१६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर

गृह मन्त्रालयले १६ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित २५ जना सहसचिवको सरुवा गरेको छ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गद्र्रै सीडीओ, महानिर्देशक र सहसचिवको पदस्थापना तथा सरूवा गरेका हुन् ।
जिल्ला प्रशासन पाल्पामा कार्यरत सीडीओ बन्धुप्रसाद बास्तोलालाई झापाको प्रमुख जिल्ला अधिकारीकोरुपमा सरुवा गरिएको छ भने कपिलवस्तुका शंकरहरि आचार्य सुर्खेतको प्रमुख जिल्ला अधिकारी बनेका छन् । सुर्खेतका नारायण प्रसाद सापकोटा भोजपुर पुर्याइएका छन् ।
त्यस्तै, भोजपुरका हरिप्रसाद घिमिरे लाई उदयपुरमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । उदयपुरका जनार्दन गौतम तनहुँको प्रमुख जिल्ला अधिकारीका रुपमा सरूवा भएका छन्।
गृह मन्त्रालयमा कार्यरत सहसचिव आनन्द काफ्लेको जिल्ला प्रशासन कार्यालय पाल्पामा पदस्थापना भएको छ। यस्तै, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक झक्कप्रसाद आचार्य जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा सरूवा भएका छन्।