ढुंखर्कमा ‘पाटनेखोला साँघुको मुख पुल’को शिलान्यास

बेथान्चोक गाउँपालिका वडा नम्वर २ स्थित पाटनेखोला साँघुको मुख ढुंखर्क पुलको शहरी विकास मन्त्री सिता गुरुङ्गले शिल्यान्यास गरेकी छन् । पुलसँगै वडा नम्वर २ र ३ मा शुरु गरिएको बस्ति विकास कार्यक्रम अन्र्तगतको नयाँबस्ती दुर्लुङखोला सडक स्तरोन्नती कार्यको पनि शुरु गरिएको छ ।
पुलको शिल्यान्यास पछि आयोजित कार्यक्रममा बोल्दै मन्त्री गुरुङ्गले ढुंखर्क–च्याम्ब्राङ्गबेशी–सुकुमफेदी–सालघारी–हुचिटार–अँघेरी–झुरझुरेसम्मको सडकलाई सहायक राजमार्गका रुपमा प्रस्तावित गरिएको बताईन् । बेथान्चोकको पाट्नेखोला साँघुको मुख ढुंखर्क पुल निर्माणको शिल्यान्यास गर्दै मन्त्री गुरुङ्गले प्रदेशको राजधानी जोड्ने उक्त सडकलाई बैकल्पिक राजमार्गका रुपमा मन्त्रालयले प्रस्ताव गरेको उनले बताईन् । ‘अरनिको राजमार्ग देखि मदन भण्डारी राजमार्ग जोड्ने सडक बनेपा–पनौती–बेथान्चोक हुँदै मकवानपुरको झुरझुरे जोड्ने सडक प्रस्तावित बैकल्पिक राजमार्गका रुपमा राख्ने निर्णय भएको छ’–मन्त्री गुरुङ्गले भनिन–‘स्थानीय तहका जनप्रतिनिधि, प्रदेश र संघ सरकारका प्रतिनिधिहरुले उक्त मार्ग प्रदेश राजधानी जान सहज हुने भएकाले तत्काल निर्णय गरी कार्य अघि बढाउन निर्देशन दिए अनुसार मन्त्रालय र विभागले निर्णय गरेको छ ।’
गाउँपालिका अध्यक्ष भगवान अधिकारीले बेथान्चोकलाई शिक्षा, सडक, पुल, सिंचाई, पर्यटन, कृषि तथा पशुपालनबाट समृद्ध बनाउने अभियानमा सक्रिय रहेको बताए । सडक निर्माण कार्यको प्रारम्भ भएसँगै बेथान्चोकलाई दुई मार्गको मुख्य खण्डको निर्माणले नागरिकहरुलाई थप सहज र सरल यात्राका लागि बैकल्पिक मार्ग महत्वपूर्ण हुने बताए । बेथान्चोकबाट उक्त स्थानसम्म सडकको एकहोरो ट्रयाक खोलिसकिएको बेथान्चोक गाउँपालिकाका निर्वतमान अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले बताए । उक्त खण्डको लम्बाई ३८ किमी छ । बामगती खोलामा पुल बनाउँदा सडक प्रदेश राजधानी पुग्न सहज हुने उनले बताए । प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादे, गाउँपालिका अध्यक्ष भगवान अधिकारी, निर्वतमान अध्यक्ष प्रेमबहादुर तिमल्सिना, उपाध्यक्ष तारा राना तिमल्सिना, वडा अध्यक्ष पुरुषोतम तिमल्सिनाले उक्त सडक र पुलको निर्माणले प्रदेश राजधानीसँग जोडिने मार्ग सहज हुने बताए । सोहि अवसरमा बस्ति विकास कार्यक्रम अन्र्तगत वडा नम्वर २ र ३ को प्रस्तावित कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

पुल निर्मासँगै प्रस्तावित सहायक राजमार्ग बेथान्चोक गाउँपालिकाको ढुंखर्क–च्याम्ब्राङ्गबेशी–सुकुमफेदी–सालघारी–हुचिटार–अँघेरी–झुरझुरेसम्मको सडक निर्माणले गति लिएको छ । चालु वर्षका लागि उक्त सडक निर्माणमा विभिन्न शिर्षकमा २ करोड ७५ लाख रकम विनियोजन भएको छ । पुल निर्माणसँगै उक्त सडक खण्ड निर्माण कार्यले गति लिएको हो । उक्त खोलामा बन्ने पुल २० मिटर लामो हुनेछ । भ्याटसहित ४ करोड ५६ लाख ६४ हजार १ सय ३२ रुपैयाँको लागतमा उत्त पुल निर्माण हुनेछ । सडक डिभिजन कार्यालय भक्तपुर मार्फत २०८० कार्तिक २३ गते सम्झौता भएको आयोजना २०८१ कार्तिक २२ गते सम्पन्न हुने गरी खम्पाचे–गोल्मादेवी इञ्जिनियरिङ जेभीले ठेक्का लिएको छ । आर.सि.सि.पुल निर्माणका अलावा ग्याबिन वाल र पहुँच मार्गको काम सँगै हुनेछ ।