मानवअधिकार वर्ष पुस्तक २०२४ को पूर्व समीक्षा

काभ्रे/ पनौती नगरपालिका उपप्रमुख गिता बन्जाराले नेपालमा मानवअधिकार वर्ष पुस्तकले अभिलेखिकरण सँगसंगै सचेतनाको विषयमा पनि उल्लेख्य योगदान पु¥याएको बताउँदै मानवअधिकार वर्ष पुस्तकमा हिंसाका घटनालाई पालिकापिच्छे विश्लेषणसहित प्रस्तुत गर्न सुझाएकी छिन् । अनौंपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० बागमती प्रदेश कार्यालय मकवानपुरको आयोजनामा ०८० पुस ४ गते काभ्रेपलाञ्चोकस्थित बनेपामा आयोजित मानवअधिकार वर्ष पुस्तक २०२४ को पूर्व समीक्षा कार्यक्रममा उनले उक्त कुरा बताएकी हुन् । उपप्रमुख बन्जाराले नागरिक, राजनीतिक विषयलाई मात्र जोड नदिएर आर्थिक, सामाजिक र सांकृतिक सवालहरुमा पनि ध्यान दिन अनुरोध गर्दै मानसिक स्वास्थ्यको विषयमा ध्यान दिन सुझाव दिइन ।
कार्यक्रममा बरिष्ठ मानवअधिकारकर्मी भोजराज तिमल्सिनाले काभ्रेपलाञ्चोक जिल्लाको मानवअधिकार अवस्थाका विषयमा जानकारी दिएका थिए ।
जिल्ला प्रहरी कार्यालय महिला सेलकी राजकुमारी श्रेष्ठले कतिपय घटना अन्जानमा भइरहेको बताउँदै प्रहरी एक्लैले केही गर्न नसक्ने बताउँदै स्थानीय सरकार, सामाजिक कार्यकर्ता र संघसंस्थाले समेत अपराध न्यूनिकरणमा ध्यान दिन सुझाइन । उनले बालवालिका पीडित भएको स्थानमा संघसंस्थासँग मिलेर प्रायः विद्यालयमा गएर सचेतनाका कार्यक्रम संचालन गरेको उल्लेख गरिन ।
अधिवक्ता जमुना पसछेंले अदालतमा सम्वन्ध विच्छेदका मुद्दा बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै कम उमेरका बालिकाहरु पीडित हुने घटनामा बालविवाह भन्दा जर्वजस्ती करणी अपराधमा सजाय बढी हुने भएकाले पीडितहरु त्यस्ता मुद्दा दर्ता गर्न उत्साहित हुने गरेको बताइन ।
पत्रकार मोतिराम तिमल्सिनाले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अवधीमा जिल्लामा १२ वटा महिला हिंसाका घटना भएको बताउँदै जिल्लामा बालविवाहका घटना प्रहरी कार्यालयमा दर्ता नभएपनि विकट बस्तीहरुमा बालविवाहका घटना बढेको उल्लेख गरे । उनले प्रविधिको दुरुपयोगले हुने हिंसाका घटना बढेको र कुरा नमिलेपछि जर्वजस्ती करणी शिर्षकमा मुद्दा दर्ता हुने गरेको देखिएको बताए ।
नेपाल अपांगता महिला संस्थाकी पम्फा पुर्कोटीले अपांगता भएका महिलाहरुमा महिनामा एक दुई वटा बलात्कारका घटना आउने गरेको उल्लेख गरिन । उनले बौद्धिक अपांगताका विषयमा अदालतमा मुद्दा पर्दा दोभाषे नभएर विज्ञ ल्याउनुपर्ने कुरामा जोड दिँदै विकट बस्तीबाट आउने पीडितहरुले न्याय प्राप्तीको लडाईमा हैरानी व्यहोर्नुपरेको अनुभव सुनाइन ।

माइती नेपालकी प्रतिनिधि गायत्री गौतमले अधिकारका विषयमा पैरवी भन्दा पनि घटनाको न्यूनिकरणतिर ध्यान दिनुपर्नेमा जोड दिइन । उनले हिंसाका घटनामा सचेतनासँगै न्यूनिकरणका कार्यक्रम गर्न सुझाइन । सामाजिक कार्यकर्ता कल्पना विश्वकर्माले साइबर अपराधका घटनाबाट महिलाहरु पीडित बन्दै गएको भनी चिन्ता जाहेर गरिन ।
कार्यक्रममा विभिन्न क्षेत्रका अगुवा, द्धन्द्धपीडित, पत्रकार, मानवअधिकारकर्मीलगायतको उपस्थिती थियो । मानवअधिकार शिक्षा तथा सूचना केन्द्रका सचिव राजकुमार पराजुलीको अध्यक्षतामा भएको समीक्षा कार्यक्रमको संचालन इन्सेक जिल्ला प्रतिनिधि सुमित्रा आचार्यले संचालन गरेकी थिइन ।