अन्तराष्ट्रिय आप्रवासन दिवसः धुलिखेलमा सरोकारवालासँग सामीको अन्तरक्रिया

अन्तराष्ट्रिय आप्रवासन दिवस काभ्रेमा पनि विविध कार्यक्रम गरि मनाइएको छ । दिवसको अवसर पारेर सुरक्षित आप्रवासन (सामी) परियोजनाले सरोकारवालासँग अन्तरक्रिया गरेको छ । धुलिखेलमा आयोजित कार्यक्रममा जिल्लाका तीन स्थानीय तहका जनप्रतिनिधि, रोजगारबाट फर्किएका व्यक्ति लगायत सरोकारवालको उपस्थिती रहेको थियो । धुलिखेल नगरपालिकाको सभाहलमा आप्रवासन, वर्तमान अवस्था अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा धुलिखेल नगरपालिकाका नगरप्रमुख अशोक ब्याञ्जु, मण्डनदेउपुर नगरपालिकाका नगर प्रमुख टोक बहादुर वाइवा, रोशी गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाइवा, धुलिखेल नगरपालिकाका सामाजिक विकास अधिकृत विदुर गौतम, नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, धुलिखेल नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष गणेश आचार्य लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्याञ्जुले वैदेशिक रोजगारीबाट प्राप्त सीप, ज्ञान र पुँजीको सहि परिचालन महत्वपुर्ण रहेको बताए । विदेशमा दुःख गरेर पठाएको रेमिट्यान्सबाट मुलुक चलिरहेको उनको भनाई थियो । वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिलाई फरक दृटिकोणले हेर्न नमिल्ने पनि उनले बताए ।
देशले जम्मा साढे ९ खर्व राजश्व उठाउने गरेको भन्दै उनल वैदेशिक रोजगारबाट वार्षिक साढे १२ खर्ब रुपैयाँ प्राप्त हुने गरेको बताए । उद्योगधन्दा, व्यापारव्यवसायबाट भन्दा वैदेशिक रोजगारीबाट बढी रकम उठ्ने गरेको उनले बताए । उनले देशमै रोजगारी सिर्जना गर्नको लागि नगरपालिकाले सिप विकास तालिम, कोसेली घर स्थापना, सिलाइबुनाई तालिम, कृषिमा अनुदान लगायतका कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । नगर प्रमुख अशोक ब्याञ्जुले बैदेशिक रोजगारीमा जान खोज्ने ब्यक्तिहरुलाई सिप, भाषा तथा कानूनी विषयमा जानकारी गराउन कार्यक्रम प्रभावकारी भएको बताएका छन । यस्तै मण्डनदेउपुर नगरपालिकाका नगरप्रमुख टोक बहादुर वाइवाले वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन सामी परियोजनाले खेलेको भुमिकाको प्रसंसा गरेका छन । वैदेशिक रोजगारीमा जानुअघि, विदेशमा रहदा र फर्केपछि ध्यानदिनुपर्ने विषय सामीले सिकाएको उनको भनाई छ । उनले देशमा रोजगारीको अभाव भएपनि यसबारेमा आवश्यक ध्यान जान नसकेको बताए । नगर प्रमुख वाइवाले कुरा सुन्ने तर काम नगर्ने प्रवृति बढीरहेको पनि बताएका छन । कार्यक्रममा रोशी गाउँपालिकाका उपाध्यक्ष मिम बहादुर वाइवाले रोजगारीका लागि विदेशीनुपर्ने बाध्यात्मक अवस्था रहेको भन्दै देशमै रोजगारी सिर्जना गर्न तीन तहकै सरकारको सहकार्यमा जोड दिएका छन । कार्यक्रममा दीगो विकासका लागि नागरिक मञ्च सिभिक फोरमका प्रमुख कार्यकारी निर्देशक वसन्त कुँवरले जिल्लाको वर्तमान अवस्था, अवसर र चुनौतीका बारेमा जानकारी गराएका थिए । प्रमुख कार्यकारी अधिकृत कुँवरले जिल्लाबाट बैदेशिक रोजगारमा जान चाहनेहरुका लागि जिल्ला प्रशासन कार्यालयबाट परामर्श तथा मनोपरार्मश समेत संचालन गरिरहेको बताउँदै बैदेशिक रोजगारमा गएर अलपत्र परेकाहरुको उद्धार र ठगीमा परेकाहरुलाई कानूनी उपचारका लागि सहजीकरण गरिरहेको बताएका छन ।

काभ्रेपलाञ्चोक जिल्लाबाट अघिल्लो आर्थिक वर्षमा ११ हजार ९ सय ४८ जना बैदेशिक रोजगारमा गएको तथ्यांक छ । जसमध्ये महिला २ हजार ९ सय ५७ जना र पुरुष ८ हजार ९ सय ९१ जना छन् ।