खानीखोलामा नक्कली नोट प्रकरणः वडा सदस्यले भने – ‘नक्कली नोट पुर्व वडा अध्यक्षलाई बुझाएँ’ (अडियो)

खानीखोला,काभ्रे÷स्थानीय जात्रामा नक्कली नोटको कारोवार भएको समाचार बाहिरिएसँगै राजनीतिक संरक्षण र स्थानीयहरुलाई धम्कि दिन थालिएको छ । ‘जे भएको त्यो नभन्नु, सत्य कुरा भने देखि तिमिहरु समेत जेल जानु पर्छ’–अनुसन्धानमा खटिएका एक प्रहरीले भने–‘पीडितहरु कसैको दबाबमा परे जस्तो देखियो । तर नक्कली नोटको कारोवार भएको पुष्टी भयो ।’
नक्कली नोटको गिरोह र कारोवार भएको सूचनासँगै प्रहरीले अनुसन्धान शुरु गरेको छ । मदानी विटले प्राप्त गरेको अडियोमा नक्कली नोटको कारोवारमा संलग्न भएका खानीखोला वडा नम्वर ७ का वडा सदस्य सुरेश पुलामीले वितरण गरिएका मध्ये केहि नोटहरु आफुले समेत संकलन गरी पुर्व वडा अध्यक्ष क्षेत्रमान घ्यावालाई बुझाएको बताएका छन् । सुरेश पुलामी खानीखोला गाउँपालिकाका न्यायिक समिति सदस्य समेत छन् । अडियोमा सुरेशले भनेका छन् – ‘संकलित नक्कली नोट क्षेत्र सरलाई पठाई दिएँ ।’ ब्यक्तिगत रिसईवी भएका कारण त्यस्तो भएको जस्तो लाग्छ । मिल्चे जात्रामा पनि नक्कली नोट बाँड्न कोहि गएको छैन । वडामा तीनवटा पैसा निस्किएको थियो । उठाएको पैसा समेत गरेर मसँग ५ वटा थियो । छिन्ताङ दाईले म हेर्नु प¥यो भने । मैले कसैलाई पठाई दिन्छु भनेको थिएँ । गल्ति गर्ने ब्यक्तिलाई सजायँ दिनु पर्छ । को को संलग्न छन् मलाई सबै थाहा छ । म पनि अन्यायमा छु । म आफै पनि खोज्छु ।’

अडियो

 नक्कली नोटको कारोवार गर्ने मध्येका पुर्व वडा अध्यक्ष समेत रहेका खानिखोला ७ का क्षेत्रमान घ्यावा, उनको सालो सोहि वडाका सन्तलाल सिंतान, वडा सदस्य सुरेश पुलामी र वडा नम्वर ४ का मिलन जिम्बाको पहिचान भएको स्थानीयहरुले बताएका छन् । पहिचान खुलेसँगै राजनीतिक रुपमा संरक्षण गर्न तथा गाउँका कुरा गाउँमै बसेर मिलाउन वडा अध्यक्ष रामबहादुर मोक्तान सहितलाई हारगुहार गरिएको छ । खानीखोला गाउँपालिका वडा नम्बर ७ मा २०८० मंसिर २४ गते भएको धार्मिक तथा सांस्कृतिक कार्यक्रम तथा स्थानीय परम्परा अनुसार लाग्ने पशुपति जात्रा मेलामा सन्चालन भएका चिया पसल, किराना पसल, तथा खुद्रा व्यापार व्यवसाय गरी स्थानीय उत्पादनबाट जीविका चलाउने आशा बोकेर स्थानीय किसानहरूले गरेको कारोबारमा नक्कली नोटको कारोवार भएको थियो । नक्कली नोटको कारोवार भएसँगै स्थानीयले ब्यक्तिको पहिचान गरे पछि दोब्बर रकम फिर्ता दिईएको थियो । रकम फिर्ता दिनेमा क्षेत्रमान घ्यावा, सुरेश पुलामी लगायत छन् ।
पुर्व वडा अध्यक्ष घ्यावाले नक्कली नोट लिएर के गरे ? अझै भनेका छैनन । बरु सामाजिक संजालमा आरोप प्रत्यारोपमा उत्रिएका छन् । उनै घ्यावा सहितका ब्यक्तिहरुले स्थानीयहरुलाई भिडाईएको नक्कली नोटहरु संकलन गरेर दोब्बर भुक्तानी गरेका छन् ।