सरस्वती क्याम्पसमा खेलकुद सप्ताह ६५ औ बार्षिकोत्सवमा राष्ट्रपति सहभागी हुने

काठमाडौ/सरस्वती बहुमुखी क्याम्पसको ६५ औं वार्षिकोत्सवका अवसरमा खेलकुद सप्ताह शुरु भएको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आयोजनामा खेलकुद सप्ताह शुरु भएको हो । पुष ९ गते सम्म सञ्चालन हुने खेलकुद सप्ताहमा भलिबल, फुटसल, क्रिकेट, बास्केटबल, ब्याडमिण्टन, टेबलटेनिस, छेलो, डोरी तान्ने, चेस र हाजिरीजवाफ खेलमा विद्यार्थीहरु सहभागीभएको स्ववियु सचिव राजेशबाबु बगालेले बताए ।

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा क्याम्पसको ६५ औ वार्षिकोत्सव पौष १० गते हुँदैछ । क्याम्पस प्रमुख डा. गोलमान गुरुङका अनुसार राष्ट्रपति पौडेलले क्याम्पसको पहिलो ब्याचका रुपमा मानविकीतर्फ स्नातक उत्तीर्ण गरेका थिए । २०१६ सालमा स्थापना भएको क्याम्पस त्रिभुवन विश्वविद्यलयको संस्थापक आङ्गिक क्याम्पस हो ।

क्याम्पसमा स्नातक र स्नातकोत्तर तहका विभिन्न कार्यक्रमहरुमा ८ हजार भन्दा बढी छात्रछात्राहरु नियमित अध्ययनरत छन् । व्यवस्थापनतर्फ स्नातकोत्तर तहमा एम्बीएम् र एम्बीएस्, स्नातक तहमा बीबीए, बीबीएम्, बीबीएस् र बीएच्एम् तथा मानविकीतर्फ स्नातकोत्तर तहमा अङ्ग्रेजी, नेपाली, ग्रामीण विकास, समाजशास्त्र र अर्थशास्त्र, स्नातक तहमा अङ्ग्रेजी, अर्थशास्त्र, गणित, इतिहास, ग्रामीण विकास, नेपाली, राजनीतिशास्त्र, समाजशास्त्र, आमसञ्चार, मनोविज्ञान, भुगोल, बीसीए, बीएस्डब्लू समेतकाविषयहरु दक्ष प्राध्यापकहरुबाट प्राध्यापन हुने गरेको क्याम्पस प्रमुख गुरुङले बताए ।