पनौती स्थित प्रहरी प्रतिष्ठानको ३६ रोपनी जग्गा हडप्न खोज्ने बस्नेत पुर्पक्षकालागि थुनामा

काभ्रेको पनौतीमा निर्माणाधीन राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानको जग्गा हडप्न खोज्ने पनौतीका पुष्कर बस्नेतलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको छ ।

जिल्ला न्यायाधीश शिवकुमार पोखरेलको इजलासले उक्त आदेश दिएको हो । राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगंजले बस्नेतलाई प्रतिवादी बनाई मुद्धा दर्ता गरेको थियो । उनीविरुद्ध काभ्रेपलाञ्चोक जिल्ला अदालतमा सरकारी छाप दस्तखत किर्ते लिखत सम्बन्धी कसुरमा मुद्धा दर्ता भएको छ ।

बस्नेत मालपोतकै अवकाशप्राप्त नायब सुब्बा हुन । किर्ते कागजपत्रका आधारमा प्रहरीको ३६ रोपनी जग्गा हत्याउन खोजेको आरोपमा उनी पक्राउ परेका थिए । वन क्षेत्रमा पर्ने सो जग्गा नेपाल सरकारले भोगचलनका लागि २०५२ मै प्रहरीलाई दिएकोमा बस्नेतले आफ्नो निजी दाबी गर्दै नक्कली कागजपत्र तयार पारेको प्रहरीको दाबी छ ।

पनौती नगरपालिका– ६ मा पर्ने सो जग्गा कित्ता नम्बर ७५ अन्तर्गत पर्छ । नेपाल सरकारको निर्णयअनुसार २०५२ देखि नै प्रहरीले भोगचलन गर्दै आएको छ । सोही जग्गासमेत समेटेर गत वर्षदेखि भारतीय अनुदान सहयोगमा त्यहाँ १० अर्ब रुपैयाँको लागतमा आधुनिक प्रहरी एकेडेमी निर्माण गर्न लागिएको छ ।