लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानमा काभ्रेमा १२ हिंसात्मक घटना

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहँदा जिल्लामा महिला र बालबालिका सम्बन्धी १२ घटना घटेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार ६ वटा घरेलु हिंसाका घटना घटेका छन् । ६ जनाले श्रीमानबाट पीडित भएको भन्दै उजुरी दिएका छन । यस्तै जर्बजस्ती करणीबाट ३ जना पीडित भएका छन भने ३ जनाले आत्महत्या गरेका छन । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मंसिर ९ गतेदेखी मंसिर २४ गतेसम्म सञ्चालन भएको थियो । अभियान सञ्चालन भएकै भोलिपल्ट मंसिर १० गते १६ वर्षीया बालिकालाई जबरजस्ती करणी भएको छ । यस्तै मंसिर १४ गते २६ वर्षीया महिला र मंसिर १९ गते २२ वर्षीया महिलामाथी जबरजस्ती करणी भएको भन्दै उजुरी आएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । यस्तै यहि अवधिमा ३ वटा आत्महत्याका घटना घटेका छन । मंसिर १३ गते २९ वर्षीया महिला, मंसिर २४ गते ५२ र ५५ वर्षीय महिलाले आत्महत्या गरेका छन ।
लैंगिक हिंसा अन्त्यका लागि भन्दै हरेक वर्ष लैंगिक हिंसा विरुद्धको दिवस मनाउने गरिएको छ । तर लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहँदा जिल्लामा १२ घटना घटेका छन । यो तथ्यांकले लैंगिक हिंसा विरुद्धका अभियान प्रभावकारी हुन नसकेको स्पष्ट पारेको छ ।
संयुक्त राष्ट्रसंघको महासभाले प्रत्येक वर्ष नोभेम्बर २५ तारिखलाई महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको रूपमा विश्वभर मनाउने निर्णय गरेबमोजिम नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान सन्चालन हुँदै आएको छ । सोहि अभियान अन्तर्गत काभ्रेमा पनि विविध विभिन्न सरकारी, गैरसरकारी निकाय तथा विभिन्न संघ संस्थाले सचेतनामुलक कार्यक्रम सहित अभियान सञ्चालन गरेका थिए ।