देशका अधिकांश स्थानमा हुस्सु कुहिरो, कस्तो छ आजको मौसम ?
केही दिनयता काठमाण्डौसहित पहाडी क्षेत्रमा बिहानपख र तराईका जिल्लामा दिउँसोसम्म नै हुस्सु कुहिरो लाग्न थालेको छ ।
काठमाण्डौसहित पहाडी क्षेत्रमा केही समयपछि हुस्सु कुहिरो हटेर घाम लाग्ने अनुमान छ । तर, आज पनि मौसम पूरै खुल्ने सम्भावना नरहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए । पानी पर्ने सम्भावना नभए पनि दिउँसो बादल लाग्ने उहाँले उनको भनाई छ। पहाडी क्षेत्रको मौसम दिउँसो आंशिक बदली हुनेछ । यस्तै, तराईमा भने दिउँसोपछि मात्रै हुस्सु कुहिरो हट्ने मौसमविद्ले बताएका छन् ।
बिहान हुस्सु कुहिरो लाग्न थालेकाले यात्रा गर्दा वा मर्निङवाक गर्दा सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन् ।
हुस्सु कुहिरो लागेका बेला भिजिबिलिटी घट्ने र यस्तोबेला दुर्घटनाको जोखिम धेरै हुने भएकाले सावधानी अपनाउन मौसमविद् सञ्जीव अधिकारीको सुझाव छ ।
हुस्सु कुहिरो लागेका बेला तीव्र गतिमा गाडी नचलाउन र सडक वारपार गर्दा पनि गाडी आए नआएको राम्ररी हेर्न ट्राफिक प्रहरीको आग्रह छ । यस्तै, मोटरसाइकल तथा साइकल चलाउँदा टल्कने खालको ज्याकेट लगाउन र पैदल यात्रुलाई कानमा इयर फोन लगाएर नहिँड्न ट्राफिक प्रहरीले सुझाव दिएको छ ।