चिवाभञ्ज्याङ पुगेर ओलीले फहराए जंगे पिलरमा नेपालको राष्ट्रिय झण्डा
काठमाडौं/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँचथरको चिवाभञ्ज्याङमा नेपालको राष्ट्रिय झण्डा फहराएका छन् ।
‘झुलाघाट–चिवा भञ्ज्याङ सङ्कल्प यात्रा’को क्रममा पाँचथर सदरमुकाम फिदिमबाट नेपाल भारत सीमा क्षेत्रमा रहेको चिवाभञ्ज्याङ पुगेर ओलीले आज जंगे पिलरमा नेपालको राष्ट्रिय झण्डा फहराएका हुन् ।
ओलीले जंगे पिलरमा नेपाल राष्ट्रिय झण्डा फहराएसँगै बैतडीको झुलाघाटबाट सुरु भएको एमालेको संकल्प यात्रा सकिएको छ ।बैतडीको झुलाघाटमा झण्डोत्तोलन गरेर मध्यपहाडी पुष्पलाल मार्ग हुँदै ओलीसहितको टोली १८ दिनमा पाँचथरको चिवाभञ्ज्याङ पुगेको हो ।
ओलीको नेतृत्वको टोलीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेता, प्राविधिक, विज्ञ लगायत सहभागी छन् ।
यसअघि एमालेले मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न यो यात्रा थालिएको जनाएको थियो ।