अब हुलाकी राजमार्गकेन्द्रित यात्राको तयारीमा एमाले

नेकपा एमालेले मध्यपहाडी राजमार्ग केन्द्रित अभियानपछि अब हुलाकी राजमार्ग केन्द्रित यात्रा गर्ने तयारी गरेको छ ।
एमाले महासचिव शंकर पोखरेलले मध्यपहाडी यात्रा अभूतपूर्व रुपमा सफल भएको र यसबाट आफूहरु उत्साहित भएको भन्दै अब पार्टीले हुलाकी राजमार्ग केन्द्रित यात्रा गर्ने निर्णय गर्ने उनले बताए ।
तर हुलाकी राजमार्ग केन्द्रित यात्रा सुरु हुने मिति भने उनले बताएका छैनन् । आज विराटनगरमा पत्रकारसँग कुरा गर्दै उनले चाँडै नै यात्राबारे निर्णय लिइने बताए । नेकपा एमालेले गत मंसिर १४ गतेदेखि पुस ३ गतेसम्म बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी राजमार्ग केन्द्रित अभियान चलाएको थियो । एमालेले पुस ५ गते काठमाडौंमा बैठक बसेर उक्त अभियानको समीक्षा गर्दै छ । एमाले महासचिव पोखरेलले झुलाघाट–चिवाभञ्ज्याङ यात्रा सफल भएको बताए ।
यात्राका क्रममा नेकपा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति अभूतपूर्व क्रेज देखिएको जिकीर गर्दै उनले यात्राको जति चर्चा भयो, त्यसभन्दा धेरै प्रभाव देखिएको बताए । मध्यपहाडी लोकमार्ग केन्द्रित यात्रालाई पहिचानको नाममा अवरोध गर्ने प्रयास भए पनि जनतामा पहिचानको मुद्दाको खासै प्रभाव नदेखिएको पोखरेलले बताए । कोशी प्रदेश नामप्रति एमाले प्रतिबद्ध रहेको भन्दै उनले जनतामा गइसकेको एजेन्डा एमालेले नछाड्ने बताए ।
महासचिव पोखरेलले पहिचानको मुद्दा उठाउनेलाई व्यवस्थित रुपमा आफ्ना मुद्दालाई जनतामा लैजान आग्रह गरे । पहिचानको मुद्दा समाधान गर्ने एमाले नै भएको बताउँदै उनले जनताबाट अस्विकृत भएको एजेन्डा नबोक्न पनि आग्रह गरे । पहिचान पक्षधरले एमालेले यात्राका क्रममा स्वागत गरेर आफ्ना एजेन्डा राख्नुको साटो विरोध गरेर जनतासँगको दुरी बढाएको उनको भनाइ छ । पहिचान पक्षधरले एमालेको अभियानलाई अवरोध गर्न खोज्दा गोपाल किराँतलगायतलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।