सात महिना देखि बन्धक बन्यो मण्डनदेउपुर नगरपालिकाको कार्यपालिका

होमप्रसाद चौंलागाँईं
मण्डनदेउपुर
स्थानीय सरकार संचालन ऐन तथा कार्यविधी अनुसार हरेक महिनाको एक पटक अनिवार्य रुपमा स्थानीय तहमा कार्यपालिकाको बैठक बस्नु पर्ने ब्यवस्था भए पनि मण्डनदेउपुर नगरपालिकामा ७ महिना वितिसक्दा समेत बस्न सकेको छैन । नगर प्रमुख र वडा अध्यक्षहरुको मनमुटावका कारण कार्यपालिकाको बैठक बस्न नसकेको वडा नम्वर ७ का अध्यक्ष विष्णु पौडेलले बताए ।
मण्डनदेउपुर काभ्रेपलाञ्चोकको सुन्दर, शान्त र विशाल नगरपालिका हो । ईन्द्रावती नदी र नदीजन्य उत्पादनको हिसाबले काभ्रेको ७ नगरपालिका र ६ ओटा गाउँपालिका सहितको १३ पालिका मध्य सबैभन्दा धनी नगरपालिका हो । नेपाली उखान ‘स्वभाव दरिद्र भयो भने मानिस कहिल्यै धनी बन्दैन’ भने झै निर्वाचन अघि बनेको गठबन्धनका कारण एक पछि अर्को गर्दै मण्डनदेउपुर जिल्लाकै कमजोर नगरपालिका बन्दै गई रहेको छ । स्थानीय जनताको काम गर्ने सरकार र त्यसको मन्त्री परिषद् भनेर चिनिने कार्यपालिका पूर्ण रुपमा बन्धक बनेको छ । नगरको कार्यपालिका वैठक ७ महिना अघिबाट बस्न र चल्न सकेको छैन । हिजोका दिनमा जहाँनीया राणा शासन, पञ्चायती व्यवस्था र निरंकुश राजतन्त्रबाट वाक्क दिक्क भएर जनताको मतबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रमा मण्डनदेउपुर लज्जाको विषय बन्दै गइरहेको छ । वडाध्यक्षले लिखित जबाफ सहितको माफी नमागेसम्म चल्दैन भन्दै मेयर र मैले जनताको कुरा उठाएको छु, किन माफी माग्ने भन्दै वडाध्यक्ष २ जनाको टसलले नगर कार्यपालिकाको वैठक बन्धक बनेको कार्यपालिकाका अर्का एकजना सदस्यले बताए ।
नगर स्थित २२ सदस्यीय कार्यपालिका नगर प्रमुख र गठबन्धनका एक जना वडाध्यक्षको झगडाले हालसम्म कार्यपालिका वैठक बन्धक बनेको बताईएको छ । केवल एकल अपनत्व ग्रहण गर्ने गरी नगर अस्पतालको २४ लाखको बजेट विलोमा टेण्डर अनुमती, अघिल्लो वर्ष ११ करोड भन्दा वढीको इन्द्रावती नदिको नदीजन्य पदार्थको टेण्डर चालु आर्थिक वर्षको बल्लतल्ल ९ करोड जतिमा मात्र भएको विषयमा र खास गरी मेयर र उप–मेयरले उनीहरु सरह जनताको मतबाट निर्वाचित १२ वडाका वडाध्यक्षहरुलाई किनाराका साक्षी मात्र बनाउने प्रयत्न गर्दै आएको कुराले मण्डनदेउपुरमा कार्यपालिकाको वैठक बस्न नसक्ने विबादको रुप धारण गरेको हो ।