मौलिक कला जोगाउनुपर्नेमा मन्त्री किराँतीको जोड

काठमाडौँ / संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको मौलिक कला संस्कृतिलाई जोगाउन सकेमा मात्र देशलाई पर्यटनको केन्द्रका रुपमा विकास गर्न सकिने बताउनुभएको छ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १५ औँ प्राज्ञ सभाको उद्घाटन गर्दै मन्त्री किरातीले नेपालका विभिन्न भेगमा छरिएर रहेका मौलिक कला तथा सम्पदा जोगाउन सकेमा पर्यटन क्षेत्रको विकास अझ सहज हुने बताउनुभयो । उहाँले भन्नुभयो, “कला, संस्कृतिको उत्थानका लागि प्राज्ञिक क्षेत्रको विशेष योगदानको अपेक्षा सरकारले गरेको छ ।”

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रतिष्ठान अनुसन्धान, सृजना र सम्मानलाई प्राथमिकतामा राखेर अघि बढेको बताउँदै सृजनात्मक गतिविधि विस्तारमा प्रतिष्ठानले हरसम्भव प्रयास गरिरहेको जानकारी दिनुभयो ।

प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव धनप्रसाद सुवेदीले २०६४ को ऐनबाट सञ्चालित तीन वटै प्रतिष्ठानले काम गरिरहेको तर २०७२ को संविधानपछि प्राज्ञिक काम र तिनका अधिकार प्रदेशमा पनि प्रत्यायोजन गरिएको बताउनुभयो ।

सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका उपकुलपति शम्भु राईले कला, संस्कृति सङ्गीत तथा नाट्य क्षेत्रको विकासमा प्रतिष्ठानहरू लाग्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिष्ठानका पूर्व कुलपति रागिनी उपाध्यायले आगामी दिनमा राष्ट्रियसँगै अन्तर्राष्ट्रिय कला सम्मेलन आयोजना गर्न प्रतिष्ठानलाई सुझाव दिनुभयो । -रासस