कांग्रेसमा उपसभापति खड्का र नेता कोइरालाबीच वरीयता विवाद चर्कियो

कांग्रेसमा उपसभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालाबीच पार्टी वरीयतामा दोस्रो स्थान कसले लिने भन्ने विवाद चर्किएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको मर्यादाक्रममा सभापति शेरबहादुर देउवापछि उपसभापति खड्का छन् ।
१४ औं महाधिवेशनमा देउवासँग प्रतिस्पर्धा गरेका कोइरालाले ४० प्रतिशत मत पाएसँगै ‘वरिष्ठ’ नेता दिनुपर्ने माग संस्थापनइतर पक्षबाट उठ्दै आएको छ । उनले पार्टीमा ‘वरिष्ठ’ नेताको हैसियत पाएमा मात्रै सभापतिपछिको दोस्रो स्थानको मर्यादा पाउँछन् । अहिले उनी पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीपछिको पहिलो नम्बरमा छन् । जसअनुसार कोइरालाको स्थान मर्यादाक्रममा २५ औं नम्बरमा छ ।
कोइरालालाई वरिष्ठ नेतासहितको दोस्रो स्थान दिने कि नदिने भनेर आन्तरिक तहमा बढिरहेको विवाद अहिले प्रदेश सम्मेलनहरूमा समेत देखिन थालेको छ । संस्थापनइतर पक्षले नेतृत्व गरेको प्रदेशमा उपसभापति खड्कालाई र इतरपक्षले नेतृत्व गरेको प्रदेशमा वरिष्ठ नेताको हैसियत दिएर कोइरालालाई सभापतिपछिको विशिष्ट अतिथिमा बोलाउने गरिएको छ । सभापति देउवापछि दोस्रो वरीयता नपाउने अवस्था भएमा खड्का र कोइराला दुवैले कार्यक्रम नै बहिष्कार गर्ने गरेका छन् ।
शनिबार बागमती प्रदेशको सम्मेलन उद्घाटनमा उपसभापति खड्का र नेता कोइराला दुवै अनुपस्थित भए । प्रदेश कार्यसमितिका सदस्य जगदीशनरसिंह केसीका अनुसार बागमती प्रदेश कार्यसमितिका सभापति इन्द्र बानियाँले उपसभापति खड्कालाई सभापतिपछिको विशिष्ट अतिथिका रूपमा आमन्त्रण गरेका थिए तर खड्का सुर्खेतको कार्यक्रममा व्यस्त भएकाले साँझ समापनमा कार्यक्रममा मात्रै सहभागी भए । कोइराला भने विराटनगर पुगेका थिए । केसीले कोइरालालाई आमन्त्रणसमेत नभएको जानकारी आफूले पाएको बताए ।
जनकपुरमा बिहीबार आयोजित सम्मेलनमा पनि देउवापछिको विशिष्ट अतिथिको स्थानमा नराखिएपछि कोइराला सहभागी भएनन् । उनी त्यस दिन मधेश प्रदेशको सम्मेलन छाडेर इनरुवा पुगेका थिए ।
मधेश सम्मेलनमा कोइरालालाई वरिष्ठ नेता नभई केन्द्रीय सदस्यको हैसियतमा मात्रै आमन्त्रण गरिएपछि उनी निकट स्थानीय नेताहरूले प्रदेश कार्यसमितिमा ‘नोट अफ डिसेन्ट’ नै लेखेका थिए । देउवापछिको वरीयतामा कोइरालालाई राखिएको भन्दै उपसभापति खड्का लुम्बिनी र गण्डकी प्रदेश सम्मेलनमा गएनन् । पार्टीका अन्य जिल्लामा भएका सम्मेलनहरूमा पनि कोइराला पुगेका कार्यक्रममा खड्का र खड्का पुगेका कार्यक्रममा कोइराला नजाने गरेका छन् । पछिल्लो समय पार्टीका बैठक र औपचारिक छलफलबाहेकमा खड्का र कोइरालाको भेटघाट र संवादसमेत हुन छाडेको छ ।
कोइरालालाई वरिष्ठ नेता बनाउनुपर्ने माग संस्थापन इतरपक्षीय नेताहरूले उठाउँदै आएका छन् । पार्टीभित्रको शक्ति सन्तुलन र परम्परालाई कायम राख्न पनि सभापतिले कोइरालालाई वरिष्ठ नेता बनाउनुपर्ने केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले बताए ।
पार्टी विधानमा ‘वरिष्ठ’ नेताको व्यवस्था छैन । ०६४ मा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले कांग्रेस ९प्रजातान्त्रिक० सँग एकीकरण गर्दा त्यसका सभापति देउवालाई वरिष्ठ नेताको स्थान दिएका थिए । १२ औं महाधिवेशनबाट सभापति बनेका सुशील कोइरालाले आफ्नो प्रतिस्पर्धी देउवालाई विधानमा नभए पनि वरिष्ठ नेताकै हैसियत दिएका थिए । १३ औं महाधिवेशनबाट देउवा सभापतिमा निर्वाचित भएपछि रामचन्द्र पौडेललाई उसैगरी वरिष्ठ नेताको हैसियत दिइएको थियो ।
१४ औं महाधिवेशनमा ४० प्रतिशत मत ल्याएर देउवाका प्रतिस्पर्धी बनेका कोइरालालाई अघिल्ला परम्परा अनुसार नै वरिष्ठ नेताको हैसियत दिनुपर्ने आवाज संस्थापन इतरपक्षीय नेताहरूले उठाउँदै आएका छन् । खड्कासहितका संस्थापन पक्षका अधिकांश नेताहरू भने महाधिवेशनमा पाएको भोटका आधारमा नभएर पार्टीमा गरेको संघर्ष, योगदान र क्रियाशीलताका आधारमा ‘वरिष्ठता’ निर्धारण हुनुपर्ने तर्क गर्दै आएका छन् । उनीहरूले जबर्जस्ती पगेरी दिनेभन्दा पनि मनबाटै वरिष्ठ नेता भनेर स्वीकार्य हुनुपर्ने तर्क अघि सार्दै आएका छन् । शनिबार बागमती प्रदेश सम्मेलनको उद्घाटन कार्यक्रममा पूर्वउपसभापति प्रकाशमान सिंहले पार्टीभित्रको संघर्ष र योगदानका आधारमा मात्रै वरिष्ठता निर्धारण हुनुपर्ने भन्दै कोइरालालाई वरिष्ठ नेता स्वीकार्य नहुने संकेत गरे ।
राज्य व्यवस्था समितिका सभापतिसमेत रहेका पार्टीका केन्द्रीय सदस्य रामहरि खतिवडा पार्टी सभापति देउवा र पौडेलले पाएको वरिष्ठ नेताको हैसियत महाधिवेशनमा पाएको मतका आधारमा नभएको बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।