कांग्रेस बागमती प्रदेश सम्मेलन आज, सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने
प्रदेशहरूको पहिलो सम्मेलनमा केन्द्रित रहेको कांग्रेसले आज काठमाडौंमा बागमती प्रदेशको पहिलो सम्मेलन गर्दै छ । सम्मेलनको पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने गर्ने कार्यक्रम छ । सम्मेलनमा बागमती प्रदेशका १३ जिल्लाका ६६ संघीय निर्वाचन क्षेत्रका ७८२ जना प्रदेश प्रतिनिधि, बागमती प्रदेशका संघीय सांसद, प्रदेशसभा सदस्य, क्षेत्रीय सभापति सहभागी हुनेछन् । त्यसैगरी नगरपालिका÷गाउँपालिकामा निर्वाचित प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष तथा बागमती प्रदेशका एक सय १९ पालिकाका सभापति सहभागी हुने छन् । बागमती कांग्रेसका प्रवक्ता तिलकप्रसाद रुवालीका अनुसार सम्मेलन सुकेधारास्थित नवदुर्गा पार्टी भेन्युमा हुनेछ ।
सम्मेलनमा प्रदेश र स्थानीय तहलाई अधिकारसम्पन्न र थप जवाफदेही बनाउने विषयमा छलफल हुने प्रवक्ता रुवालीले जानकारी दिए ।
साथै, कांगे्रसको आन्तरिक निर्वाचन प्रणाली र राज्यको निर्वाचन प्रणालीलाई चुस्त र थप समावेशी बनाउने विषय सम्मेलनको एजेन्डा रहेको उनले जानकारी दिए । सम्मेलनमा छलफलका लागि राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन प्रदेश कार्यसमिति बैठकबाट पारित भएको छ । सम्मेलमा इतर समूहका नेता शेखर कोेइरालालाई दोस्रो वरीयता नदिएको भन्दै इतर समूहले भने विरोधको तयारी गरेको छ । यसअघि बिहीबार मधेश प्रदेशको सम्मेलनमा पनि वरियताको विवाद उठेपछि कोइराला समूहले सम्मेलनको उद्घाटन सत्र नै बहिस्कार गरेको थियो । कांग्रेसका ६ प्रदेशका सम्मेलन भने भइसकेका छन् ।