सन्तान विदेश पठाउन श्रोत देखाउन र अनुदान प्राप्त गर्न मात्रै उद्योग दर्ता हुन थाले

दैनिक युवाहरु विदेशिन थालेका छन् । स्वदेशमा कृषि तथा पशुपंक्षीबाट उत्पादन भएका धेरै उत्पादनहरुले बजार पाउन सकेका छैनन । स्वदेशमा काम गर्ने वातावरण नहुने, उत्पादन भएका सामाग्रीहरु विक्री नहुने, रोजगारको अवसर नहुने जस्ता तमाम समस्याहरु किन भए ? उद्योगी ब्यवसायीहरुका लागि सरकार के गर्दैछ ? साना तथा घरेलु उद्योगहरुले कसरी प्रतिस्पर्धा गर्न सक्छन् ? सिप र प्रविधीको कसरी प्रयोग गर्न सकिन्छ ? मदनाी विट डटकमका लागि लोकबहादुर थापाले घरेलु तथा साना उद्योग कार्यालय काभ्रेका प्रुमख उद्योग अधिकृत यज्ञबहादुर वलीसँग गरेको कुराकानी ।
यज्ञबहादुर वली
प्रमुख एवं घरेलु अधिकृत
घरेलु तथा साना उद्योग कार्यालय, काभ्रे 
दैनिक युवाहरु विदेशिने क्रम जारी छ, जिल्लामा उद्योग कलकारखानाको अवस्था  के छ ? घरेलु तथा साना उद्योग कार्यालय काभ्रेपलाञ्चोकले पछिल्लो समय के गर्दैछ ?
यो वर्ष घरेलु तथा साना उद्योग काभ्रेले ३/४ वटा सेवा क्षेत्रमा काम गरेको छ । एउटा वाणिज्य तर्फ रहेर फर्महरु दर्ता गर्ने, उद्योग दर्ता गर्ने, बजार अनुगमन गर्ने, त्यसैगरी सीपमूलक तालिमहरु  प्रदान गर्ने र प्रविधि हस्तान्तरण गर्ने गरेका छौं । हामीले यो चालु आर्थिक वर्षमा चारवटा तालिमहरु समापन ग¥यौं । प्रविधि हस्तान्तरणको लागि सूचना निकाली निवेदनहरु संकलन गर्ने काम भैरहेको छ । वैदेशिक रोजगारको विषयमा भन्नुपर्दा रेमिट्यान्स र राजस्व फरक फरक कुराहरु हुन् । घरेलु कार्यालय काभ्रेले गत वर्ष २ करोड ४६ लाख राजस्व संकलन गरेको थियो । चालु आर्थिक वर्षको अवस्था भने अलि कहालीलाग्दो छ । पछिल्लो समय उद्योग दर्ता गर्ने काम केवल आफ्नो छोराछोरीको लागि विदेश पठाउनको लागि मात्र भयो । स्रोत देखाउन र अनुदान प्राप्त गर्नको लागि मात्र उद्योग दर्ता गर्ने काम भयो । कुनै कुनै उद्यमीहरुले उत्पादन गर्छन तर बजारको समस्या छ । यावत कारण, विश्वव्यापीकरणका कारण, पछिल्लो समय युवाहरु निराश भएको देख्छु । २०७७/०७८ सालमा हेर्दा उद्योग तर्फ २०५० वटा उद्योग दर्ता गरेका थियौं । २०७८/२०७९ मा आउँदा घटेर १५७५ मा आयो । त्यस्तै २०७९/२०८० मा भने जम्मा ९८६ मात्र उद्योग दर्ता भयो । यसले के देखाउँछ भने उद्यमीहरु पलायन भइरहेका छन । भएका उद्यमीहरु टिक्न सकिरहेका छैनन् । उद्यमीहरुलाई कसरी टिकाउने भन्ने विषयमा हामी गम्भीर भएर लागि परेका छौं । यस प्रति सरकार पनि गम्भीर हुनु जरुरी छ । त्यस्तै वैदेशिक रोजगारमा जानेहरुलाई पनि म सिप सिकेर मात्र जानुस् भन्न चाहन्छु । त्यसको लागि घरेलु काभ्रेले विभिन्न सीपमूलक तालिमहरु प्रदान गर्दै आइरहेको छ । 
पछिल्लो समय स्थानीय स्तरमा उद्योग दर्ता घट्नुमा युवाहरु पलायन हुनु, भएका उद्यमी नटिक्नु वा अरु कुनै केहि कारण छ ?
सामान्य रुपमा स्थानीय तहले ५ लाख मुनिको उद्योग दर्ता गर्ने हो । त्यसकारण पनि उद्योग दर्ता घटेको हुनसक्छ । स्थानीय तहले पनि आफ्नो क्षेत्र भित्र नियमन गर्न खोजेर पनि घरेलुमा दर्ता नभएको हुनसक्छ । अर्काे प्रमुख कारण भनेको उद्यमीहरु निराश हुनु नै हो । हामीले केहि दिन अघि उद्योग दिवस मनायौं । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न सकेनौं भने हाम्रा घरेलु उद्योग, साना उद्योगहरु संकटमा पर्ने निश्चित छ । स्थानीय तहमा दर्ता हुने उद्योगहरु त्यति धेरै भएको जस्तो लाग्दैन किनभने स्थानीयस्तरमा दर्ता भएको उद्योगलाई बैंकले ऋण नदिँदो रहेछ । मलाई लाग्छ स्थानीय स्तरमा दर्ता भएका केहि उद्योगको कारण पनि तथ्यांकमा फरक पर्न सक्ला । तर अहिले उद्योग वाणिज्यतर्फ दर्ता घट्ने क्रम नै छ । 
पछिल्लो आर्थिक वर्ष पनि उद्योग दर्ता घट्ने क्रम बढिरहेको छ ?
चालु आर्थिक वर्षको चार महिनामा पनि उद्योग दर्ता गर्ने क्रम घट्दो नै छ । मलाई लाग्छ घरेलु एक्लैले पनि यसलाई बढाउन सक्दैन । घरेलु कार्यालय पनि हिजोकै बाटोमा जाने हो भने यो सुधार हुन्छ जस्तो मलाई लाग्दैन । सरकारले यो समस्यालाई फरक तरिकाले सोचेन भने विश्वव्यापीकरण सँगै लघु उद्यमीहरु पलायन हुने अवस्था छ । 
जिल्लामै भएका उद्योगहरुको अवस्था कस्तो छ ?
जिल्लामै भएका उद्योगहरुको अनुगमनमा हामी जान पाएका छैनौं । तर पछिल्लो ४ महिनामा २ सय ७० वटा उद्योग दर्ता भइरहँदा ३६ वटा खारेजी गर्न आउनुभएको छ । विगत वर्षहरुमा लगत कट्टा गर्न आउने क्रम अलि कम थियो । चौमासिक मै ३६ वटा उद्योगहरु लगत कट्टा गर्न आउनुले गम्भिर समस्या देखिएको छ । केहि उद्यमीहरु आउनुहुन्छ नविकरणका लागि उहाँहरु सामान्य जीविकापार्जनका लागि मात्र आउनु भएको छ । उत्साहि कोहि पनि देखिएको छैन । एकाध कृषकहरु भने राम्रा पनि छन् । हामीले सम्मान पनि गरेका छौं । 
भएका उद्योगहरु पनि उत्साहप्रद छैनन्, नयाँ दर्तामा कमी र भएका उद्योगहरु पनि खारेजीले गर्दा भोलिका दिनमा मुलुक नै उद्योग विहिन हुने अवस्था आउने त होइन ?
उद्योगीहरु उत्साही नभएको पक्कै हो । चौमासिकमा ३६ वटा बन्द भएको उद्योगको बारेमा भन्नुपर्दा केहि उद्यमीहरुले आफ्नो छोराछोरीलाई विदेश पठाउनका लागि मात्र प्रयोग गरिएको पनि हुनसक्छ । कतिपय उद्योगलाई निरन्तरता दिन नसक्ने भन्दै बन्द गर्न आएका पनि छन् । यहाँ केहि तालमेलको अभाव छ । जबसम्म यो तालमेल मिल्दैन तबसम्म युवाहरु विदेश पलायन हुन्छन् नै । 
स्वदेशी वस्तुको उत्पादन अभियान कत्तिको सम्भव छ ? विदेशी सामानहरुसँग प्रतिस्पर्धा गर्न सकिन्छ ?
५० को दशकमा डब्लुटिओको सदस्य बनिसकेपछि स्वदेशी उत्पादनसँगै प्रतिस्पर्धा गर्न सकेनौं । लागतको हिसाबले पनि हामीले सकेनौं । त्यसकारण पनि हामी स्वदेशी उत्पादन भन्दा पनि विदेशी उत्पादनतिर लाग्यौं । डब्लुटिओको सदस्य भइसकेपछि घरेलु उद्योग, मझौला उद्योग स्वदेशी उत्पादनतर्फ भन्दा पनि विदेशी उत्पादनतर्फ लागेको पाईयो । उद्यमीहरुले उत्पादन गरेको वस्तुको मूल्य पाउन सकिरहेका छैनन् । जबसम्म उद्यमीले उत्पादन गरेको वस्तुहरु बाहिर प्रतिस्पर्धा गर्न सक्ने हुँदैन बजार मुल्य पाउँदैन तबसम्म किसान उद्यमीहरु निराशामा नै रहनुपर्ने अवस्था हुन्छ ।
 
उद्योग दर्ताको प्रक्रिया के छ ?
सामान्यतया उद्योग दर्ताका लागि नेपाली नागरिकता, उद्योग रहने स्थानको लालपुर्जा, तिरो तिरेको रसिद, भाडामा हो भने सम्झौता, निवेदन, साझेदारी फर्म दर्ताका लागि भए साझेदारीबीचको सम्झौता र सँधियारहरुको मुचुल्का आवश्यक पर्दछ । कम्पनीको नाममा उद्योग दर्ता गर्नुपरेमा कम्पनीको दर्ता प्रमाणपत्र, प्रबन्धपत्र र नियमावली लगायतका कागजातहरु भएमा कम्पनी पनि दर्ता गर्छाैं । हामी ५ लाख देखि ५ करोडसम्मको उद्योगहरु दर्ता गर्छाैं । ५ करोड भन्दा बढीको उद्योग दर्ता चाहिँ हेटौडामा रहेको उद्योग निर्देशनालयले गर्छ । उद्योग दर्ता भएपछि ५ वर्षमा नविकरण गर्नुपर्ने हुन्छ । र बीचमा आवश्यक भएन भने बन्द गर्ने पनि व्यवस्था रहेको छ ।
पछिल्लो समय देखिएको तथ्यांकले काभ्रेमा ठूला उद्योगहरुको चाहिँ वातावरण बन्दै गएको र साना उद्योगहरु संकटमा पर्दै गएको हो ?
पछिल्लो समय सिमेन्ट उत्पादन, औषधि उत्पादन लगायत विभिन्न उत्पादनहरुमा नेपाल आत्मनिर्भर बनिसकेको अवस्था छ । त्यसकारण पनि निराश भैहाल्नुपर्ने अवस्था पनि छैन । काभ्रे जिल्लाको सन्दर्भमा भन्नुपर्दा काभ्रे उपत्यकासँग जोडिएको जिल्लो हो । उपत्यकामा विभिन्न समस्याका कारण पनि काभ्रेमा ठूला ठूला उद्योगहरु आउने सम्भावना देखेको छु । काभ्रे जिल्ला औद्योगिक ग्राम को लागि सम्भावित क्षेत्र हो । साना उद्योगको तुलनामा ठूला उद्योगहरु सजिलै पलायन हुने अवस्था छैन अहिले । 
घरेलुले कस्तो प्रकारको तालिम प्रदान गर्दछ ?
चालु आ.व.मा सूचना निकालेर प्रस्ताव आव्हान गरेका थियौं । सहभागीहरुबाट आउने मागको आधारमा तालिमहरु प्रदान गर्दै आइरहेका छौं । महाभारतको घर्तीछापमा एडभान्स सिलाई तालिम, पनौतीमा हेयर कटिङ, त्यसैगरी लब्सीको अचार पाउडर बनाउने तालिम भुम्लुमा गरेका छौं । पनौती र धुलिखेलमा सिलाई कटाई तालिम संचालन भइरहेको छ । यदि तपाईहरु विदेश जाँदै हुनुहुन्छ भने सिप सिकेर मात्र जानुहोस् भन्न चाहन्छु ।
घरेलुबाट कस्तो प्रकारको प्रविधि उद्यमीहरुले पाउँछन् ?
२०८० कार्तिक २३ गते बागमती प्रदेश सरकारले प्रविधि हस्तान्तरणको लागि ५० लाख रुपैया ५० प्रतिशत अनुदानमा प्रविधिका लागि बजेट उपलब्ध गराउने गरी सुचना प्रकाशन गरेको छ । घरेलु तथा साना उद्योगमा दर्ता भएर उद्यम गरिरहनुभएका काभ्रेका उद्यमीहरुलाई निवेदन आव्हान गरेका छौं । यसको लागि विगत ३ वर्षदेखि अनुदान नलिएको जो कोहि उद्यमीहरुलाई आवश्यकता अनुसार प्रविधि हस्तान्तरण गर्ने गरेका छौं । यसको लागि १ सय ५० को हाराहारीमा निवेदन परेको छ । यसको लागि समिति रहेको छ । निकट भविष्यमै त्यो समितिले त्यो कार्य टु्ंग्याउने छ ।
बजार अनुमगन चाडपर्व लक्षित भयो भन्ने जनगुनासो छ नि ?
बजार अनुगमन नियमित प्रक्रिया हो । म आए पछि २ पटक बजार अनुगमन भएको छ । विशेषगरी चाडपर्वमा कालोबजारी हुने र अखाद्य वस्तु मिसावट हुन सक्छ भनेर अलि चनाखो भएको हो । अरुबेला पनि नियमित रुपमा हुन्छ । 
अनुगमन मात्र हुने हो कि कारवाही पनि हुन्छ ?
कारवाही पनि हुन्छ । अघिल्लोपटक चार जना व्यवसायीहरुलाई कारवाही पनि गरेका छौं । यो चौमासिकमा हामीले बजार अनुगमनबाट ६० हजार बराबरको उद्योगी व्यवसायीहरुबाट जरिवाना लिएका छौं । 
बजार अनुगमन दर्तावाल व्यवसायीहरुका लागि मात्र हो कि खुल्ला व्यवसायीहरुको लागि पनि हुन्छ ?
हामी दुवै व्यवसायीहरुलाई अनुगमन गर्छाैं । सडक वरिवरि ठेलागाडामा रहेका व्यवसीहरुलाई के आव्हान गर्छु भने व्यवसाय गर्नुस् तर दर्ता गरेर मात्र । त्यसको लागि हामी पनि अनुगमन गर्छाै र स्थानीय तहलाई पनि अनुगमन गर्न आग्रह गर्दछु । 
अन्तमा ?
उद्यम गरौं, सीप सिकौं, सिपले नै रोजगारको सिर्जना गर्छ । यदि विदेश नै जाने हो भने पनि स्वदेशमै सीप सिकेर मात्र जाऔं भन्न चाहन्छु । सिप सिकेर गएको खण्डमा विदेशमा पछुताउनु पर्दैन भन्न चाहन्छु । धन्यवाद ।