जनयुद्धका कमाण्डर समेत रहेका मन्त्री दुलाल महाभारतमा,यसरी सम्झिए जनयुद्ध

विहिबार खानीखोला र महाभारत गाउँपालिकाका विभिन्न क्षेत्रमा पुगेका वागमती प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री युवराज दुलालले जनयुद्ध सम्झिएका छन । उक्त क्षेत्रमा युद्धको कमाण्ड गरेका माओवादी नेता दुलालले महाभारतको सोलाभञ्ज्याङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस क्षेत्रमा आफुले जीवन मरणको संघर्ष गरेको बताएका हुन् । २०५२ फागुन १ गतेबाट सुरु भएको १० वर्षे जनयुद्धको क्रममा महाभारतको घर्तिछापका भएको लडाँइको कमाण्डर हालका वागमती प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री दुलाल नै थिए । उनले भने, महाभारत ठुलो आधार दिएको ठाउँ, यति धेरै विश्वास जितेको ठाउँ र तपाइहरुले यति ठुलो योगदान गर्नुभएको ठाउँ हो महाभारत । महाभारत गाउँपालिकाका घर–घर, पाखा–पखेरा, वस्तीहरुमा परिवर्तनगामी आन्दोलनका क्रममा यात्रा गरिसकेको उनले स्मरण गरेका छन ।
जनयुद्धलाई स्मरण गर्दै उनले भने, मलाई एउटा ठुलो लडाइको सम्झना छ । जनयुद्धको क्रममा तत्कालिन शाही सेनासँग नार्केमा एउटा लडाँइ परेको थियो । त्यहा हामीले आंशिक रुपमा लडाँई जित्यौं । त्यहाँबाट हाम्रो आधार क्षेत्र महाभारतको घर्तिछाप, बनखु, छोटेसानमा बस्न भनेर फर्कदै गर्दा यहि घर्तिछापमा तत्कालिन शाही सेनाले हेलिकोप्टरबाट आएर बाटो छेक्यो । त्यसपछि, घर्तिछापमा हाम्रो दोहोरो भिडन्त भयो । त्यहा केहि हताहती भयो, हामीले केहि थान हतियारहरु कब्जा गर्यांै । यहाँबाट फेरि केहि अगाडी बढेर सिन्धुली पुग्यौं । सिरहाको बन्दीपुरमा करिव करिव मिति बिर्सिएँ चैत÷बैशाखको समयमा ठुलो लडाँई थियो र त्यहाँबाट फर्कने क्रममा हामी सुनकोशकिो किनारै किनार आउँदाखेरी सान्दानी भन्ने ठाउँमा पनि लडाई भएको थियो । हामी त्याहाँबाट लडाई लड्दै लड्दै फर्कियौं । ठुलो लडाँई लडेपछि आराम गर्नुपर्नेहुन्छ, फेरि अर्को तयारी गर्नुपर्ने हुन्छ । त्यो तयारी र आरामको लागि सिरहाको बन्दीपुरदेखी आफ्नो आधार क्षेत्र ठानेर हामी महाभारत आइपुगेका थियौं । महाभारत ठुलो आधार दिएको ठाउँ, यति धेरै विश्वास जितेको ठाउँ र तपाइहरुले यति ठुलो योगदान गर्नुभएको ठाउँ हो महाभारत ।
व्यवस्था परिवर्तनका लागि धेरै रगत, पसिना बगेको छ । जनताको धेरै ठुलो त्याग तपस्या छ । त्यसै रातारात व्यवस्था परिवर्तन भएको छैन । यो व्यवस्था आएको थिएन भने आज हामी यसरी सोलाभञ्ज्याङमा बसेर यति ठुला–ठुला करोडौं करोडका बाटो, पुल शिलान्यास गर्ने र महाभारतमा पक्किबाटो बनाउने कुराको सपना देख्न पनि सक्ने थिएनौं । त्यो व्यवस्थादेखी यो व्यवस्थासम्म आइपुग्दा हामीले धेरै दुःख गरेका छौं । मेहनत गरेका छौं । त्यसैले आज विकासको भागेदार तपाइहरु बन्नुभएको छ । तपाइहरुलाई म बधाई दिन चाहन्छु ।
त्यसअघि खानीखोलामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री दुलालले खानीखोला क्षेत्रपनि व्यवस्था परिवर्तनको क्रममा आहोरदोहोर गर्ने क्षेत्र भएको बताए ।
उनले भने, पनौतीको लडाँइमा घाइते भएर म कामीडाँडा–तालढुंगा हुँदै उपचार गर्नको लागि छिमेकी देशसम्म यहि बाटो हुँदै गएको थिएँ । नार्के घर्तिछापको लडाँइमा म आफैंले कमाण्ड गरेको थिँए । । मकवानपुरको वागमती गाउँपालिकाको र्झुझुरेको लडाँईमा पनि म घाइते भएको थिएँ । डाँडापारी बनखुदेखी तालढुंगासम्मको यो भुगोल त्यतिबेला छापामारहरु, जनमुक्तिसेनाहरु धेरै बस्ने क्षेत्र हो । हामीले पनि ठाउँठाउँम तालिम नै गरेका थियौं । व्यवस्था परिवर्तनका लागि जसरी हामी यहाँ बस्यौं त्यसैगरी यहाँका जनताको पनि ठुलो योगदान छ । हामी बसेको मात्रै होइन यो भुगोलले हमीलाई राखेको हो । यो भुगोलले परिवर्तनलाई सहयोग गरेको हो ।