सुर्तीजन्य पदार्थ बिक्री वितरण रोक्ने महानगरको निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

उच्च अदालत पाटनले सुर्तीजन्य पदार्थको बिक्रीरवितरणमा रोक लगाउने काठमाण्डौ महानगरको निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको छ ।

श्रीराम टोवागो उद्योगले महानगरविरुद्ध दायर गरेको मुद्दामा उच्च अदालतका न्यायाधीश जनक पाण्डे र ब्रजेश प्याकुरेलको इजलासले मुद्दाको अन्तिम टुङ्गो नलगेसम्म गएको मङ्सिर १२ गते महानगरले गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

महानगरले मंसिर १२ गते १५ दिने सूचना प्रकाशन गर्दै प्लास्टिकमा प्याक गरिएको सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गरेको थियो । काठमाडौं महानगरपालिका क्षेत्रभित्र मदिरा, सुर्तीजन्य, पदार्थहरु बिक्री वितरण र उपयोग नियमन र नियन्त्रण प्रभावकारी नभएकोले जनस्वास्थ्यमा प्रतिकूल प्रभाव पर्नुका साथै प्लास्टिक वा बट्टामा प्याकेजिङ गरिएका सुर्तीजन्य पदार्थको सेवनका कारण भूमि प्रदूषित हुने, ढल जाम हुने, फोहोर मैला बढ्न गई सहरको सुन्दरतामा प्रतिकूल प्रभाव परेको बताउँदै यसको बिक्री वितरण तथा सार्वजनिक स्थानमा प्रयोग गर्न महानगरले रोक लगाएको थियो ।

काठमाण्डौ महानगरले हिजो बिहीवारदेखि नै यसअघिको निर्णयअनुसार बजारमा सुर्तीजन्य पदार्थ बिक्रीमा रोक लगाएको थियो ।