धुलिखेलमा योमरी जात्रा हुने

योमरी पुन्हिको अवसर पारेर धुलिखेलमा योमरी जात्रा आयोजना गरिएको छ । लाछी महिला समुहको आयोजना तथा धुलिखेल नगरपालिकाको सहयोगमा यहि पुस १० गते योमरी जात्रा हुन लागेको हो । धुलिखेल नारायणस्थान लाछी डबलीमा जात्रा सञ्चालन हुनेछ ।

विभिन्न प्रकारका योमरीका परिकारहरुको स्टल तथा नेवारी सस्कृति झल्काउने झाँकी, नाचहरु प्रदर्शन गरी मनोरञ्जन एवं खानाको स्वाद चखाउने उदेश्यले योमरी जात्रा आयोजना गरिएको लाछि महिला समुहकी अध्यक्ष दिवा श्रेष्ठले जानकारी दिइन । यःमरी पुन्ही धान्य पुर्णिमाको दिन नेवार समुदायले विशेष प्रकारको परिकार बनाएर खाने गर्दछन् ।

नेपाल भाषामा यः भनेको मनपर्ने र मरि भनेको रोटी वा मिठाई भन्ने अर्थ लाग्दछ । यःमरीलाई पञ्चतत्वको रुपमा पनि लिइन्छ । योमरीको धार्मिक र साँस्कृतिक महत्व छ । नेवार समुदायमा यस पर्वले विशेष महत्व राख्दछ ।

धुलिखेल नेवार समुदायको पुरानो वस्तीभित्र पर्ने भएकाले यस पर्वलाई विशेष रुपले मनाउन धुलिखेल योमरी जात्रा २०८० आयोजना गरिएको आयोजकले जनाएको छ । योमरी जात्रा १ हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान छ ।