काभ्रेपलाञ्चोक तेमालका दिलबहादुरको नक्कली कागजात र गाडी चोरी धन्दा

बनेपा/विभिन्न अपराधका घटनामा काभ्रेपलाञ्चोक जिल्लाका युवाहरु संलग्न हुने गरेका उदाहरण नयाँ होईनन् । सुन तस्करी देखि नक्कली नोट प्रकरणसम्म आईपुग्दा पछिल्लो घटना महङ्गा सवारी साधन चोरी गरी नक्कली कागजात विक्री गर्ने अभियानमा पनि काभ्रेपलाञ्चोक जिल्लाकै युवा पक्राउ परेका छन् । 
तेमाल गाउँपालिका घर भएका ४२ वर्षीय दिलबहादुर घिसिङ र सिन्धुपाल्चोक जिल्ला  चौतारा घर भएका ३३ वर्षीय आईत सिं तामाङले नक्कली सवारी दर्ता प्रमाणपत्र तयार गरी विक्री गरेका ५ वटा महङ्गा गाडी सहित पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विभिन्न स्थानबाट गाडीहरु नियन्त्रणमा लिदै उनिहरुलाई पक्राउ गरेको हो । 
बरामद गरिएका गाडीहरु मध्ये एउटा ब्रेजा गाडी बनेपा स्थित पुलबजारमा मर्मतका लागि छाडिएको थियो । १५ हजार रुपैया खर्च गरेर मर्मत हुँदै गरेको गाडी अपराध अनुसन्धान कार्यालयको टोलीले लिएर गएको गाडी मर्मत केन्द्र (ग्यारेज)का संचालकले बताएका छन् । बनेपा स्थित पुलबजारमा साविकको जिल्ला ट्राफिक प्रहरी कार्यालय नजिकै रहेको ग्यारेजमा उक्त गाडी मर्मतका लागि छाडिएको केहि दिन मात्रै भएको थियो । अरु धेरै मर्मत गर्नु पर्ने भनिएको भए पनि उक्त अवधीसम्म मर्मत गरिएको खर्च १५ हजार उठेको थियो । काठमाडौबाट आएको प्रहरीको टोलीले मर्मत भएको खर्चको विल अपराध अनुसन्धान महाशाखामा लिन आउन भनेको छ । 
तेमालका दिलबहादुर मार्फत उक्त गाडी बनेपामा मर्मत गरिदै थियो । बजारमुल्य अनुसार उक्त गाडी ७५ लाख रुपैया हो । तर किन्ने ब्यक्तिले ९ लाख रुपैयामा मात्रै किनेका थिए । सस्तो रुपैँयामा महङ्गो गाडी कागजपत्र सहित प्राप्त गरे पछि मख्ख परेका ब्यक्तिहरु प्रहरीले नक्कली कागजात सहित गाडी समेत नियन्त्रणमा लिए पछि झसंङ्ग भएका छन् । सस्तो पाएँ भन्दैमा जे सामान पनि खरिद गरिहाल्ने चलनले स्वंय ब्यक्तिलाई नै हानी गर्छ भन्ने उक्त घटनाबाट समेत पुष्टी भएको छ । यस अघि पनि तेमालका घिसिङ्ग विभिन्न अपराधमा संलग्न हुँदै आएका थिए । 
प्रहरीले उनीहरुको साथबाट वागमती प्रदेश ०१ ०२५ च २७५९ नम्वरको कारको ब्लुबुक, वागमती प्रदेश ०१ ०२८ च ६३१३ नम्वरको सवारी दर्ता प्रमाणपत्र, वागमती प्रदेश ०१ ०२३ च २६५७ नम्वरको कारको सवारी दर्ता प्रमाणपत्र, वागमती प्रदेश ०१ ०२६ च ६५७१ नम्वरको कारको सवारी दर्ता प्रमाणपत्र, वा २१ च १४६७ नम्वरको कारको सवारी दर्ता प्रमाणपत्र, बागमती प्रदेश ०१ ०२५ च २५७९ नम्वरको कार, बागमती प्रदेश ०१ ०२८ च ६३१३ नम्वरको कार, वागमती प्रदेश ०१ ०२३ च २६५७ नम्वरको कार, वागमती प्रदेश ०१ ०२६ च ६५७१ नम्वरको कार, वा २१ च १४६७ नम्वरको कार र विभिन्न सरकारकी कार्यालयको ४ वटा छापका साथै मोवाईल दुई थान बरामद गरेको छ । 

उनीहरुले नक्कली बिलबूक लगायतका कागजात बनाइ गाडी नेपाल भित्रयाउने र काठमाडौंमा बिक्री वितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरुको साथबाट बरामद भएका गाडीका सवारी दर्ता प्रमाणपत्र अनुसन्धानका क्रममा नक्कली भेटिए पछि प्रहरीले पक्राउ गरेको हो । उनीहरुले नेपाली बजारमा करिब ७५ लाख रुपैयाँ पर्ने चोरीका कार ९ लाख देखि २१ लाख रुपैयासम्ममा विक्री गरेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई क्रेटा, ब्रेजा र इलेक्टोनिक्स ५ वटा गाडीसहित पक्राउ गरेको हो । प्रहरीले दिलबहादुरलाई काठमाडौं महानरपालिका १३ कालिमाटीबाट पक्राउ गरेको थियो । उनको साथबाट प्रहरीले एनएमबि बैंकको सातौं तहको अधिकृतको छाप र यातायात व्यवस्था विभागको छापलगायत अन्य सरकारी छापहरू बरामद गरेको छ । उनीहरूले भारतबाट गाडीहरू चोरी गरेर नेपाल ल्याउने र त्यसलाई नक्कली ब्लुबूक बनाएर बिक्री गर्ने गरेका थिए ।