सम्झौता सकिएको १७ महिना वितिसक्दा पनि बनेन महाभारतको गौरवको आयोजना ‘पक्कि सडक’
– ४१ महिनामा पनि भएन ८ किमी सडक कालोपत्रे
मोतीराम तिमल्सिना
बनखु, महाभारत
निर्माण ब्यवसायीको लार्पवाहिका कारण महाभारत गाउँपालिकाको तिनखुट्टे–देवीटार सडक खण्डको ८.७ किलोमिटर खण्ड कालोपत्रे गर्ने कार्य सम्झौता अवधी सकिएको १७ महिनासम्म सम्पन्न हुन सकेको छैन । निर्माण ब्यवसायीले राजनीतिक पहुँचका आधारमा उक्त सडक निर्माणका क्रममा चरम लार्पवाहि, ढिलासुस्ति र नागरिकहरु प्रति बेईमानी गरेको स्थानीयहरुले बताएका छन् ।
निर्माण ब्यवसायीको लार्पवाहिकै कारण वर्षातको समयमा ८ महिनासम्म उक्त सडक अवरुद्ध रहन पुग्यो । २०७९ असार मसान्तसम्म अवधी रहेको निर्माण कम्पनीले अवधी सकिएको १७ महिनासम्म कार्य सम्पन्न नगर्दा नागरिकहरुले दुख ब्यहोर्नु परेको स्थानीयले बताएका छन् । ‘हामीले पटक–पटक निर्माण ब्यवसायी, जिल्ला प्रशासन, सडक हेर्ने निकाय पूर्वाधार कार्यालयलाई मौखिक र लिखित जानकारी गरायौं’–महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले भने –‘पटक पटकको अनुरोध र ताकेता निरर्थक भएको छ । सडक फराकिलो बनाउँदै कालोपत्रे सम्म गर्ने जिम्मेवारी प्राप्त गरेको श्रेष्ठ सक्षम जेभी कम्पनीको आलटालका कारण सडक निर्माण समयमै सम्पन्न हुन सकेन । जसका कारण वर्षातको समयमा ८ महिनासम्म सडक अवरुद्ध हुन पुग्यो ।’ गाउँपालिकाले श्रेष्ठ सक्षम जेभी कम्पनीलाई पटक पटक सडक निर्माण कार्य समयमै सम्पन्न गरी नागरिकहरुको असहजतालाई सहज गरिदिन अनुरोध गरेको थियो । उक्त कम्पनीका प्रोपाईटर डम्बर खड्का हुन् । उनी नेपाली काँग्रेसका २०७९ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा तत्कालिन संविधान सभा अध्यक्ष सुभाष नेम्वाङसँग प्रतिस्पर्धा गरेका थिए । थोरै मतले पराजित भए पनि उनी त्यहि पहुँचका आधारमा आफुले प्राप्त गरेको ठेक्कामा अलमल गरिरहेका छन् ।
डाँडापारीका नागरिकहरुको सवारी साधन चढेर गन्तब्य पुग्ने सपना निर्माण ब्यवसायीको ढिलासुस्तिका कारण तुषारापात हुन थालेको छ । २०७७ असोज २० गते भब्य तामझामका साथ बागमती प्रदेशका मन्त्री रामेश्वर फुँयालले तिनखुट्टेमा शुभारम्भ गरेको मंगलबाटर–चारकिल्ला–तिनखुट्टे–बनखु सडक अझै निर्माण कार्य नसकिएको हो । सडक सम्पर्क नै नभएर विकट मानिदै आएको महाभारत गाउँपालिकाको तिनखुट्टे देवीटार सडक खण्डको ८.७ किलोमिटर सडक कालोपत्रे गर्ने गरी ४९ करोड रकम विनियोजन भएको थियो । ४९ करोड मध्ये २५ करोड ८२ लाख १० हजार ३ सय १६ रुपैयाँमा २०७९ असार ३० गते भित्र सम्पन्न गर्ने गरी २०७७ असार ३० गते सम्झौता गरिएको थियो । सोहि सडकको शिल्यान्यास २०७७ असोज २० गरिएको थियो । महाभारत गाउँपालिकाले विकटतालाई सुगमतामा परिणत गर्न सडक सञ्जालको प्रमुख योजनाका लागि बागमती प्रदेश सरकारसँग पटक पटक अनुरोध गरेको थियो ।
बागमती प्रदेश सरकारले रोशी गाउँपालिकाको पिगंथली रजवास हुँदै महाभारत गाउँपालिकाको बुढाखानी चारकिल्ला तिनखुट्टे देवीटार घर्तिछाप गोकुले सडक निर्माणका लागि बहुबर्षिय योजनामा समावेश गर्ने गरी ५० करोड रकम विनियोजन गरेको थियो । उक्त रकमबाट आवश्यक इस्टमेट अनुसार बोलपत्र आब्हान भए सँगै निर्माण कम्पनीले ३७ प्रतिशत कम रकममा ठेक्का सम्झौता गरेको थियो । कन्टिजेन्सी समेत ४० करोड रकम महाभारत गाउँपालिकाको तिनखुट्टे देवीटार सडक खण्डका लागि खर्च हुने छ । ‘महाभारतका नागरिकहरुको सडक सञ्जाल जोड्ने र नियमित रुपमा आवतजावत गर्ने सपना पुरा हुने भएको छ’–गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले भन्नुभयो–‘पक्की सडक निर्माण भए पछि महाभारत क्षेत्रको विकास र समृद्धि हासिलमा थप मद्दत पुग्नेछ ।’ तर निर्माण ब्यवसायीले समयमै कार्य सम्पन्न नगर्दा ब्यहोर्नु परेको हैरानीबाट महाभारतबासीहरुको सपनामा तुषारापत हुने अध्यक्ष जिम्बाले बताए ।
तिनखुट्टे देबीटार सडक खण्डमा सडक स्तरोन्नती अन्र्तगत नाली निर्माण, रिटेनिङ्ग वाल, ग्याबिङ्ग वाल, कजवे, कल्भर्ट लगायतका संरचना सँगै ३० एमएमको कालोपत्रे गरिनेछ । पार्वती, खानी र बनखु खोलामा दुईवटा पक्कि पुल निर्माणको कार्य शुरु भए पनि सम्पन्न हुन सकेका छैनन । महाभारत पुग्ने पिन्थली रजवास तिनखुट्टे देविटार घर्तिछाप गोकुले सडक आयोजनाको बाँकी सडक कालोपत्रे गर्न, सिपाली बुढाखानी बनखु सडकको स्तरोन्नतीका लागि बजेट ब्यवस्था गर्न, ताराखसे रज्जेडँडा गोकुले सडक आयोजना, राङचा वनखु घर्तिछाप गोकुले ताल्ढुंङ्गा मिल्चे सडक स्तरोन्नती गर्न, पार्वतीखोला, खानीखोला र तिनखुट्टै खोला पुल निर्माण गर्न र बनखुखोला पुल, देविटारमा पुल निर्माणको लागि बजेट ब्यवस्थापन गरिएको अध्यक्ष जिम्बाले बताए । तत्कालिन भौतिक पुर्वाधार मन्त्री रामेश्वर फुँयाललाई गाउँपालिकाको तर्फबाट उक्त मागपत्र समेत लिखित रुपमा अध्यक्ष जिम्बाले पेश गरेका थिए । म्याद सकिँदासम्म उक्त आयोजनमा ५० प्रतिशत पनि कार्य भएको छैन ।