सहरको योजनाबद्ध विकासलाई केन्द्रमा राखेर स्मार्टसिटी निर्माण गर्नुपर्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहरको योजनाबद्ध विकासलाई केन्द्रमा राखेर स्मार्टसिटी निर्माण गर्नुपर्ने बताएका छन् । बिहीबार सिंहदरबारमा आयोजित सहरी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको स्मार्ट सिटी निर्माणसम्बन्धी छलफलमा उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले काठमाडौंभित्र व्यवस्थित नमुना सहर बनाउने विषयमा आफू प्रष्ट रहेको बताउँदै भने, ‘मेरो दोस्रो कार्यकालमा काठमाडौंमा स्मार्टसिटीको अवधारणा अगाडि सारिएको थियो । यसले हरेक प्रदेशमा एक स्मार्टसिटी बन्छ भन्ने हाम्रो सोच थियो । त्यसलाई हामीले स्मार्टसिटीको नाम दिएका छौं । यो दीर्घकालीन रणनीति हो ।’
प्रधानमन्त्री प्रचण्डले ७५३ वटै स्थानीय तहमा सुविधासम्पन्न प्रशासनिक भवन बनाउने जिम्मेवारी संघीय सरकारको भएको उल्लेख गरे । उनले भने, ‘हाम्रो विकास भौगोलिक बनोटअनुसार हुनुपर्छ भनेर मैले भन्दै आएको छु । हामीले पूर्वपश्चिम र उत्तर–दक्षिण दुवैतर्फ जोड्ने विकासलाई ध्यान दिनुपर्नेछ ।’
आफू पहिलोपटक प्रधानमन्त्री हुँदा मध्यपहाडी लोकमार्ग सुरु भएको बताउँदै हुलाकी राजमार्ग पनि आफ्नै कार्यकालमा सुरु भएको बताए ।
उनले वन र वातावरणको क्षेत्रमा धेरै नीतिगत र कानुनी सुधार जरूरी रहेको बताउँदै ०२९ सालको ऐनले अहिलेको वस्तुगत अवस्थिति सम्बोधन नगर्ने बताए । ‘हिजो ऐन बनाउँदा मानव बस्ती नभएका ठाउँ सहरीकरण भइसकेका छन्,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘वन र विकास एकअर्काका विरोधीजस्तो भाष्य बन्दै गएको छ । वनको कुरा गर्दा मान्छेको हितलाई पहिलो प्राथमिकता दिउँ । विकास निर्माणमा हामी परिणामभन्दा प्रक्रियाको झमेलामा फसेका छौँ । यो परिस्थिति तोड्नुपर्छ ।’
छलफलमा सहरी विकासमन्त्री सीता गुरूङले आयोजनाको संख्या र बजेटको सीमितताका बीच काम गर्नुपर्ने अवस्था रहेको बताउँदै यवस्थित सहर बनाउने परियोजनालाई पनि राष्ट्रिय गौरवका आयोजनामा समावेश गरेर काम अगाडि बढाउनुपर्ने धारणा राखिन् । उनले एक वर्षको अवधिमा निजी आवास निर्माणतर्फ मन्त्रालयले राम्रो प्रगति गरेको बताइन् ।
त्यस्तै, वन तथा वातावरणमन्त्री वीरेन्द्र महतोले रूख कटानको कानुनी प्रक्रिया लामो हुँदा विकास आयोजनाको काम प्रभावित भएको र काठ निर्यातको भन्सार नीति वैज्ञानिक नभएको बताए । उनले त्यस्ता समस्याहरूलाई समाधान गर्नेमा आफू केन्द्रीत रहेको बताए ।