बलात्कार आरोपमा माओवादी नेता पक्राउ

काठमाडौं / नाबालिका बलात्कार आरोपमा गोरखाका माओवादी नेता भूमिनन्द देवकोटा पक्राउ परेका छन् ।
काठमाडौं–३२, पेप्सिकोलास्थित घरमा काम गर्न बसेकी १७ वर्षीया किशोरीले देवकोटाले पटकपटक बलात्कार गरेको भन्दै प्रहरी वृत्त बानेश्वरमा जाहेरी दिएपछि उनी प्रकाउ परेका हुन् ।
पीडित किशोरीले दिएको जाहेरीको आधारमा देवकोटालाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीले बताए । देवकोटाले आफ्नै संरक्षणमा राखेर एक वर्षदेखि जबरजस्ती करणी गर्दै आएको जाहेरीमा उल्लेख छ । पछिल्लो समय २६ भदौ २०८० मा उनले करणी गरेको जाहेरीमा उल्लेख छ ।
सोही किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पेप्सिकोला बस्ने २७ वर्षीय दिपेश नेपालीलाई पनि पक्राउ गरेको छ । प्रहरीका अनुसार नेपाली पीडित किशोरीका प्रेमी हुन् । प्रहरी वृत्त बानेश्वरका अनुसार देवकोटा र नेपालीले फरक फरक समयमा बलात्कार गरेको छुट्टाछुट्टै जाहेरी परेको छ ।
जिल्ला अदालत, काठमाडौंबाट दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिएर छानबिन भइरहेको प्रहरीले जनाएको छ ।