पनौतीको रयालेमा ‘महिला सशक्तिकरण तथा नेतृत्व विकास तालिम’

रयाले, पनौती÷श्री जनमैत्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड पनौती १ रयाले र हिमालय लिकी फाउण्डेशनको सहकार्यमा संचालित ‘महिला सशक्तिकरण तथा नेतृत्व विकास तालिम’ सोमबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष राजकुमार सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारीमा आवद्ध ४५ भन्दा धेरै महिलाहरुको सहभागिता रहेको थियो ।

तालिमको उद्घाटन सहित उदेश्य र तालिमबाट गरिएको अपेक्षाका बारेमा जानकारी गराउँदै अध्यक्ष राजकुमार सापकोटाले नेतृत्व विकास र शशक्तिकरणका लागि सदस्यहरुको सक्रियता र संस्थाको सहजीकरण तथा समन्वय रहने बताए । तालिममा गैसस महासंघका पुर्व केन्द्रीय अध्यक्ष जितराम लामाले उत्प्रेरणा तथा सकारात्मक खोज तथा वित्तिय साक्षरताको अवधारणा महत्व, चुनौती र तत्वहरुका बारेमा प्रशिक्षण दिएका थिए भने जीवन उपयोगी उद्यमको विकास तथा उद्यमशिलताका बारेमा अर्जुन भट्टराईले सहभागिहरुलाई प्रशिक्षण दिएका थिए ।
तालिमको दोश्रो दिन सहजीकरण शिप तथा भाषणकला सम्वन्धी कानुन ब्यवसायी प्रदिप सापकोटाले प्रशिक्षण दिएका थिए भने नेतृत्व विकासका बारेमा हर्क तामाङले प्रशिक्षण दिएका थिए । संचार तथा समन्वय कलाका बारेमा पत्रकार मोतीराम तिमल्सिनाले प्रशिक्षण दिएका थिए भने द्वन्द्व रुपान्तरण सम्वन्धी मानवअधिकारकर्मी भोजराज तिमल्सिनाले प्रशिक्षण दिएका थिए ।

तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा संस्थाका अध्यक्ष राजकुमार सापकोटा, उपाध्यक्ष रामचन्द्र सापकोटा, सचिव श्यामहरी सापकोटा, लेखा समिति संयोजक प्रदिप सापकोटा, हिमालय लिकी फाउण्डेशनका नेपाल प्रतिनिधि पदम लामा, प्रमुख ब्यवस्थापक बेदप्रसाद सापकोटा,
ब्यवस्थापकद्धय विरमान तामाङ र हरि तामाङ, प्रशिक्षक भोजराज तिमल्सिना लगायतको सहभागिता रहेको थियो । प्रमुख ब्यवस्थापक बेदप्रसाद सापकोटाका अनुसार सहकारीले विभिन्न सिपमुलक तालिमका साथै वित्तिय साक्षरता सम्वन्धी विभिन्न तालिमहरु उपलब्ध गराईएको छ । सहकारीले मसिंर मसान्तसम्म शेयर पुँजी ३ करोड ९ लाख ९१ हजार ५ सय रुपैया संकलन गरेको छ भने जगेडा कोषमा २ करोड ९७ लाख २ हजार ९ सय ४ रुपैया जम्मा गरेको छ । त्यस्तै कुल निक्षेप २३ करोड ५८ लाख ५७ हजार ५ सय रुपैया, ऋण लगानी २७ करोड ४५ लाख ८३ हजार ५ सय ८० रुपैया गरेको छ । तरलता रकम ३ करोड ५४ लाख ५० हजार १ सय ९३, विभिन्न कोषहरुमा २ करोड ७६ लाख ८७ हजार ७ सय ९९ रुपैया रहेको छ । ३ हजार ८६ जना शेयर सदस्य रहेको उक्त संस्थाको कुल सम्पति ३३ करोड ३२ लाख ९१ हजार १ सय ८७ रुपैया रहेको छ । १ हजार ३ सय ४० जना संस्थामा ऋणी सदस्य छन् ।