पनौतीका कृष्ण तामाङको कुवेतमा मृत्यु

कुवेतमा एकजना नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेको पनौती नगरपालिका- २, गुर्दुमडाँडाका कृष्ण तामाङ रहेका छन् । रोजगारीका लागि तीन महिनाअघि कुवेत गएका तामाङको यही पुस १ गते राति सुतेकै अवस्थामा मृत्यु भएको हो ।
आर्थिक अवस्था निकै कमजोर भएका तामाङको शव नेपाल ल्याउन समस्या परेको छ । मृतक तामाङको परिवारले खर्च गरेर शव ल्याउन सक्ने स्थिति नभएकोले सहयोगका लागि सबैसँग अनुरोध गरिएको पनौती नगरपालिका- २ का वडाध्यक्ष पुरुषोत्तम अधिकारीले बताए ।
‘कृष्ण तामाङको परिवारको आर्थिक अवस्था नाजुक छ। खर्च गरेर शव ल्याउन सक्ने अवस्था छैन। त्यसैले शव ल्याउनका लागि पहल गरिदिन विभिन्न निकायलाई अनुरोध गरेका छौं,’ वडाध्यक्ष अधिकारीले भने । शव ल्याउन तथा उनले पाउनु पर्ने इन्स्युरेन्स लगायतका सुविधा दिलाउने पहलका लागि वैदेशिक रोजगार उद्धार संघलाई समेत अनुरोध गरिएको वडा सदस्य रमेश बजगाईले जानकारी दिए ।
डीएचआर नेपाल नामक म्यानपावर कम्पनीबाट कुवेत गएका तामाङले फर्स्ट ग्रुप जनरल ट्रेडिङ कन्स्ट्रक्टिङ कम्पनीमा काम गर्ने गरेको बिजय मगरले बताए । मृतक तामाङको १२ वर्ष र २ वर्षका छोराहरु र श्रीमती रहेका छन् ।