श्री गुमराङ आधारभुत विद्यालयको स्वर्ण महोत्सव तयारीका लागि पनौतीमा भेला

विकास तिमल्सिना
काभ्रे ।

श्री गुमराङ आधारभुत विद्यालयले स्वर्ण महोत्सवको तयारी तिव्र पारेको छ । विद्यालय स्थापनाको ५० वर्ष पुगेको अवसरमा आयोजना गरिएको स्वर्ण महोत्सवलाई भव्य रुपमा मनाउन आज पनौतीमा तयारी भेला आयोजना गरिएको हो । भेलामा पुर्व शिक्षक, पुर्व कर्मचारी, पुर्व अभिभावक तथा पुर्व विद्यार्थीको सहभागिता रहेको थियो । ललितपुर जिल्लाको महांकाल गाउँपालिका वडा नम्बर ६ मा रहेको श्री गुमराङ आधारभुत विद्यालयले आउँदो माघ ११, १२ र १३ गते तीन दिन विविध कार्यक्रम सहित स्वर्णमहोत्सव मनाउँदै छ ।

पहिलो दिन कार्यक्रम उद्घाटन सहित स्थानीय झाँकी, बाजागाजा सहितको र्याली, स्मारिका विमोचन, खेलकुद कार्यक्रम, शैक्षिक सामाग्री प्रदर्शनी कार्यक्रम, सम्मान कार्यक्रम, पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।

यस्तै दोस्रो दिन साँस्कृतिक कार्यक्रम, पुर्व शिक्षक, पुर्व विद्यार्थी, पुर्व कर्मचारी, पुर्व विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ पुनर्मिलन कार्यक्रम तय गरिएको छ । स्वर्णमहोत्सवको अन्तिम दिन माघ १३ गते साँस्कृतिक कार्यक्रम तथा सम्मान कार्यक्रम राखिएको श्री गुमराङ आधारभुत विद्यालयका प्रधानाध्यापक विदुर दाहालले जानकारी दिए । स्वर्णमहोत्सवलाई भव्य रुपमा सम्पन्न गर्न १ सय १ सदस्यीय स्वर्णमहोत्सव मुल समारोह समिति समेत गठन गरिएको छ । कार्यक्रममा पुर्व विद्यार्थी एवं पनौती नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष दिपक दाहालको प्रमुख आतिथ्यता रहेको थियो भने स्वर्णमहोत्सव मुल समारोह समितिका सदस्य एवं महांकाल गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य राजकुमार घिमिरेको सभापतित्व रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख आतिथी दाहालले स्वर्णमहोत्सव विगतको समिक्षा र भावी रणनीति तय गर्ने विशोष समय भएको भन्दै स्वर्णमहोत्सवले नयाँ उर्जा थप्ने विश्वास व्यक्त गरेका छन । यस्तै महांकाल गाउँपालिका वडा नम्बर ६ का पुर्व वडा अध्यक्ष रामकृष्ण आचार्यले गुणस्तरीय र प्रविधिमैत्री शिक्षाका लागि विद्यालयले अघि सारेका योजना पुरा गर्न स्वर्णमहोत्सव सफल हुने बताए ।

विद्यालयका पुर्व शिक्षक एवं वागमती प्रदेश बचत तथा ऋण संहकारी संस्था लिमिटेड प्रोस्कुनका प्रमुख कार्यकारी अधिकृत केशव दाहालले स्वर्णमहोत्सव तयारी भेलाले आफुलाई विगतमा फर्काएको महसुस भएको बताएका छन । ज्योतिमिर्मिरे साकोस पनौतीका प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालले ठुलादुर्लुङसँग आफ्नो विशेष सम्बन्ध रहेको बताएका थिए ।

कार्यक्रममा कार्यक्रमको उदेश्य, भएका प्रगती तथा आगामी रणनीति बारे महांकाल गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य एवं स्वर्णमहोत्सव मुल समारोह समितिका अध्यक्ष राजकुमार घिमिरेले जानकारी गराएका थिए भने स्वागत मन्तव्य शिक्षक भिमप्रसाद दुलालले राखेका थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष हरी दाहाल, सदस्य कृष्ण घिमिरे लगायतको उपस्थिती रहेको थियो ।