राष्ट्रिय सभामा प्रवेश गर्न सिटौलाको सक्रियता, कांग्रेसभित्रै उनलाई रोक्ने गरी मापदण्ड प्रस्ताव

नेपाली कांग्रसले राष्ट्रिय सभाको निर्वाचनका लागि छलफल थालेको छ । सबैभन्दा ठुलो दल भएकाले गठबन्धनबाट बढी सिट कांग्रेसले पाउनेछ। कांग्रेसमा संस्थापनइतर समूहले राष्ट्रिय सभामा उम्मेदवार बनाउँदा मापदण्ड बनाउनुपर्ने र नेताले मनलाग्दी छान्न नहुने बताइरहेको छ। गत साता बत्तीसपुतलीमा भएको उक्त समूहको भेलाले यसअघि प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएका र पटकपटक सरकारमा अवसर पाएकाहरूलाई राष्ट्रिय सभामा लैजान नहुने आवाज जोडतोडले उठाएको छ। तर, संस्थापन पक्ष भने बोलेको छैन।
संस्थापनइतर समूहको निशानामा कृष्णप्रसाद सिटौला परेका छन । गएको निर्वाचनमा देउवालाई सहयोग गरेका र त्यसको बदलामा अवसर लिन खोजिरहेकाहरुलाई रोक्न जोड गरिरहेको छ।
सिटौला प्रतिनिधि सभाको निर्वाचनमा झापा–३ बाट पराजित भएका हुन्। राप्रपाका राजेन्द्र लिङ्देनसँग पराजित सिटौलाले यसअघि राष्ट्रपति बन्न पनि प्रयास गरेका थिए।
झापा–३ बाट पराजित भएपछि उनका लागि ५ वर्षका लागि प्रतिनिधि सभाको ढोका कानुनतः बन्द छ। त्यसैले अब राष्ट्रिय सभामा प्रवेश गर्न सक्रियता बढाएका छन्।
देउवालाई मनाएर सिटौला यही कोटामा राष्ट्रिय सभा प्रवेश गर्ने प्रयासमा छन्। तर, पार्टीभित्रै महामन्त्रीसहितको समूह भने उनलाई रोक्ने गरी मापदण्ड प्रस्ताव गरिरहेको छ। इतरसमूहका नेता जगदीशनरसिंह केसी यसअघि चुनाव हारेकालाई कुनै पनि हालतमा राष्ट्रिय सभामा लैजान नहुने बताउँछन्।
फागुन २० गतेबाट राष्ट्रिय सभामा २० सिट खाली हुँदै छ। यसैअन्तर्गत माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि १२ दल दर्ता भएका छन्। यसअघि राष्ट्रपतिले मनोनित गरेका राष्ट्रिय सभा सदस्य विमला राई पौड्यालको पनि यहीबेला कार्यकाल सकिँदै छ। उनको ठाउँमा फेरि पनि राष्ट्रपतिले नै मनोनित गर्नेछन्। राष्ट्रिय सभाको निर्वाचनमा पनि गठबन्धन गर्ने सहमति सत्ता गठबन्धनमा भइसकेको छ। तर, सिट बाँडफाँटमा भने सहमति जुटिसकेको छैन।