कोरियन भाषा परीक्षाको लागि अहिलेसम्मकै धेरै आवेदन
दक्षिण कोरियामा काम गर्न जाने भाषा परीक्षाको लागि अहिलेसम्मकै धेरै आवेदन परेको छ ।
गएको पुस २ गतेदेखि ६ गतेसम्मको अवधिमा १ लाख ४३ हजारभन्दा बढीले आवेदन दिएका ईपीएस शाखाले जनाएको छ ।
शाखाका अनुसार यो सङ्ख्या अनलाइन प्रणालीबाट आवेदन दिने व्यवस्था भएयताकै धेरै हो । शाखाले तीन वर्षदेखि अनलाइनमार्फत ईपीएसको आवेदन दिन सकिने व्यवस्था गरेको छ । गएको साउनमा भएको परीक्षामा अनुत्तीर्ण भएकाले समेत परीक्षा दिन पाउने व्यवस्था भएपछि आवेदन धेरै परेको हो ।
अहिले खोलिएको आवेदनको परीक्षा मिति भने तोक्न बाँकी छ । दक्षिण कोरिया सरकारले उत्पादनमूलक क्षेत्रका लागि सन् २०२४ मा नेपालबाट १५ हजार ८४८ नेपाली रोजगारीका लागि लैजाने भनेको छ ।
रोजगारीका लागि कोरिया जान पहिले भाषा परीक्षा उत्तीर्ण गर्नुपर्छ । कोरिया सरकारले सन् २००८ देखि औपचारिक रुपमा नेपाली श्रमिक लैजान थालेको हो ।