुका साथै तोकिएको जिम्मेवारी अनुसारको विविध विषयमा विद्यालयस्तरमा कार्यक्रमहरु सम्पादन गरिएका छन् । विशेषगरी स्वास्थ्य जाँच,किशोरीलाई स्यानीटरी प्याड वितरण, मर्यादित महिनावारी सम्बन्धी कक्षा संचालन, पोषण शिक्षा तथा प्रदर्शनी अभिभावक स्वास्थ्य परिक्षण आदि गरिएको थियो ।
स्वास्थ्य शिविर कार्यक्रम अन्तर्गत स्वास्थ्य कार्यालय काभ्रेको आयोजनामा आ.व. ०७९।०८० मा चौरीदेउराली र महाभारतमा वृहत विशेषज्ञ स्वास्थ्य शिविर समेत आयोजना गरिएको थियो जसमा करिब २६०० जनाले सेवा प्राप्त गरेका थिए । यसका साथै सबै जसो स्थानीय तहबाट समेत स्थानीय श्रोत तथा सहयोगी सँस्थाहरु सँगको सहकार्यमा आवश्यकता अनुसार उल्लेख्य सँख्यामा विशेषज्ञ स्वास्थ्य शिविर आयोजना गरिएको थियो ।
जिल्लामा भएका स्वास्थ्य सम्बन्धीकेही नविनतम् कार्यहरु
– ग्रामीण भिडियो एक्सरे सेवा विस्तार
– म.स्वा.स्व.से. उत्प्रेरणा कार्यक्रम
– नसर्ने रोग प्रबद्र्धन कार्यक्रम
– क्षयरोग मुक्त पालिका सम्बन्धि कार्यक्रम
– मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम
– पानीको गुणस्तर परीक्षण
– आमा र बच्चा पोषिलो खानेकुरा वितरण कार्यक्रम
– सुत्केरी घरभेट
– निःशुल्क गर्भवती सुत्केरी एम्बुलेन्स सेवा
– मानसिक स्वास्थ्य सेवा कार्यक्रम
– उच्च रक्तचाप रोग नियन्त्रण सम्बन्धी कार्यक्रम
– पारिवारीक मुआक पद्दति कार्यक्रम
– सुत्केरी हवाई उद्धार कार्यक्रम
– उच्च रक्तचाप नियन्त्रण सम्बन्धी कार्यक्रम
– स्वास्थ्य सँस्थाहरुको भौतिक पूर्वाधार निर्माण
– काभ्रेपलाञ्चोक जिल्लाको भावी स्वास्थ्य कार्यक्रमको दिशा तय तथा प्रतिबद्घता गरिएको ।
हालै सम्पन्न आ.व. ०७९।०८० को जिल्ला स्तरीय वार्षिक समीक्षामा मूल्यांकन भई प्रथम स्थान हासिल गर्ने धुलिखेल नगरपालिका स्वास्थ्य शाखा, दोश्रोमा पनौती नगरपालिका स्वास्थ्य शाखा र तेश्रो हुनेमा बेथानचोक गा.पा. स्वास्थ्य शाखा लगायत विभिन्न विषयमा उल्लेखनीयकार्य सम्पादन तथा नवीनतम स्वास्थ्य कार्यक्रम शुरुवात गरेबापत निम्न अनुसारका स्थानिय तहहरुलाई सम्मानित गरिएको थियो ।
१. बनेपानगरपालिका: मेयरसँग स्वास्थ्य प्रबद्र्धन कार्यक्रम
२. पाँचखाल नगरपालिका: मानसिक स्वास्थ्य कार्यक्रम
३. भुम्लु गाउँपालिका: रेबिज रोग नियन्त्रण
४. महाभारत गाउँपालिका: रेबिज रोज नियन्त्रण
५. खानीखोला गाउँपालिका: जेष्ठ नागरिक घरदैलो कार्यक्रम
६. धुलिखेलनगरपालिका:Healthy Cityतथा TB Free पालिकाInitiation
७. पनौती नगरपालिका: मानसिक स्वास्थ्य कार्यक्रम
८. नमोबुद्ध नगरपालिका: नसर्ने रोग व्यवस्थापन
९. मण्डनदेउपुर नगरपालिका: रेबिज रोग नियन्त्रण÷स्वास्थ्य पूर्वाधार निर्माण
१०. बेथानचोक गाउँपालिका: क्षयरोग खोज पड्ताल
११. चौरीदेउराली गाउँपालिका : मानिसक स्वास्थ्य कार्यक्रम
१२. रोशी गाउँपालिका : नसर्ने रोग व्यवस्थापन
१३. तेमाल गाउँपालिका : नसर्ने रोग व्यवस्थापन/पोषण कार्यक्रम
अन्तमा, यी माथिका सबै क्रियाकलापका साथै तोकिएको लक्ष्य हासिल गर्न आ–आफ्नो क्षेत्रबाट उल्लेखनीय योगदान तथा समन्वय ,सहयोग गर्नु हुने जिल्ला स्थित सबै सम्बद्घ सरकारी कार्यालयहरु, १३ वटै स्थानीय तहहरु ,सबै स्वास्थ्य सँस्थाहरु, महिला स्वास्थ्य सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरु लगायत सहयोगी सँस्थाका रुपमा विश्व स्वास्थ्य संगठन, JANTRA नेपाल, One Heart Worldwide का साथै धुलिखेल अस्पताल, शिर मेमोरियल अस्पताल, ने पनि संघ, अपाङ्ग बाल अस्पताल, स्पाईनल ईन्जुरी पुनस्र्थापना केन्द्र,सबै निजी तथा सामुदायिक स्वास्थ्य सँस्थाहरु, सबै राजनीतिकर्मी, जनप्रतिनिधि, स्थानीय तह, सबै संचारकर्मीज्यूहरुमा आगामी दिनमा यस्तै थप सहयोगको अपेक्षा सहित पुनः हार्दिक धन्यवाद भन्न चाहान्छु ।