धुलिखेलमा जागरण मिडिया सेन्टरको अधिबेशन र सभा

‘दलित र सिमान्तकृत समुदायको अधिकारका लागि सबै क्षेत्रको सक्रियता आवश्यक’

धुलिखेल/जागरण मिडिया सेन्टरको आठौ अधिबेशन तथा २४ औ बार्षिक साधारण सभा धुलिखेलमा सम्पन्न भएको छ । साधारण सभा अघि संस्थाले दुई दिने कार्यशाला आयोजना गरेको थियो । 
बागमती प्रदेश सभाका अध्यक्ष भुवनकुमार पाठकको प्रमुख आतिथ्यता तथा संस्थाकी अध्यक्ष कमला विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागतमी प्रदेश सभाका सदस्य रत्न ढकाल लगायतका नेताहरुले दलित र समावेशी तथा सिमान्तकृत समुदायको हक अधिकार र सहभागितामा राज्यका हरेक निकायले ध्यान दिनु पर्ने बताएका थिए । संस्थाले स्थापना देखि नै दलित र सिमान्तकृत समुदायमा रेडियो कार्यक्रम तथा संचारमाध्यमका तर्फबाट सचेतना गराउने, अधिकार र समावेशीका मुद्दाहरुलाई स्थापित गर्ने, पालिकाहरुमा नीति निर्माण गर्ने तथा भएका निती नियम र कानूनलाई कार्यान्वयन गर्ने, सांसदहरुसँग मुद्दाहरुका बारेमा बहस र पैरवी गर्ने, संविधानमा भएका ब्यवस्थालाई ऐन कानून निर्माण गर्न दबाब दिने र भएका कानूनहरुलाई कार्यान्वयन गर्न दबाब दिदै आएको छ । 
संविधान सभा सदस्य समेत रहेकी अध्यक्ष कमला विश्वकर्माले संचारमाध्यममा दलित र समावेशी तथा सिमान्तकृत समुदायका अधिकारलाई मुद्दाका रुपमा स्थापित गर्न सम्पादक तहमा छलफल गर्ने, ५ वर्षे रणनीतिक योजनालाई कार्यान्वयन गर्ने, कानून निर्माणमा दबाब दिने, रिर्सच र नविनतम योजनाहरुको कार्यान्वयन गर्ने, मानवअधिकार तथा प्रेस स्वतन्त्रताका लागि निरन्रतर सक्रिय रहने बताईन् । साधारण सभा तथा अधिबेशनको अवसरमा सक्रिय संचारकर्मी विनु सुवेदीलाई संस्थाका संस्थापक अध्यक्ष स्व। सुवास दर्नाल स्मृतीमा स्थापना गरिएको पुरस्कार प्रदान गरिएको थियो । १० हजार रुपैयाको नगद सहित संचारकर्मी सुवेदीलाई बागमती प्रदेश सभाका अध्यक्ष पाठकले सम्मान गरेका थिए । सोहि कार्यक्रममा बोल्दै सभाध्यक्ष पाठकले संसदबाट निर्माण हुनु पर्ने कानुन र ऐनहरुलाई समावेशी र दलित समुदायका मुद्दाहरु स्थापित हुने गरी सहजीकरण गर्ने प्रतिवद्धता ब्यक्त गरे । सभामा ७ वटै प्रदेशका दलित तथा सिमान्तकृत समुदायका विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । अधिबेशनले नयाँ नेतृत्व चयन गरेको छ ।