काभ्रेपलाञ्चोक जिल्लाको विकास सम्भावना तथा चुनौति

युवाहरु आर्कषित हुन थालेको ब्यवसायीक कृषि र पशुपालनबाट सरकारकै नीति र असहयोगका कारण पलायन हुन थालेका छन् ।
श्याम सापकोटा
बनेपा
काभ्रेपलाञ्चोक जिल्ला देशको मध्य पहाडी क्षेत्रमा अवस्थित रहेको छ । राजधानी सँग जोडिएको यो जिल्ला जिल्ला सदरमुकामसम्म करिव ३० कि.मि. पूर्व पर्दछ । यो जिल्लालाई सदरमुकामसँग जोड्ने अरनिको राजमार्ग मुख्य रहेको छ । यस अतिरिक्त विपि राजमार्ग तथा मेलम्ची सडकले मुख्य गरी यस जिल्लालाई अन्य जिल्लाहरुसँग जोड्दछन् । देश संघियतामा गईसकेको र पुराना संरचना भंग गरी नयाँ संरचनामा निर्वाचित प्रतिनिधीले पहिलो कार्यकाल सम्पन्न गरिसकेका छन् । दोश्रो कार्यकालका लागि निर्वाचित जनप्रतिनिधिहरुले समग्र पालिकाको आर्थिक सामाजिक तथा भौगोलिक विकास गरी जनताको चाहना पुरा गर्नुपर्ने चुनौती छ । पालिकासँगै संघिय र प्रदेशमा निर्वाचित जनप्रतिनिधिहरुले जिल्लाको  समग्र विकासका लागि ध्यान दिए भने जिल्लाको विकास र समृद्धीको यात्रामा सहजता हुनेछ । 
यस अघि निर्वाचित पाँच वर्ष कार्यकाल पुरा गरेका जनप्रनिनिधिहरुले स्थानीय सरकारको अभ्याससँगै विकासको जग राख्ने काम गरेका छन् । दुध, अण्डा लगायत खाद्यान्नमा आत्मनिर्भर भएको काभ्रेपलाञ्चोक जिल्ला तरकारीमा समेत आत्मनिर्भर छ । राजधानीबासीका लागि दुई तिहाई दुध काभ्रेले निर्यात गरिरहेको छ । ताजा तरकारीका लागि पनि सम्भावना भएको काभ्रेपलाञ्चोक जिल्लाका खेतियोग्य जमिन पाँचखाल, पनौती, मण्डनदेउपुर, बनेपा, धुलिखेलका समथर फाँटहरु जोगाउन कठिन छ । चक्लाबन्दी खेतिका लागि भएका प्रयास कतै कतै मात्र सफल भएका छन् । किसानहरुलाई ब्यवसायीक बनाउन नियमित आवश्यक हुने रासायनिक मल, विउविजन तथा प्लास्टिक टनेल लगायतका प्रविधिहरुको अभाव छ । आयआर्जन बृद्धी गर्न जिल्लाबासीहरुले गर्न सक्ने उत्पादनलाई बजार पु¥याउन पनि सकिएको छैन । सिजनमा उत्पादन हुने तरकारी तथा सुन्तला लगायतका फलफुलहरुलाई स्टोरेज गर्न सकिएको छैन । समयमा विषादी तथा विरुवाहरुको उपलब्धता हुन सकेको अवस्थामा उत्पादन समेत बढ्न सक्ने कृषकहरुको माग स्थानीय सरकारले सम्बोधन गर्न सकेको छैन । 
कृषकहरुले उत्पादन गरेको दुघ, तरकारी र अण्डा विक्री हुन छाडेको छ । कुुखुराको मासुले उचित मुल्य पाउन सकेको छैन । प्राप्त गरेको मुल्य पनि समयमै भुक्तानी हुन सकेको छैन । युवाहरु आर्कषित भएको कृषि र पशुपालन पेशाबाट अब पलायन हुन थालेका छन् । कृषिसँगै जिल्लालाई पाँच वर्ष विताएका जनप्रतिनिधिहरुले साक्षर काभ्रे घोषणा गरेका छन् । पूर्ण खोप जिल्ला, खुल्ला दिसा मुक्त जिल्ला घोषणा गरेका छन् । यसलाई निरन्तर फलो गर्न र जिल्लालाई हरेक क्षेत्रबाट समृद्ध बनाउन निर्वाचित जनप्रतिनिधिको चुनौती छ । प्राकृतिक श्रोत साधनको संरक्षण, ब्यवस्थापन र विक्री वितरण अर्काे चुनौती छ । जिल्लामा गुड्ने सवारी साधनहरुको ब्यवस्थापन, विपदमा हुन सक्ने जोखिमता न्युनिकरण पनि चुनौतीका रुपमा रहेको छ । जिल्लाबासीहरुका तमाम समस्याहरुको समाधानका लागि जनप्रतिनिधिहरुको सक्रियता र तीन तहका सरकारको एकरुपता जरुरी छ । भुकम्प पछिको पुर्नर्निमाण, कोरोना भाईरसको नियन्त्रणमा मुख्य भूमिका खेलेका जनप्रतिनिधिहरुको अनुभवबाट सिक्दै मुलुकमा हुन लागेको आर्थिक संकट न्युनिकरणका लागि उत्पादनमुलक क्षेत्रमा जोडिनु पर्छ । जिल्लाका ५ गाउँपालिका र ६ नगरपालिकाहरुमा राष्ट्रिय प्रशारण लाइनवाट विजुली वितरण गरिएको छ । महाभारत र खानिखोला गाउँपालिकामा शुरु भएको राष्ट्रिय प्रसारण लाईनको काम अझै सकिएको छैन । पाँच वर्ष अघि शुरु भएको आयोजना कोरोना लगायतका कारण सम्पन्न हुन सकेको छैन । करिव १० प्रतिशत घरधुरीहरुले लघुजलविद्युत मार्फत उपभोग गर्दै आएका छन् । त्यस्तै जिल्लाका अधिकांश भागमा संचार सेवा उपलब्ध रहेको छ । भौगोलिक हिसावले जिल्लाको करिव २० प्रतिशत मात्र भूभाग टार वेंशी, तथा समथल स्थान रहेको छ । यी स्थानहरुमा मुख्यगरी व्यवसायिक कृषि तथा पशुपालन गरिदै आएको पाइन्छ । जिल्लामा जम्मा वनक्षेत्र ५२.३ प्रतिशत रहेको छ । जसमध्ये सरकारी वन क्षेत्र ६४.३९ प्रतिशत, सामुदायिक वनक्षेत्र ३१.९ र कवुलियति वनक्षेत्र ३.९ प्रतिशत रहेको छ । 
बजार अवसर प्रशस्त भएका कारण यस जिल्लावासीहरु व्यवसायिक कृषि प्रणाली तथा पशुपालन तर्फ बढी आकर्षित भएको पाइन्छ । यस जिल्लावाट निर्यात हुने मुख्य उत्पादनहरुमा तरकारी, दुध तथा दुग्धजन्य पदार्थहरु, पोल्ट्री उत्पादनहरु मुख्य रहेका छन् । यस अतिरिक्त जिल्लाबाट केही औद्योगीक उत्पादनहरु पनि निर्यात भइरहेका छन् । यस जिल्लामा प्रशस्त पर्यटकीय स्थलहरु भएकाले आन्तरिक तथा बाह्य पर्यटनको प्रशस्त सम्भावना रहेको पाइन्छ । जिल्लामा पर्यटकहरुलाई लक्षित गरी स्तरीय र सुविधा सम्पन्न होटलहरु देखि होमस्टे सम्मका गतिविधिहरु सञ्चालन भएको पाइन्छ । यस अतिरिक्त कृषि पर्यटन, धार्मिक पर्यटन, पर्यावरणीय पर्यटनको प्रशस्त सम्भावना रहेको छ । जिल्लामा उल्लेखित प्रशस्त सम्भावनाहरु हुँदाहुँदै पनि भौगोलिक विषमताले सबै भौगोलिक क्षेत्रहरुको उत्तिकै विकास गर्न मद्दत पु¥याएको देखिदैन । जिल्लाका महाभारत क्षेत्रका गाउँपालिका तथा सुनकोशी नदी पुर्वका गाउँपालिका सामाजिक र आर्थिक हिसावले अन्य क्षेत्रको तुलनामा पछि परेका छन् । पातलो र छरिएका यी बस्तीहरुमा भौतिक तथा सामाजिक पूर्वाधारहरुको निर्माण तथा पुनःनिर्माण गर्न पर्याप्त ध्यान पुगेको देखिदैन । यस जिल्लाको मुख्य जनसंख्याको भाग ओगट्ने तामाङ समुदायहरु तथा दलित समुदायहरु सामाजिक तथा आर्थिक रुपमा पछि परेका छन् । जसले गर्दा गरिवीको विषमता बढी पाइन्छ । जिल्लाका मुख्य टार तथा उपत्यकाहरुमा आधुनिक कृषि तथा पशुपालन नहुनु तथा सिंचाइका पूर्वाधारहरुको न्यून विकासले गर्दा उत्पादन र उत्पादकत्वमा अपेक्षाकृत सुधार हुन सकेको देखिदैन । युवा वर्गमा रहेको विद्यमान वेरोजगारी दर, महिलाहरुको न्यून रोजगारी दर, स्थानीय प्रविधिमा सापेक्षित सुधार गर्न नसक्नु लगायतका विषयहरुले जिल्लाको समग्र विकासमा थप चुनौति थपेको पाइन्छ । 
  •  काठमाण्डौको बजार माग बढी भएकाले व्यवसायिक तरकारी दुध तथा दुग्धजन्य पदार्थहरु, पोल्ट्री व्यवसायको प्रशस्त सम्भावना छ । 
  •  जिल्लामा वनले ढाकेको क्षेत्र बढी भएकाले गैर काष्ठ जन्य उत्पादनहरुको प्रशस्त सम्भावना छ । 
  •  राजधानीवाट नजिक तथा उत्तरी मोहोडामा रहेका अग्ला क्षेत्रहरु बढी भएका तथा बिबिधताले भरिएका स्थानहरु धेरै भएकाले प्रशस्त पर्यटनको सम्भावना रहेको छ । 
  •  शैक्षिक क्षेत्रमा देशकै अग्रणी विश्वविद्यालय रहेकोले शैक्षिक क्षेत्रको रुपमा विकास गर्न सकिने सम्भावना प्रशस्त रहेको छ । 
  •  सुर्यविनायक देखि धुलिखेलसम्मको सडक ६ लेनको भएसँगै जिल्लामा थप आर्थिक कारोवार हुनेछ । पर्यटकहरुको आगमनसँगै जिल्लामा अन्य जिल्लाबासीहरुको आर्कषण बढ्ने देखिन्छ । 
यस बाहेक जिल्लामा सम्भावना बोकेका मुख्य पर्यटकीय गन्तव्यहरूमा सुनकोसीमा ¥याफ्टीङ् तथा महाभारत क्षेत्रमा पदमार्ग (भिमखोरी देखी ढुंखर्क सम्म) रहेको छ ।