धुलिखेल अस्पतालमा एक सय शैयाको ट्रमा सेन्टर
– ३ अर्ब २२ करोड जापान सरकारको सहयोग
– १४ वर्ष अघिको प्रस्ताव कार्यान्वयन
समुदायलाई विश्वास गरि दातृ निकायको सहयोगमा धुलिखेल अस्पतालमा नेपालमा पहिलो पटक ट्रमा सेन्टर निर्माण हुने भएको छ । नेपाल सरकार र जापान सरकारको सहमती अनुसार ३ अर्ब २२ करोड रुपैया लागतमा एक सय शैयाको ट्रमा सेन्टर धुलिखेल अस्पतालमा निर्माण गरिन लागेको हो ।
धुलिखेलमा बन्ने ट्रमा सेन्टर निमार्णका लागि आवश्यक प्रकृयाको पाँचौ चरणको अन्तिम सम्झौता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा जापान इन्टरनेशनल को–अपरेशन एजेन्सी (जाईका) नेपालका सिनियर प्रतिनिधि इजिका केनिचिरोको रोहबरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य समन्वय महाशाखाका महाशाखा प्रमुख डा.चुमनलाल दास र धुलिखेल अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.रामकण्ठ माकजू श्रेष्ठले सयुक्त रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
त्रिपक्षीय सम्झौता कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, अस्पतालका विभागीय प्रमुखहरु, धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक कुमार व्याञ्जू श्रेष्ठ, जाईकाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । नगर प्रमुख श्रेष्ठले ट्रमा सेन्टर बनाउनु धुलिखेल अत्यन्तै उपयुक्त थलो भएको र आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । डा. रामकण्ठ माकजुले धुलिखेल अस्पतालमा ट्रमा सेन्टर बनाउन धेरै ठूलो पहल र योजना बनाए पनि सम्भव नभएको बताउँदै यति ठूलो योजनाका लागि साथ र सहयोग गर्ने जापान सरकार र नेपाल सरकार प्रति धन्यवाद ब्यक्त गरे । समुदाय स्तरमा दुई देशका सरकारले यति ठूलो योजनाको जिम्मेवारी पहिलो पटक दिएको बताउँदै स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार र समुदायको महत्वपूर्ण जिम्मेवारी रहेको बताए । नेपालमा महत्वपूर्ण योजना उपलब्ध गराउने जापान सरकारलाई डा. माकजुले धन्यवाद दिए ।
जाईकाका प्रतिनिधि केनिचिरोले २० बर्ष अघि आफ्नो साथीले काम गरेको अस्पतालमा सहयोग गर्न पाएकोमा खुशी ब्यक्त गरे । यति ठूलो परियोजनाका लागि सबैको साथ र सहयोग चाहिने उनले बताए । धुलिखेल अस्पतालका हाड जोर्नी विभागका प्रमुख डा. दीपक घिनाँञ्जुले एक सय बेडको लेभल वान ट्रमा सेन्टर धुलिखेल अस्पतालमा बन्दै गरेको बताए । नेपाल सरकारले सन् २०१० मा नै आईटी सेन्टर बनाउन लिएको १६ रोपनी जग्गामा आईटी सेन्टर नबनेर पनौतीमा बनेको बताउँदै डा. दीपकले धुलिखेल अस्पतालले ट्रमा सेन्टर बनाउने सम्झौता गरेको बताए । प्रस्तावना सन् २०१४ मा नै जाईकालाई धुलिखेल अस्पतालले पेस गरेको थियो । सन् २००९ मा यो योजना बनेको हो । योजना बनाएको १४ बर्षमा अस्पताल निर्माण शुरु हुन थालेको हो ।
धुलिखेलमा अरनिको राजमार्गले चीनको तीब्बत जोडेको छ भने अर्को बिपी राजमार्गले भारत जोडेको छ । यो बीचमा ठूला अस्पताल कुनै पनि छैनज । यी दुबै राजमार्ग अत्यन्तै व्यस्त छन् र यी दुबै सडकमा साना ठूला धेरै दुर्घटना हुन्छन । गम्भिर उपचारका लागि घाईतेलाई काठमाडौ ल्याउनु पर्ने हुन्छ । ट्रमामा ६ घण्टालाई गोल्डेन आवर भनिन्छ । यो ६ घण्टा भित्र उपचार ग¥यो भने बाँच्ने र कम क्षति हुने सम्भावना हुन्छ । यो समय हामीले धेरै गुमाएका छौ । धेरैको ज्यान जाने र अपांँग हुने कारण बढेको छ । यो अवस्थामा एउटा ट्रमा सेन्टरको आवश्यकता दर्शाउँदै जाईका समक्ष प्रस्ताव राखियो चरण पार गरि हस्ताक्षर गरिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इजुकेटिभ एजेन्सी हो भने इम्प्लिमेन्टीङ एजेन्सी धुलिखेल अस्पताल हो ।
एक सय बेडको अस्पतालमा भौतिक संरचना, आवश्यक भवन, मेडिकल उपकरण हुन्छ । जापान सरकारले ६० प्रतिशत भवनमा ४० प्रतिशत सबै प्रकारका मेडिकल उपकरणका लागि सपोर्ट गर्छ । सन् २०२४ को अक्टुबरमा सिलान्यास भएर सन् २०२६ को फेब्रुअरी २ मा २ बर्ष भित्र हस्तान्तरण गर्ने कार्यक्रम रहेकोछ । ट्रमा सेन्टरको नक्सा, डिजाईन, वातावरण प्रदुषणको मापदण्ड लगायतका धैरे काम भैसकेको छ । ६० बर्षको लागि परिकल्पना गरेर योजना ल्याएको छ । योजना अनुरुपनै ठेकेदार छनोट गरिसकेको छ । अस्पतालको डिजाईनमा बिरामी ल्याउने एम्बुलेन्स कहाँ रोक्ने, शल्यक्रिया कक्षमा छिटो भन्दा छिटो कसरी पु¥याउने, कहाँ राख्ने सबै योजना गरि डिजाईन गरेको चार बर्ष भै सक्यो । घाम कता लाग्छ, कता बिरामी राख्ने भन्ने सम्म स्पष्ट छ । उक्त सेन्टरमा पार्किङ, आईसियू, ३ वटा अप्रेशन थिएटर, एचडियू, ल्याब, फार्मेसि, वेस्ट मेनेजमेन्ट सबै सामेल गरेको ठूलो परियोजना भएको डा.दीपकले बताए ।
सम्झौता पत्र एक आपसमा आदानप्रदान गर्दै डा.चुमनलालले तोकिएको समयमै काम सक्नु चुनौतिपूर्ण भए पनि समयमै काम सक्ने प्रतिवद्धता व्यक्त गरे । विगतमा त्रिवि शिक्षण अस्पताल निमार्णमा जापान सरकारले गरेको सहयोगको मुक्त कण्ठले प्रशसा गर्दै आगामी दिनमा पनि नेपाल सरकार जापान सरकार समक्ष यस्तै साथ र सहयोगको अपेक्षा सहित सहकार्य गर्न तयार रहेको बताए ।