सत्याग्रहको विमर्श सम्पन्न

कथाकार सूर्य लाकोजूको नवीनतम कथासङ्ग्रह सत्याग्रहमाथि विमर्श भएको छ । साहित्यिक रूपमा जागरुक स्थानको रुपमा रहेको चितवनमा अक्षर समूहको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि एवं साहित्यकार केदारनाथ खनालले लामो समयदेखि सूर्य लाकोजूलाई आफूले साहित्य साधकका रूपमा चिन्दै आएको बताउँदै उनका कथाहरूमा शसक्त र सामाजिक चेतका भएको विचार व्यक्त गरेका थिए । कार्यक्रममा कथासङ्ग्रहमाथि स्रष्टा द्वय सुरेन्द्र अस्तफल र अविरल यात्रीले टिप्पणी गरेका थिए ।

उक्त कार्यक्रममा कथाकारहरू शान्ति शर्मा र टीकाराम रेग्मी, कवि रेशम विरही, साहित्यकार रामहरि श्रेष्ठले शुभकामना मन्तव्य दिएका थिए भने स्रष्टा रामसुन्दर देउजाले लेखक सूर्य लाकोजुका बारेमा जानकारी दिएका थिए ।

कथाकार लाकोजूले कतिपय विषय कवितामा व्यक्त गर्न नसकिने भएकाले कथा लेखनको थालनी गएको र कथाहरू मानव र मानवीयता वरपर घुमेको बताए ।

कार्यक्रमको अध्यक्षता अक्षर समूहका सदस्य उदय अधिकारीले गरेका थिए भने सहजीकरण समूहका अध्यक्ष रमेश प्रभातले गरेका थिए ।

ट्रान्स–वर्ल्ड पब्लिकेसनबाट प्रकाशित सत्याग्रहमा विविध विषयमा लेखिएका समसामयिक एघार कथा छन्।